
सूर्यप्रसाद पाण्डे
आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गरिएको छ ।
काठमाडौँ, साउन २९ गते । सरकारले कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई आन्तरिक परीक्षा लिन बन्द गरेपछि मूल्याङ्कनका लागि विद्यालयहरूले वैकल्पिक विधि अनुसरण गर्न थालेका छन् ।
सुरुमा वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न असहज महसुस भए पनि अहिले भने बानी परेको यसमा संलग्न शिक्षकहरूले प्रतिक्रिया दिएका छन् तर एकै कक्षामा धेरै विद्यार्थी भएको विद्यालयमा भने झन्झटिलो भएको अनुभव पनि शिक्षकहरूको रहेको छ ।
गत चैत १३ गते बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी कार्यसूचीले कक्षा पाँचसम्म आन्तरिक परीक्षा लिने कार्य पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको थियो । आन्तरिक परीक्षाको सट्टा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने गरी वैकल्पिक मूल्याङ्कन प्रणालीको विकास गर्ने उक्त कार्यसूचीको बुँदा नम्बर ८९ मा उल्लेख छ ।
सोही अनुसार विद्यार्थीको मूल्याङ्कन सुरु गरिएको विद्यालयहरूको भनाइ छ । झोँछेस्थित बालसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक मञ्जु पाठकले विद्यार्थीको आन्तरिक मूल्याङ्कन गर्न अप्ठ्यारो नभएको तर शिक्षकहरूलाई कार्यबोझ भने बढेको बताउनुभयो । हरेक विद्यार्थीको छुट्टै अभिलेख व्यवस्थापन गर्नुपर्ने भएका कारण यसमा संलग्न शिक्षकलाई बोझ बढेको उहाँको भनाइ छ । तर यसअघि पनि कक्षा १ देखि ३ सम्म निरन्तर मूल्याङ्कन प्रणाली (क्यास) मार्फत विद्यार्थीको मूल्याङ्कन गरिरहेको हुनाले नौलो काम नभएको पाठकले बताउनुभयो । सरकारले शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेपछि विद्यार्थीको मूल्याङ्कनलाई सहज बनाउन शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले विकास गरेको कक्षा ४ र ५ का विद्यार्थी मूल्याङ्कनसम्बन्धी मार्गदर्शन, २०८३ जारी गरेको थियो ।
मार्गदर्शनमा विद्यार्थी मूल्याङ्कनका लागि कक्षा सहभागिता, लिखित तथा मौखिक कार्य, परियोजना कार्य, प्रयोगात्मक कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्व र सहपाठी मूल्याङ्कन तथा अभिभावकको प्रतिक्रियालगायत उपाय सुझाइएको छ ।
त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेलले सोही मार्गदर्शन अनुसार शिक्षकलाई तालिम दिएर विद्यार्थीको मूल्याङ्कन गरिएको बताउनुभयो । आन्तरिक मूल्याङ्कन प्रणाली अवलम्बन गरिए पनि हरेक विद्यार्थीको त्रैमासिक रूपमा परीक्षाको नतिजा जसरी नै ‘रिपोर्ट कार्ड’ बनाएर अभिभावकलाई दिन लागिएको उहाँले बताउनुभयो ।
परीक्षाको जस्तो रिपोर्ट कार्ड नबनाउँदा विद्यार्थीले नपत्याउने र उनीहरूको सिकाइ स्तरमै असर पर्ने हो कि भन्ने चिन्ता बढेको कडेलको भनाइ छ । यसअघिको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले कक्षा १ देखि ३ सम्म एक प्रकारको र कक्षा ४ र ५ मा एक प्रकारको मूल्याङ्कनको प्रारूप तयार पारेको थियो । कक्षा १ देखि ३ सम्म शतप्रतिशत निरन्तर मूल्याङ्कन प्रणालीलाई नै मानिएको थियो भने कक्षा ४ र ५ मा आन्तरिक र बाह्य मूल्याङ्कन ५०/५० प्रतिशतलाई मानिएको थियो । कक्षा ५ सम्मै शतप्रतिशत आन्तरिक मूल्याङ्कन गर्नु परेपछि हरेक विद्यार्थीको छुट्टै अभिलेख फाइल तयार गर्नुपर्ने हुन्छ । थोरै विद्यार्थी भएका कक्षामा यो कार्य सजिलो भए पनि धेरै विद्यार्थी भएको कक्षामा भने कठिन हुने गरेको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जस्तो ठुलो विद्यालयमा एकै कक्षामा ५० जनासम्म विद्यार्थी छन् ।
आन्तरिक मूल्याङ्कन गर्नुपर्दा हरेक विद्यार्थीको व्यक्तिगत फाइल तयार पार्नु पर्छ; जुन अलि झन्झटिलो जस्तो भएको छ ।”
शिक्षा तथा खेलकुद मन्त्रालयले भने विद्यार्थी मूल्याङ्कनलाई समय अनुसार परिमार्जन गरेर वैज्ञानिक र व्यावहारिक बनाउँदै लगिने बताएको छ । मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले आन्तरिक परीक्षा प्रणाली बन्द गरेपछि मूल्याङ्कन प्रणालीमा देखिएका समस्यालाई अध्ययन गरेर थप प्रभावकारी बनाइने बताउनुभयो । आन्तरिक परीक्षा प्रणालीको विकल्पमा निरन्तर मूल्याङ्कन प्रणालीलाई अझ व्यावहारिक र व्यवस्थित बनाउँदै लैजाने उहाँको भनाइ छ ।गोरखापत्र दैनिकमा खबर छ ।



