
यज्ञराज पाण्डे
काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाई नेपालीहरूलाई अमेरिका पठाइदिने प्रलोभन देखाउने ‘हाइप्रोफाइल’ व्यक्तिहरू एकपछि अर्को गर्दै पक्राउ परेका छन् । थुप्रै युवाहरूबाट ठूलो रकम असुल्ने गिरोहको पर्दाफास भएसँगै मन्त्री बनिसकेका र पार्टीको उच्च पदमा रहेका नेतादेखि सरकारी सेवामा रहेका उच्च तहका कर्मचारीसमेत प्रहरी नियन्त्रणमा पुगेका हुन् । यो प्रकरणमा अहिलेसम्म पूर्वमन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित केशव दुलाल, सानु भट्टराई, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राईलगायत पक्राउ परिसकेका छन् । त्यस्तै, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई समेत प्रहरीले पुर्जी काटेको छ ।
एकैचोटि देशका उच्च ओहदामा बसेका थुप्रै व्यक्तिहरूको ठगी प्रकरणको खुलासा भएपछि धेरैमा यो काण्डको पर्दाफास कसरी भयो भन्ने विषयमा समेत कौतुहलता बढेको छ । खासमा प्रहरीले एउटा यस्तो अडियो प्राप्त गरेको छ जसमा यो प्रकरणमा संलग्न व्यक्तिहरूका नामदेखि उनीहरूको गिरोहले काम गर्ने तरिकासमेत विस्तारमा बताइएको छ ।
प्रहरीलाई प्राप्त अडियोमा अहिले पक्राउ परिसकेका व्यक्तिबाहेक अन्य धेरै व्यक्तिहरूको नामसमेत उल्लेख गरिएको छ । अडियोले पोलेका सबैलाई प्रहरीले अहिलेसम्म पक्राउ गरिसकेको छैन । प्रहरीले सबैलाई एकैपटक पक्राउ नगर्नुको पछाडि उनीहरू पहुँचवाला भएकाले प्रहरीले पहिले बलियो प्रमाण जुटाएर मात्र हात हाल्न चाहेको अनुमान गरिएको छ ।
अहिलेसम्म पक्राउ परेकाहरू प्रमुख प्रतिपक्षी दल एमालेमा आबद्ध वा यो दलसँग निकट व्यक्तिहरू छन् । तर, अडियोमा नाम उल्लेख भएका व्यक्तिहरूमा सत्तापक्षका प्रभावशाली नेताका आफन्तहरूको नाम परेको अनुमान गरिन्छ । सत्तापक्षका नेताका निकटस्थलाई प्रहरीले अहिलेसम्म पक्राउ नगर्नुको कारण उनीहरूविरुद्ध पर्याप्त प्रमाण जुटाइँदै भएर हो वा सत्ताको हस्तक्षेप पनि भएको कारणले हो त्यो भने विस्तारै खुल्दै जानेछ ।
स्रोतका अनुसार अडियोमा कुन व्यक्तिलाई, कुन मितिमा, कति रकमको र कुन बैंकको चेक दिइएको छ भन्नेसमेत स्पष्ट भनिएको छ । यी चेक दिइनुको उद्देश्य अमेरिका पठाइदिनको लागि रकम भुक्तानी भनिएको छ । स्रोतका अनुसार प्रहरीले जाँच गर्दा ती अडियोमा भनिएका बैंक कारोबारको समेत पुष्टि भएको छ ।
टोपबहादुर प्रकरणमा षड्यन्त्रपूर्ण ढंगले समाउनु रहस्यमय भएको ओलीको दाबी
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्ना सचिवलाई षड्यन्त्रपूर्ण फसाइएको हुनसक्ने भन्दै शंका व्यक्त गर्नुभएको छ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले चार वर्ष अगाडि चेक काटिएको घटनामा सांसद र उपप्रधानमन्त्री भइसकेको नेतालाई षड्यन्त्रपूर्वक समाइएको आरोप लगाउनुभएको हो । ‘चार वर्ष अगाडि नै चेक काटेको छ । त्यो चेक पनि उसैसँग रहेको भन्ने छ,’ ओलीले भन्नुभयो, ‘एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेतालाई षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’
ओलीले निर्दोषलाई फसाउन खोजिएको हुनसक्ने भन्दै मान्य नहुने चेतावनीसमेत दिनुभएको छ । ‘तानिएको हो कि तनाइएको हो, यसबारेमा हामी अध्ययन गर्दै छौँ,’ ओलीले भन्नुभयो । उहाँले निर्दोषलाई फसाइए आफूहरूले नसहने बताउनुभयो । ‘निर्दोष पर्नुहुन्न, दोषी उम्कनु पनि हुन्न । निर्दोष फसाउन खोजे हामी सहँदैनौँ । बाटोमा हिँड्दै गर्दा समाउनु रहस्यपूर्ण छ । मैले हिजो बेलुका (टोपबहादुरसँग) कुरा गरेको थिएँ, पक्राउ पुर्जी जारी गरेको भन्ने सुन्छु, तपाईंलाई जानकारी छ ? भनेर सोध्दा उहाँले ‘आइजिपीसँग कुरा गरेँ, कुरा के हो प्रष्ट पार्न आइदिनुस् भनेका छन्’ भन्नुभयो । अहिले समात्यो भन्या सुन्छु, फरार भनेको पनि सुन्छु, के हो थाहा छैन ।’ ओलीले भेटमा प्रधानमन्त्रीलाई यस विषयमा जानकारी गराएको पनि बताउनुभएको छ ।
शरणार्थी प्रकरणमा अनुसन्धानलाई इमानदारीपूर्वक सहयोग गर्ने बादलका छोराको प्रतिबद्धता
एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापाले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै भएको ठगी प्रकरणमा अनुसन्धानलाई सघाउने बताउनुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै प्रतीकले यो प्रकरणमा आफ्नो नाम जोडिएकोमा खण्डन गर्दै सम्बन्धित निकायले गर्ने अनुसन्धानमा इमानदारीपूर्वक सहयोग गर्ने बताउनुभएको हो ।
‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्दै खण्डन गर्दछु,’ विज्ञप्ति जारी गर्दै उहाँले भन्नुभएको छ, ‘तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
लामो समयदेखि केही सञ्चारमाध्यमले गलत उद्देश्यका साथ आफूविरुद्ध तथ्यहीन प्रचार गरिरहेको उहाँको जिकिर छ । ‘मिडियामा आएका झुटा प्रचारमा प्रतिक्रिया दिने मेरो व्यक्तिगत रुचि रहेन । मविरुद्ध आज पनि गलत अभिप्रायसाथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी छ । राजनीतिक प्रतिशोधजस्तो देखिने यस्ता आरोपहरूले भविष्यमा कस्तो किसिमको संस्कारलाई बढावा दिने हो भन्ने कुरा बुझ्न जरुरी छ,’ उहाँ भन्नुहुन्छ, ‘हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौँ । जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौँ । त्यसबाहेक मेरो राजनीतिक जीवनमा कुनै व्यक्तिगत इच्छा छैन ।’हिमालय टाइम्सबाट ।



