सृजनाको चौतारी

राँगाहरु

बिगबिगी छ जताततै बिगबिगी छ
माथि “मुर्रा” राँगाहरुको बिगबिगी छ
तल भुरा राँगाहरुको बिगबिगी छ
भैंसीहरुंं परपरै तर्कनु परेको छ
बाटो छेकेर उभिएका उन्मत्त राँगादेखि डराएर
गन्तव्यमा नपुगी बिचैबाट फर्कनु परेको छ ।
राँगाहरु नयाँ छन्, पुराना छन्
बुढा छन् ,जवान छन्
दाँतिएका छन्, दाँत झरेका छन्
लोकल छन्, वर्णशंकर छन्
अघाएका छन्, भोकाएका छन्
स्थानीय छन्, आयातित छन् ।
अघाएकाले भोकाएकालाई टेर्दैनन्
वर्णशंकरले लोकललाई हेर्दैनन्
पुरानाले नयाँलाई छेक्छन्
जवानले बुढालाई हेप्छन्
स्थानीय भन्दा आयातितको भाउ छ
कसरी थलो कब्जा गर्ने
त्यतिमात्र दाउ छ
शंका छ , अविश्वास छ
त्यसले कतिबेला सिध्याउने हो भन्ने त्रास छ ।
अहिले गुड्गुडी थामी नसक्नु छ
सिँगौरी खेलेर राँगाहरुले
भत्काउँदैछन् आफ्नो थलो
सुकाउँदैछन् आफैं आहाल खेल्ने पोखरी
चुँडाएर दाम्लो बुर्कुसी मार्दैछन्
र बनाउँदैछन् पाडापाडीलाई शरणार्थी ।
उन्मत्त राँगाको डुक्र्याइबाट
मैमत्त राँगाहरुको जुधाइबाट
त्रसित छन् गोठका सोझा गाईहरु बाख्राहरु
त्रसित छन् साना साना बाच्छाहरु पाठाहरु।
बिगबिगी छ जताततै बिगबिगी छ
माथि मुर्रा राँगाहरुको बिगबिगी छ
तल भुरा राँगाहरुको बिगबिगी छ ।(फेसबुकबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button