स्वास्थ्य

‘होली खेल्दा रसायनयुक्त रङ्गबाट बच्नुहोस्’

गोरखापत्र अनलाइन
काठमाडौं  । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली (रङ्गहरूको पर्व) पर्व पछिल्लो समय धूमधामसँग मनाउने प्रचलन बढ्दो छ । होलीको रङ्गमा साना बालबालिकादेखि वृद्धवृद्धासम्म एउटै रङ्गमा रगिने गर्दछन् ।

एक अर्कामा रङ्ग दलेर खुसी साटसाट गरेर मनाइने पर्वमा रसायनयुक्त रङ्गका कारण छाला तथा कपालमा नकारात्मक असर पर्ने हुँदा होली खेल्दा सचेत हुन चिकित्सकको आग्रह छ ।

छाला रोग विशेषज्ञ डा.उमा केयालले रसायनयुक्त रङ्ग स्वास्थ्यका हिसाबले खरतनाक हुने हुँदा रङ्गको प्रयोग गर्दा सतर्क रहन आग्रह गर्नुहुन्छ । पछिल्लो समय बजारमा रसायानयुक्त रङ्गहरू खुलारूपमा बिक्री वितरण गर्ने प्रचलन बढ्दो छ ।

त्यसैले जथाभावी बिक्री वितरण गर्ने रङ्गमा कुन रसायन मिलावट छ भन्ने थाहा नहँुदा सकेसम्म यस्ता रङ्गको प्रयोग नगर्न डा.केयालको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, “अचेल खुलारुपमा रङ्गहरुको बिक्री वितरण गर्ने रङ्गमा कस्तो खालको रसायन प्रयोग गरिएको हुन्छ भन्ने थाहा हुँदैन । त्यसैले रङ्गको प्रयोग गर्दा छालामा नकारात्मक असर गर्न सक्छ त्यसैले रङ्ग प्रयोग गर्दा सचेत रहनुपर्छ ।”

“होलीको रङ्ग जबरजस्ती निकाल्नुहुँदैन । यसरी निकाल्दा झन समस्या निम्तन्छन् । त्यसैले रङ्ग निकाल्दा माइल्ड साबुनको प्रयोग गर्ने, यदि यसो गर्दा पनि रङ्ग निस्किएन भने यतिकै छोडिदिने र पछि बिस्तारै निस्कन्छ ।”
चिकित्सकका अनुसार जति गाढा रङ्ग भयो त्यति नै स्वास्थ्यका लागि हानिकारक हुन्छ । सकेसम्म कालो र सिल्भर कलर प्रयोग नगर्न डा.केयालको सुझाव छ ।

होलीमा विशेषगरीे रातो रङ्गहरु रातो, कालो, हरियो, नीलो, गुलाबी, बैजानी, गिलिटर, सेतो सिल्भरजस्ता रङ्गको प्रयोग बढी गरिन्छ ।

डा. केयालका अनुसार रातो रङ्गमा मर्करी सल्फेट, हरियोमा कपर सल्फेट, नीलोमा फेरो साइनाइड, बैजनीमा क्रोमियम आयोडाइड तथा कालोमा लिड अक्साइडजस्ता रासायनिक तत्व मिसाइएको हुन्छ ।

रङ्गले कस्तो असर गर्छ

रसायन मिसाएको रङ्ग धेरै बेर छाला, आँखा, कानमा रहेमा नकारात्मक असर पुग्न सक्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार यस्ता रङ्गले छालामा सामान्य एलर्जीदेखि अन्य छालासम्बन्धी समस्या उत्पन्न गर्ने डा.केयालको तर्क छ ।

उहाँ भन्नुहुन्छ, “रङ्गमा प्रयोग हुने रसायनले छाला रातो हुने, चिलाउने, रातो डाबर आउने र आँखामा प्रवेश गरे चिलाउने, एलर्जी हुने, फोका आउने र त्यहाँबाट पानी बग्नेजस्ता समस्या देखिने गर्छन् । कान र आँखामा रङ्ग परेमा चिलाउने र पछि गएर कान पाक्ने सम्मको समस्या देखिने गर्छ ।”

छालामा घाउ भएमा, डण्डीफोर, चायाँ, एलर्जीजस्ता समस्या भएमा छालामा रङ्ग पर्दा समस्या बढ्दै जाने हुँदा रङ्गको प्रयोग गर्दा विशेष ध्यान दिन डा.केयालको सुझाव छ ।

होली खेल्दा ध्यान दिनुपर्ने कुरा

चिकित्सकका अनुसार होली खेल्दा शरीरमा तेल, म्वइस्चराइजर, सनबल्क क्रिम लगाउने, टाउकोमा तेल लगाउने र पूरा शरीर छोप्ने लुगा लगाउँदा रङ्गको असर पनि कम हुन्छ ।

होली खेल्दा सकेसम्म आँखा, कान तथा मुखमा रङ्ग लाग्नबाट जोगाउ चिकित्सकको सुझाव छ । यदि रङ्ग लागी हालेमा तुरुन्त पानीले सफा गर्ने चिकित्सकको सुझाव छ ।

यदि पहिले देखि नै छालामा एलर्जी वा छालाको अन्य समस्या छ भने होलीमा रङ्गले झन बढ्ने हुँदा सकेसम्म छालामा रङ्ग नलगाउन डा. कोयलको सुझाव छ।

चिकित्सकका अनुसार, यदि रङ्ग खेल्दा एलर्जी भइहालेमा तुरुन्त धुने र तेल, म्वइस्चराइजर क्रिम लगाउने गर्नु र यदि समस्या बढ्एर गाह्रो भएमा तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ ।

होलीको रङ्ग कसरी निकाल्ने

होलीको रङ्ग धेरै बेर छालामा नराख्न चिकित्सकको सुझाव छ । डा.केयालका अनुसार रङ्ग निकाल्दा पहिले तेल वा क्रिम लगाएर खेलियो भने पछि रङ्ग निकाल्दा माइल्ड साबुन वा स्याफु प्रयोग गर्दा सजिलै निक्लने गर्छ ।

होलीको रङ्ग जबरजस्ती निकाल्दा छालामा झन समस्या आउने हुँदा जबरजस्ती रङ्ग ननिकाल्न स्वास्थ्य समस्या निम्तने चिकित्सकको सुझाव छ ।

“होलीको रङ्ग जबरजस्ती निकाल्नुहुँदैन । यसरी निकाल्दा झन समस्या निम्तन्छन् । त्यसैले रङ्ग निकाल्दा माइल्ड साबुनको प्रयोग गर्ने, यदि यसो गर्दा पनि रङ्ग निस्किएन भने यतिकै छोडिदिने र पछि बिस्तारै निस्कन्छ ।”

रङ्ग निकालेपछि छालामा पोल्ने, चिलाउनेजस्ता समस्या देखिने हुँदा तुरन्त तेल वा चिल्लो क्रिमको प्रयोग गर्दा छालामा समस्या नआउने डा.केयाल बताउनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button