खबर

तेल निर्यात घटेसँगै समग्र निर्यातमा गिरावट

लक्ष्मी सापकोटा
काठमाडौँ । यो वर्ष पाम तेल र भटमास तेल निर्यातमा गिरावट आएसँगै मुलुकको समग्र निर्यात व्यापारमा उल्लेख्य कमी आएको छ । विगतका वर्षमा पाम तेलको निर्यातले समग्र निर्यातमा उल्लेख्य वृद्धि आएकामा चालु आवको सुरुदेखि नै पाम तेलको निर्यात घट्दा समग्र निर्यातमा कमी आएको छ ।

भारत सरकारले पाम तेल आयातमा लाग्दै आएको ५० प्रतिशत भन्सार शुल्क घटाएसँगै नेपालबाट हुने निर्यातमा कमी आएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ) सम्ममा पाम तेलको निर्यातमा ५० प्रतिशतले ह्रास आई १९ अर्ब ५४ करोड रुपियाँमा झरेको छ ।

गत वर्ष सो अवधिमा ३९ अर्ब ११ करोड २७ लाख १४ हजार रुपियाँको पाम तेल निर्यात भएको थियो । गत वर्ष समग्र निर्यातमा पाम तेलको निर्यात ४५ प्रतिशतको हाराहारी रहेकामा चालु आवको सुरुदेखि नै निर्यातमा गिरावट आउँदै आएको हो । विभागका अनुसार ११ महिनाको अवधिमा भटमासको तेलको निर्यातमा ८१.८ प्रतिशत ह्रास आई आठ अर्ब ४८ करोड रुपियाँमा झरेको छ । गत वर्ष सो अवधिमा ४६ अर्ब ५८ करोड ७० लाख ४८ हजार रुपियाँको भटमासको तेल निर्यात भएको थियो ।

गत आवमा दुई खर्बको कुल वस्तु निर्यात हुँदा पाम तेल र भटमासको तेलको हिस्सा मात्रै करिब ९० अर्ब रुपियाँ रहेको थियो । त्यति बेला यो कुल निर्यातको ४५ प्रतिशत हो । व्यापारविज्ञ रविशङ्कर सैँजूले भारतले पाम तेल र भटमासको तेल आयातमा भन्सार शुल्क घटाएसँगै निर्यात ह्वात्तै घटेको बताउनुभयो । स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी पुनः प्रशोधन गरेर निर्यात हुने वस्तुको निर्यात गत आवमा बढेको थियो, भारतले भन्सार महसुल घटाउँदा पाम तेल र भटमासको तेल निर्यात घटेको समग्र निर्यातमा गिरावट आएको उहाँको भनाइ छ ।

स्वदेशमै उत्पादन हुने तुलनात्मक वस्तुको उत्पादन बढाएर निर्यात गर्न सकियो भने निर्यात व्यापार दिगो हुने उहाँको भनाइ छ ।

भारतले पाम तेलको आयातमा लाग्दै आएको भन्सार शुल्क ५० प्रतिशत घटाएकाले भारतीय व्यापारीले अन्य देशबाट ल्याउन थालेपछि नेपालबाट कम जान थालेको हो । पाम तेल, भटमास तेल पूर्ण स्वदेशी उत्पादन नभई कच्चा पदार्थ आयात गरी मूल्य अभिवृद्धि (भ्यालु एड) गरेर निर्यात हुने गर्छ । नेपाली व्यापारीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गतको सात प्रतिशत छुट सुविधा लिएर भारत पठाउने गरेका थिए ।

चालु आवको ११ महिनामा स्वदेशी वस्तुको निर्यात २२ प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपियाँको निर्यात भएको छ ।

अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चीन, इजिप्ट, इन्डोनेसिया, पाराग्वे, रुस, स्विजरल्यान्ड, टर्की, मलेसियालगायत देशबाट पाम तेल, भटमासको कच्चा पदार्थ आयात हुन्छ । प्रशोधित तेल थोरै मात्रामा आन्तरिक बजारमा र बाँकी सबै भारतमा निर्यात हुने गर्छ ।

पाम र भटमास तेल नेपालको आफ्नो उत्पादन होइन र नेपालले उपभोग पनि धेरै गर्दैन तर तेस्रो मुलुकबाट आयात गरेर भारत निर्यात गर्दा नेपालको निर्यात व्यापारमा यसको हिस्सा ज्यादा देखिएको थियो ।

इन्डोनेसिया, मलेसिया, थाइल्यान्डलगायत मुलुकबाट नेपालमा कच्चा तथा रिफाइनरीका रूपमा भित्रने पाम तेल र सोयबिन तेल नेपालमा प्रशोधन गरी भारतमा निर्यात हुने गर्छ ।

अहिले भारतीय व्यापारीले नेपालबाट नभई उत्पादक देशबाट सोझै आयात गर्दा उनीहरूलाई सस्तो पर्छ । यही कारण पाम तेल र सोयाबिन तेल नेपालबाट भारतमा हुने निर्यात घटेको व्यवसायीको भनाइ छ ।

नेपालबाट निकासी भएका प्रमुख वस्तुमा पाम तेल, पोलिस्टर तथा अन्य धागो, ऊनी गलैँचा, फलाम तथा फलामका उत्पादन, भटमासको तेल, अलैँची, जुट तथा जुटका सामान, तयारी पोसाक, जुस, ऊनी फेल्टका उत्पादन, चिया, कुकुर बिरालाका आहारा, पस्मिना सल, कपडा, चाउचाउ, एसिड, जडीबुटी, नेपाली हाते कागज, अदुवा र जुत्ताचप्पल रहेका छन् ।गोरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button