स्वास्थ्य

तरकारीमा विषादी परीक्षण : भान्छामा पुगेपछि आउँछ रिपोर्ट

सीता शर्मा
काठमाडौँ । फागुन १६ गते मङ्गलबार कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको गोलभेँडाको नमुना परीक्षण गर्दा खान अयोग्य पाइयो । विषादीको रोकावट दर (विषादीको अवशेषको मात्रा) ३५ प्रतिशतभन्दा बढी हुनुलाई खान अयोग्य मानिन्छ तर परीक्षणको रिपोर्टमा विषादीको अवशेष ६८ प्रतिशत भेटियो ।

कालीमाटी तरकारी बजारभित्रै रहेको प्रयोगशालाले गोलभेँडा परीक्षणपछि घातक विषादी भेटिएकाले नष्ट गर्नुपर्ने भनेर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई बिहानको १० बजेतिर रिपोर्ट बुझायो । लगत्तै सुरक्षागार्डसहित समितिका अधिकारी तरकारी स्टलमा पुग्दा घातक विषादी भेटिएको गोलभेँडा बिक्री भइसकेको थियो । थोरै बाँकी रहेको गोलभेँडा समितिको नेतृत्वमा नष्ट गरियो ।

केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको कालीमाटीको उक्त प्रयोगशालाले बिहान ७–८ बजेतिर बजारबाट तरकारीको नमुना सङ्कलन गर्छ र १० बजेतिर विषादी परीक्षणको रिपोर्ट तयार हुन्छ । समितिका अनुसार सामान्यतः कालीमाटी बजारमा तरकारी राति १२ बजेदेखि बिहान ३ बजेभित्र आइसक्छ । बिहान ७–८ बजेसम्ममा कालीमाटीबाट खुद्रा व्यापारीले त्यो तरकारी लगिसकेका हुन्छन् । तरकारी भान्छामा पु-याइसकेपछि बल्ल विषादी परीक्षण भएको रिपोर्ट सार्वजनिक हुने गरेको यो पहिलो घटना भने होइन । कालीमाटीमा मात्र होइन, केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत रहेका सबै प्रयोगशालामा परीक्षण गर्ने शैली यस्तै रहेको स्वयं प्रयोगशालामा कार्यरत कर्मचारी स्वीकार गर्छन् ।

प्रभावकारितामा शङ्का

कालीमाटी फलफूल तथा तरकारी बजार थोक व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले पनि हाल प्रयोगशालाले गर्दै आएको परीक्षणको कुनै प्रभावकारिता नभएको दाबी गर्नुभयो । राति आएको तरकारी बिहान ३ बजेदेखि स्थानीय बजारमा पु-याउन थालिन्छ । प्रयोगशालाका कर्मचारी ७/८ बजे आएर नबिकेका तरकारीको नमुना लिएर परीक्षण गरी खान नहुने प्रतिवेदन दिएर केही हुँदैन । उहाँले प्रश्न गर्दै भन्नुभयो, “बजारबाट लगिएका तरकारी ८ बजेसम्म भान्छामा पाकेर उपभोक्ताले खाइसक्छन् । उपभोग गरिसकेको तरकारीमा खान नहुने विषादी भेटियो भनेर प्रतिवेदन दिएर केही अर्थ छ ?”

केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख नरहरिप्रसाद घिमिरे प्रयोगशालामा काम गर्ने कर्मचारीको सुरक्षाको सुनिश्चितता भए हामीलाई राति प्रयोगशाला सञ्चालन गर्न कुनै समस्या नहुने बताउनुभयो । “प्रयोगशालामा काम गर्ने महिला कर्मचारी छन्, तिनको सुरक्षाको कसले जिम्मा लिने ? सुरक्षाको व्यवस्था भयो भने हामी राति पनि नमुना सङ्कलन गर्न तयार छौँ,” उहाँले भन्नुभयो । यसरी राति आएर परीक्षण गरेर दिएको प्रतिवेदनअनुसार समितिले तरकारी नष्ट गर्छ कि गर्दैन भन्ने पनि हेरिनुपर्ने उहाँले बताउनुभयो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठ राति प्रयोगशाला सञ्चालन भएमा तरकारी नष्ट गर्न समिति तयार हुने बताउनुभयो । बजारमा सुरक्षागार्डदेखि कर्मचारी साथीहरू रातिदेखि काम गरिरहेका हुने भएकाले प्रयोगशालामा काम गर्ने कर्मचारीलाई यहाँभित्र आएपछि असुरक्षा नहुने उहाँको भनाइ छ ।

कालीमाटी प्रयोगशालामा कार्यरत कर्मचारी भने तरकारी परीक्षणका लागि नमुना लिनसमेत आफूहरूलाई समस्या भएको बताउँदै आएका छन् ।

एक प्राविधिकको भर

प्रयोगशालामा पर्याप्त जनशक्ति छैन । कालीमाटीको प्रयोगशाला करारका एक जना प्राविधिकको भरमा चलेको छ ।

