
एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजमाथि ६ विकेटको ऐतिहासिक जित हात पार्यो । जितको लागि २ सय ५९ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो ।
दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डि ककले ४४ बलमा ९ चौका र ८ छक्कासहित १ सय रनको सानदार शतकीय इनिङ खेले । अर्का ओपनर रिजा हेन्ड्रिक्स २८ बलमा ११ चौका र २ छक्कासहित ६८ रनमा आउट भए । पहिलो विकेटका लागि रिजा र डि ककले १०.५ ओभरमा १ सय ५२ रनको विष्फोटक शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
त्यसअघि सुपर स्पोट्र्स पार्क सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको थियो । वेस्टइन्डिजका जोनसन चाल्र्सले ४६ बलमा १० चौका र ११ छक्कासहित १ सय १८ रनको विष्फोटक शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् ।
टि२० आई इतिहासकै सर्वाधिक ठूलो लक्ष्य पूरा हुनेक्रममा मैदानमा चौका र छक्काको वर्षा भएका थिए । दक्षिण अफ्रिका र वेस्टइन्डिजको आफ्नो थुप्रै कीर्तिमानहरु तोडिएका छन् । उक्त खेलमा ६ विश्व कीर्तिमान नै बने । जुन यस प्रकार छन् ।
६. एकै खेलमा सर्वाधिक छक्का
वेस्टइन्डिजबाट २२ र दक्षिण अफ्रिकाबाट १३ गरि खेलमा कुल ३५ छक्का प्रहार भएको थियो । एकै खेलमा टि२० आईमा सर्वाधिक छक्का प्रहार भएको हो। यसअघि २०२२ मा एकै खेलमा सर्विया र बुल्गेरियाबीचको खेलमा ३३ छक्का प्रहार भएको थियो ।
त्यस्तै वेस्टइन्डिजले एकै खेलमा २२ छक्का कीर्तिमान बराबर गरेको छ । एकै इनिङमा यो सर्वाधिक छक्का प्रहार भएको हो । जुन कीर्तिमान वेस्टइन्डिजले अफगानिस्तानसँग बराबर गरेको छ । अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध पनि एकै खेलमा २२ छक्का हानेको थियो ।
५. टेस्ट टोलीको पावर प्लेमा सर्वाधिक रन
दक्षिण अफ्रिकाले सुरुवाती ६ ओभरमै १ सय २ रन बनाएको थियो । त्यो कुनैपनि टेस्ट टोलीले पावर प्ले (सुरुवाती ६ ओभर) टि२० आईमा बनाएको सर्वाधिक रन हो ।
यसअघि पावर प्लेमा वेस्टइन्डिजले श्रीलंकाविरुद्ध २०२१ मा ४ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । दक्षिण अफ्रिकाले ५.३ ओभरमा एक सय रन पूरा गरेको थियो । सर्वाधिक छिटो रोमानियाले सर्बियाविरुद्ध २०२१ मा ५.२ ओभरमा एक सय रन पूरा गरेको थियो ।
४. सर्वाधिक बाउन्ड्री
दक्षिण अफ्रिका र वेस्टइन्डिजबीचको खेलमा कुल ८१ बाउन्ड्री (चौका र छक्का) प्रहार भएको थियो । कुनैपनि टि२० खेलमा प्रहार भएको धेरै चौका र छक्का हो । यसअघि पाकिस्तान सुपर लिगमा केहि साता अघि मुल्तान सुल्तान र क्वेटा ग्ल्याडियटर्सबीचको खेलमा ७८ बाउन्ड्री प्रहार भएको थियो ।
३. पहिलो पटक ५ सय रन
टि२० आई इतिहासमा पहिलो पटक ५ सय रन बनेको छ । यी दुई टोली गरि कुल ५ सय १७ रन बनेको थियो । टि२० आईमा यसअघि भारत र वेस्टइन्डिजबीच २०१६ मा ४ सय ८९ रन बनेको थियो । न्युजिल्यान्ड र अष्ट्रेलियाबीचको खेलमा २०१८ मा ४ सय ८८ रन बनेको थियो ।
२. एकै खेलमा सर्वाधिक रन
दक्षिण अफ्रिका र वेस्टइन्डिजबीच कुल ५ सय १७ रन बनेको थियो । टि२० इतिहासमा कुनैपनि खेल र प्रतियोगितामा बनेको सर्वाधिक रन हो । यसअघि मुल्तान सुल्तान र क्वेटा ग्ल्याडियटर्सबीच यसै महिना ५ सय १५ रन बनेको थियो ।
१. सर्वाधिक उच्च योगफल पूरा
यो टि२० आईमा पूरा भएको सर्वाधिक उच्च योगफल हो । यसअघि टि२० आईमा उच्च योगफल २०१८ मा अष्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध २ सय ४४ रनको लक्ष्य १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो ।हाम्रो खेलकुदबाट ।



