मूल खबर

घरको छाना छाउँदा खुसी

गोरखापत्र अनलाइन
यादवराज पुरी

रौतहट। खुला आकाशमा सुत्न बाध्य रौतहटको दलित तथा गरिब समुदायका नागरिकको घरमा छाना छाउने काम सुरु भएपछि उनीहरूमा खुसियाली छाएको छ।

रौतहटमा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालित जनता आवास योजना कार्यक्रमले निर्माण गरेको घरको छाना छाउने कार्य तीव्र रूपमा अघि बढेपछि दलित नागरिकमा खुसी छाएको हो। यसअघि उक्त कार्यक्रमअन्तर्गत बनेका घर छानोविहीन थिए। सहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख मदन राय भन्नुहुन्छ, ‘‘दलित समुदायका नागरिकलाई सुरक्षित आवासको व्यवस्था गराउने उद्देश्यले नेपाल सरकारले ल्याएको योजनाअनुसार जिल्लामा दुई हजार ३५० परिवारको घर निर्माण गर्ने कार्य भएको थियो। आर्थिक वर्ष २०७६/७७ देखि सञ्चालित उक्त योजना कार्यान्वयन गर्ने क्रममा ती घरका छाना छाउन बाँकी थियो। अहिले तीव्रताका साथ कामअघि बढेको छ।”

गरिब दलितका लागि आवासको व्यवस्थापन गर्ने योजनाअनुरूप जनता आवास कार्यक्रमले निर्माण गरेको घरको निरीक्षण गर्न यहाँ आउनुभएका कार्यालय प्रमुख रायले चन्द्रपुर नगरपालिका–५ र ७ मा मात्र १३६ घर निर्माण गरेको बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्ष २०७६/७७ मा जिल्लामा एक हजार घर र आर्थिक वर्ष २०७७/७८ मा एक हजार ३५० गरी दुई हजार ३५० घर वितरण गरिएको थियो। हालसम्म एक हजार ५३० घर निर्माण गरी सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिएको छ। बाँकी रहेका घरको निर्माण अन्तिम चरणमा पुगेको छ।

छाप्रे घर पक्की घरमा परिणत हुँदा हर्षित बनेका दलित नागरिक घरको छानो छाउन बाँकी रहँदा निकै दुखित थिए। जब छाना छाउने काम सुरु भयो अनि उनीहरूमा खुसियाली आयो। भवन निर्माण उपभोक्ता समिति अध्यक्ष मञ्जु माझी भन्नुहुन्छ, “छाप्रो घर मासेर पक्की घर निर्माण हुँदा अत्यन्तै खुसी लागेको थियो तर घरमा छाना नहुँदा करिब तीन वर्ष कष्टपूर्ण जीवन बिताइयो। अहिले छाना छाउँदा ती सबै दुःख बिर्सिएका छौँ।” मोतीपुरमा मात्रै ३६ जनाको घर जनही तीन लाख ३६ हजार रुपियाँका दरले निर्माण भएको छ। जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाको राजदेवी, गौर, ईशनाथ नगरपालिकामा निर्माण गरिएका घर भने अधुरै रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button