केन्द्रीय प्रयोगशालाका प्रमुख घिमिरेले जनशक्तिको अभाव भए पनि करारमा कर्मचारी राखेर प्रयोगशाला सञ्चालन गर्दै आएको बताउनुुभयो । उहाँका अनुसार प्रयोगशाला सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्तिका बारेमा हरेक वर्ष बजेट बनाउँदा माग गरेर पठाउँछौँ तर सरकारको प्राथमिकतामा पर्न सकेको छैन । कालीमाटीमा मात्रै होइन, सातैवटा प्रयोगशाला अहिलेसम्म करारमा सहायक प्राविधिकको भरमा सञ्चालन गर्नुपरेको उहाँको भनाइ छ । “जनशक्ति माग्दा सरकारबाट पूर्ण बेवास्ता गरिने तर बिनाजनशक्तिको कस्तो गुुणस्तर खोजेका छौँ हामीले,” प्रमुख घिमिरेले प्रतिप्रश्न गर्नुभयो ।

पुरानै प्रविधि

केन्द्रीय कृषि प्रयोगशालाले सञ्चालन गरेका द्रुत विषादी प्रयोगशालामा कार्बामेट्स र अगार्नोफस्फोस समूहका मात्रै विषादी परीक्षण गर्दै आएको छ । ती विषादीको प्रयोग अत्यधिक घातक भन्दै करिब डेढ दशकदेखि नेपालमा निर्यातमै प्रतिबन्ध लगाइएको थियो । कृषि प्रयोगशालाले भने अहिले पनि यस प्रकारको विषादी प्रयोग नरोकिएको भन्दै सोही समूहका विषादी परीक्षण गर्दै आएको छ ।

आठ महिनामा डेढ हजार परीक्षण

केन्द्रीय कृषि प्रयोगशालाका अनुसार पछिल्लो पटक उपत्यका भित्रिने तरकारीमध्ये गोलभेँडा, काउली, ब्रोकली, पाटेसिमी, रायोमा खान नहुने विषादीको अवशेष भेटिएको जानकारी दिइयो ।

प्रयोगशालाका अनुसार कालीमाटी फलफूल तथा तरकारी बजारको प्रयोगशालामा चालू आर्थिक वर्षको साउनदेखि फागुुन २० गतेसम्म एक हजार ३७९ वटा नमुना परीक्षण गरेकामा १७ वटामा नष्ट गर्नुपर्ने विषादीको अवशेष भेटियो भने सातवटा केही दिन पर्खेर पुनः परीक्षण गर्नुपर्ने देखियो । बाँकी उपभोगका लागि योग्य भएको पाइयो । परीक्षण गरेकामध्ये काउली सातवटा, पाटेसिमी छवटा, रायो दुईवटा र ब्रोकली/गोलभेँडा एक/एकवटा नमुनामा नष्ट गर्नुपर्ने विषादीको अवशेष भेटिएको प्रयोगशालाले जनाएको छ ।

विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएमा मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ । विषादी अवशेषको रोकावट दर ३५ देखि ४५ प्रतिशतसम्म भएको केही दिनपछि पर्खेर पुनः परीक्षणमा ठीक भएमा बिक्रीका लागि बजार पठाउन सकिने व्यवस्था छ । विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी भएमा नष्ट गर्नुुपर्छ ।

त्यसो त कालीमाटीको प्रयोगशाला सञ्चालनमा आएको पहिलो वर्ष पहिलो महिनामा परीक्षण भएका १८७ नमुनामध्ये २६ वटा तरकारीमा खान नमिल्ने विषादीको अवशेष देखिएको थियो ।

सातवटा प्रयोगशाला

केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत कालीमाटीबाहेक बिर्तामोड, बुटवल, पोखरा, सर्लाही, नेपालगञ्ज र अत्तरियामा पनि प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

चालू आर्थिक वर्षको अहिलेसम्म कालीमाटीसहितका ती प्रयोगशालाबाट आठ हजार ७७९ वटा नमुनाको परीक्षण गरिएको छ, जसमध्ये ४४ वटा नमुना नष्ट गर्नुुपर्ने विषादीको अवशेष भेटिएको छ भने २३ वटा नमुनामा केही दिन पर्खेर पुनः परीक्षणपछि रिपोर्ट हेरेर बजार पठाउने वा नपठाउने निक्र्योल गर्न सकिने खालको देखिएको केन्द्रीय प्रयोगशालाले जनाएको छ ।

केन्द्रीय प्रयोगशालाका अनुसार कालीमाटीमा १७ वटा, अत्तरियामा १० वटा, पोखरामा नौवटा, बिर्तामोड र सर्लाहीमा तीन÷तीनवटा र नेपालगञ्जमा दुुईवटा नमुना नष्ट गर्नुपर्ने विषादीको अवशेष भेटियो । नेपालमा हाल यीबाहेकका विषादी प्रयोग भएमा ती प्रयोगशालाले पत्ता लगाउन सक्दैनन् । नेपालमा हाल १६५ प्रकारका विषादी दर्ता भएर प्रयोगमा छन् ।गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button