
दुर्घटनामा परेको ट्रक । तस्बिर : अमरराज नहर्की
गोरखापत्र अनलाइन
अमरराज नहर्की
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको बन्दिपुर गाउँपालिका –५ आँधीखोला, याम्पामा ट्रक अनियन्त्रित भएर दुई घरमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
बुधबार विहान ९ः२० बजे अनियन्त्तित भएर घरमा ठोक्किएको प्रहरीको भनाइ छ । डुम्रेबाट मुग्लिनतर्फ जाँदैगरेको ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा रहेको सुनमाया भुजेल र सनबहादुर भुजेलको घरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटना हुँदा घाइते भएको आठमध्ये तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा पैदल यात्रीहरु र सोही घरमा बस्ने तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।
घाइतेहरुको तत्काल उद्धार गरी उपचारका लागि हाडजोर्नी अस्पताल आबुँखैरेनी तनहुँमा प्राथमिक उपचारका लागि लगिएको थियो । घाइतेहरुको थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुर पठाइएको उहाँले जानकारी दिनुभयो ।
बन्दीपुर वडा –१ स्थायी घर भई हाल सोही पालिकाको वडा –५ निवासी, वर्ष १२ को आयुस भुजेल, वर्ष ६ कि आयुसा भुजेल, बर्ष ५० को चेतबहादुर घर्ती, वर्ष ५५ को सनबहादुर भुजेलको मृत्यु भएको प्रनाउ खाणले जानकारी दिनुभयो । सोही ठाउँका वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० को ईश्वर भुजेल, वर्ष ८ को समिर भुजेल, वर्ष ५ को सन्तोष भुजेल घाइते हुनुभएको छ ।
दुर्घटनापछि पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी खण्डमा यातायात अबरुद्ध भएको छ । घाइतेका आफन्त तथा स्थानीय वासिन्दाले दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रेका हुन् । अबरुद्ध राजमार्ग खुलाउने प्रयाश भइरहेको प्रनाउ खाणले जानकारी दिनुभयो ।



