खबर

महिलालाई उपेक्षा गरिएको आरोप

गोरखापत्र अनलाइन
इनरुवा । दुहबी नगरपालिकाका महिला जनप्रतिनिधिलाई उपेक्षा गरिएको भन्दै वडाध्यक्षविरुद्ध ज्ञापनपत्र बुझाइएको छ।

एउटै निर्वाचन प्रक्रियाबाट जितेर आएको भए पनि वडाध्यक्षले आफूखुसी गर्ने र महिला सदस्यलाई उपेक्षा गरेको आरोप लगाउँदै दुहबीका महिला सदस्यले नपाको हरेक निर्णयमा अर्थपूर्ण सहभागिताको मागसहित नगरप्रमुख वेदनारायण गच्छदारलाई ज्ञापनपत्र बुझाएका हुन्। वडाको बैठक पारदर्शी गर्नुपर्ने, नेमप्लेटसहित कुर्सीको व्यवस्था गर्नुपर्ने, बैठकमा आफूहरूको उपस्थिति अनिवार्य हुनुपर्ने, हस्ताक्षर मात्रै गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने सहितको माग ज्ञापनपत्रमा समेटिएको छ। यस्तै जनप्रतिनिधिको भूमिका निर्वाहमा जिम्मेवारी दिनुपर्ने, महिला वडा सदस्यलाई योजना तर्जुमा सम्बन्धी तालिम दिनुपर्ने, महिला जनप्रतिनिधि सञ्जाल कार्यकक्षको व्यवस्था गर्नुपर्ने, बैठक बोलाउँदा कम्तीमा तीन दिनअगावै एजेन्डासहितको जानकारीपत्र दिनुपर्नेलगायतका माग प्रस्तुत गरिएको महिला वडा सदस्यहरूको सञ्जालकी संयोजक ललिता चौधरीले जानकारी दिनुभयो।

सहसंयोजक मीना श्रेष्ठका अनुसार महिला सदस्य नबोलेकाले वडाध्यक्षहरू एकलौटी गर्न थालेपछि ज्ञापनपत्र बुझाइएको हो। ज्ञापनपत्र बुझेपछि नगरप्रमुख गच्छदारले सबै महिला सदस्यलाई वडाका समस्या सोधेर वडामा रहेको समस्या समाधान गर्ने र महिला सदस्यको सञ्जाललाई आफूले न्यायोचित हुने गरी सघाउने प्रतिबद्धता जनाउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button