खेलकुद

नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज पपुवा न्युगिनीसँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितका साथ सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा पुग्न चाहन्छ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । नेपाल चौथो स्थानमा रहँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ।

नेपालले अव बाँकी दुई खेल जितेमा ४० अंकका साथ शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पाउँछ । दुई मध्य एक खेल पराजित भएमा भने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । त्यसैले नेपाल दुवै खेल जित्दै सोझै विश्वकप छनोट खेल्न चाहन्छ ।

यता पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंकका साथ पुछारमा छ । पिएनजीले पुछारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ । अव प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्न सकेमात्रै पिएनजीले विश्वकप छनोट खेल्न पाउँछ । त्यस्तै सोझै ओडिआई मान्यता अवसर गुमाएको पिएनजीले प्लेअफ क्वालिफायरमा जर्सी र क्यानडालाई पछि पार्न सके निरन्तरता पाउनेछ । अन्यथा चार वर्षको लागि ओडिआई मान्यता गुम्ने देखिन्छ ।

नेपालको कप्तान रोहित पौडेल र पिएनजीका असद भाला प्रमुख खेलाडी हुन् । पिएनजीले पछिल्लो खेलमा युएईलाई स्तब्ध पारेको थियो । त्यसैले नेपाल खेलमा सचेत छ । नेपालले पछिल्लो खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बाहिर राख्दै ललितनारायण राजवंशी र गुलशन झालाई मौका दिएको थियो ।

दुवै खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । ललितले पाँच विकेट लिएको हुँदा निरन्तरता पाउनेछन् । गुलशनले आक्रामक ब्याटिङ गरेका थिए । तर पिच परिवर्तन भएमा करण टोलीमा फर्किने सम्भावना छ । पछिल्लो खेलमा युएईमाथि १ सय ७७ रनको सानदार जित हात पारेको हुँदा टोलीमा परिवर्तन नगर्न पनि सक्छ ।

नेपालका मध्यक्रमका ब्याटर भीम सार्की राम्रो लयमा देखिएका छन् । ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट राम्रो सुरुवात चाहन्छ । कुशल मल्लबाट आक्रामक ब्याटिङ चाहन्छ । त्यस्तै आरिफ शेख पनि राम्रो लयमा छन् । नेपालले दुई स्पिनरमा ललित र सन्दीप लामिछानेलाई मैदान उतार्नेछ । सोमपाल तीव्र गतिका हतियार हुनेछन् ।

यता ओपनर किप्लिङ डोरिगा राम्रो लयमा छन् । युएईलाई हराउन सेसे बाउ, हिरि हिरि र डोरिगाले अर्धशतक प्रहार गरेका थिए । कप्तान असद भाला र चाल्स अमिनीबाट पिएनजी आजको खेलमा राम्रो प्रदर्शन चाहन्छ । चाद सोफर, नर्मन भानुवा र राइली हेकुरे प्रमुख बलर हुन् ।

पछिल्लो खेलमा अभ्यासको क्रममा ओपनर टोनी उरा घाइते भएमा थिए । उरा फिट हुँदा पिएनजीको ब्याटिङ भने मजबुत हुनेछ । पछिल्ला १० मध्य ९ खेल जितेको नेपालको मनोबल भने उच्च छ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान) दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी। ।
अंक तालिका

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ।

नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंक जोड्दै पुछारमा छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button