खबर

आठ इन्टरनेट कम्पनी कारबाहीमा

गोरखापत्र अनलाइन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एकै पटक आठवटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको छ। इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको पाइएकाले कारबाही गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो।

उहाँका अनुसार महसुलदर स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट, क्लासिकटेक, वेबसर्फर नेपाल, सीजी कम्युनिकेसन, डिस होम मिडिया नेटवर्क र वाइफाई नेपाल प्रालिलाई कारबाही गरिएको हो। यी कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७(२) बमोजिम एक लाख रुपियाँ जरिवाना गरिएको छ।

यसबाहेक प्राधिकरणले आफ्नो निर्देशनविपरीत विभिन्न किसिमका चाडपर्वमा प्रवद्र्धन तथा बन्डलिङ गरी सेवा सञ्चालन गरेको देखिएकाले तीनवटा सेवाप्रदायकलाई थप कारबाही गरेको छ। कारबाही पर्नेमा वल्र्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन र सुबिसु केबल नेट रहेका छन्। यी कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ। यस्तै प्राधिकरणले नेपाल टेलिकमलाई पनि कारबाही गरेको छ। प्राधिकरणको निर्देशनविपरीत भास सेवा स्वतः नवीकरण गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button