मूल खबर

कोशी नाम सर्वमान्य छ, परिवर्तन हुँदैन : मुख्यमन्त्री कार्की

बौद्ध गुम्बामा आयोजित कार्यक्रममा सहभागी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायत । तस्बिर: शेरबहादुर राई

गोरखापत्र अनलाइन
शेरबहादुर राई

ओखलढुङ्गा। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम सर्वमान्य रहेको बताउनुभयो।

नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुङ्गा आउनुभएका मुख्यमन्त्री कार्कीले रुम्जाटार बौद्ध गुम्बामा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै कोशी नाम सर्वस्वीकार्य नाम भएकाले तत्काल प्रदेशको नाम परिवर्तन नहुने बताउनुभएको हो।

लामो समय नाम बिहीन प्रदेशमा आफू मुख्मन्त्री भएपछि करिब ९० प्रतिशत सांसदको बहुमतले कोशी नाम पारित भएको बताउँदै मुख्यमन्त्री कार्कीले तत्काल नाम संशोधनका विषयमा छलफल समेत नहुने बताउनुभयो।

नामको विषयमा विरोध गर्न छाडेर प्रदेशको समृद्धिमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो। कोशी सबैको सभ्यता, पहिचानसँग मात्रै नभएर मानव जीवनसँग पनि जोडिएको नाम भएको उहाँले दाबी गर्नुभयो।

“करिब ९० प्रतिशत भन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन त होइन नामकै विषयमा छलफल समेत हुँदैन”, उहाँले भन्नुभयो, “हिजो नाम भएन भन्नेहरु आज नाम मन परेन भनेर आन्दोलन गर्दैछन् यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न। बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस्।”

प्रदेशको नाम शंसोधन गर्न आन्दोलन गर्नेले जिताएर पठाएकै सांसदले कोशी प्रदेश नामाकरण गरेको भन्दै मुख्यमन्त्री कार्कीले सांसदको प्रस्तावमा राखिएको नामका विषयमा सरकारविरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको बताउनुभयो।

प्रदेशको नाम परवर्तन गर्न अर्को चुवानमा बहुमत ल्याउन मुख्यमन्त्री कार्कीले बताउनुभयो। सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, भगवती मन्दिर रुम्जाटार पार्कको उद्घाटन, रुम्जाटार बौद्ध गुम्बा लामा क्वाटर भवन, सिंचाई आयोजनाको स्वामित्व हस्तान्तरण, शहरी विकास तथा भवन कार्यालय भवन र मनमोहन तालिम केन्द्रको भवन शिलान्यास, ठाडे-जन्तरखानी सडक खण्ड र सामुदायिक भवन तलुवाको भवन उद्घाटन गर्न मुख्यमन्त्री ओखलढुङ्गा आउनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button