मूल खबर

स्थानीय तहको अटेरी

गोरखापत्र अनलाइन
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कामकाजका लागि स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराइ मन्त्रालयमा नै फर्काउने गरिएको छ।

आर्थिक वर्षको मध्यमा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्दा योजना कार्यान्वयन गर्न, भुक्तानी दिन र सेवा प्रवाहमा समेत समस्या पर्ने भन्दै स्थानीय तहले मन्त्रालयद्वारा पठाइएका कर्मचारीलाई हाजिर नगराइ पुनः मन्त्रालयमा फिर्ता पठाउने गरेको पाइएको छ। पछिल्लो समय ३० वटा स्थानीय तहले कर्मचारीलाई हाजिर नगराइ पुनः मन्त्रालयमा नै फिर्ता पठाएका छन्।

खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई सात दिनभित्र हाजिर गराउन र सोको जानकारी दिन मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले खटाएका नयाँ प्रमुख प्रशासकीय अधिकृतबाट मात्र सम्बन्धित स्थानीय तहको खाता सञ्चालनको व्यवस्था मिलाउनका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयलाई समेत परिपत्र गरिएको छ।

मन्त्रालयले पठाएका कर्मचारीलाई हाजिर नगराउने स्थानीय तहमा अधिकांश नगरपालिका छन्। नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले स्थानीय तहमा आर्थिक वर्षको मध्यमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा स्थानीय तहको काम अस्तव्यस्त हुने भएकाले हाजिर नगराइएको बताउनुभयो। उहाँका अनुसार मन्त्रालयले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्र पठाउनुपर्छ।

मन्त्रालयका प्रशासन शाखाका उपसचिव खिलराज राईले कतिपय स्थानीय तहले अटेर गरेर कर्मचारीलाई हाजिर नगराइ मन्त्रालयमा नै फिर्ता पठाएकाले स्थानीय तहमै हाजिर गराउन सबै स्थानीय तहलाई आग्रह गरेको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button