
सभामुख घिमिरेसँग छलफलपछि पत्रकार महासंघका पदाधिकारीहरु । तस्बिर : सभामुखको सचिवालय
गोरखापत्र अनलाइन
काठमाडौं । सभामुख देवराज घिमिरेले आज साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गर्नुभएको छ । सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको छलफलमा सञ्चारमैत्री कानुन निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धित विधेयकहरुको अवस्थालगायतका विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।
भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेकोप्रति ध्यानाकर्षण गराउनुभएको थियो । सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताउनुभयो ।
उहाँले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा आफू सदैव चनाखो रहेको सभामुख घिमिरेले जोड दिनुभएको उहाँका प्रेस संयोजक शेखर अधिकारीले बताउनुभयो ।
सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानुन निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने बताउनुभयो । भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवालको उपस्थिति थियो ।



