खबर

नेपाल-भारतबीच लगानीमा सहकार्य हुने

न्युज अफ नेपाल
काठमाडौं । नेपाल उद्योग परिसंघ र इण्डियन चेम्बर अफ कमर्सबीच लगानी, व्यवसाय प्रवद्र्धनलगायतमा सहकार्य गर्न समझदारी भएको छ । उक्त समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल र इण्डियन चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले हस्ताक्षर गर्नुभयो । दुई संस्थाबीच लगानी तथा व्यवसाय प्रवद्र्धन, अध्ययन तथा अनुसन्धान, आपसी सहयोग, सूचना तथा जानकारीहरुको आदानप्रदानलगायतमा सहकार्य हुनेछ ।

काठमाडौंमा आयोजित समझदारी पत्र हस्ताक्षर कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले भारतको सबै भन्दा पुरानो संस्था इण्डियन चेम्बर अफ कमर्ससँगको सहकार्यले दुुई देशबीच व्यावसायिक सम्बन्ध थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले परिसंघले अगाडि बढाइरहेको मेक इन नेपाल स्वदेशी अभियान, स्टार्टअप एवं उद्यमशीलता प्रबद्र्धनलगायत दुई देशका उत्पादन तथा सेवाहरुको प्रबद्र्धनमा दुई संस्थाबीच सहकार्य हुने बताउनुभयो ।

इण्डियन च्याम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष अमेय प्रभुले यस किसिमको सहकार्यले नेपाल र भारतबीचमा उद्योग, व्यापार र लगानीका क्षेत्रहरुमा नयाँ सम्भावनाहरु खोज्न महत्वपूर्ण हुने बताउनुभयो ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघ र इण्डियन च्याम्बर अफ कमर्सबीचको सहकार्यले उद्योगीहरुका समस्या, चुनौतीहरुको पहिचान एवं समाधानका लागि दुबै संस्थाले लविइङ गर्ने र दुई मुलुकबीचको आर्थिक हितमा काम गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button