
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर क्लब टोटेनहम हटस्परले इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियोलाई क्लबमा अनुबन्धित गरेको छ ।
टोटेनहमले गोलरक्षक भिकारियोलाई सिरी ‘ए’ क्लब एम्पोलीबाट पांच वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । २६ वर्षीय भिकारियोले एम्पोलीमा दुई सिजन बिताउँदा गत सिजन सानदार प्रदर्शन गरेपछि उनी इटालीको राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए । टोटेनहमका कप्तान तथा पहिलो रोजाईका फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसको क्लबमा सम्झौता अझै एक वर्ष बाँकी छ । अब उनले लोरिससँगै फ्रेजर फोस्टरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । उत्तरी लन्डन क्लबले भिकारियोलाई कमाण्डिङ गोलकिपर भनेर वर्णन गरेको छ ।
उडिनेसबाट व्यवसायिक खेल करिअर शुरु गरेका भिकारियोले क्याग्लियारी, पेरुगिया र भेनेजियाबाट खेलिसकेका छन् । उनी २०२१ मा एम्पोली पुगेका थिए । गत सिजन रेलिगेसन जोनमा संघर्ष गरिरहेको एम्पोलीलाई रेलिगेसनबाट बचाउन उनै गोलरक्षक भिकारियोले सानदार प्रदर्शन गरेका थिए । गत सिजन भिकारियोले ३१ लिग खेलमा ३९ गोल बेहोर्दा खेलमा क्लिन सिट राख्न सफल भएका थिए । एम्पोली रेलिगेसन जोनभन्दा १२ अंकको दुरीमा अघि रह्यो। गत सेप्टेम्वरदेखि इटालीको टोलीमा रहेका उनले डेब्युको अवसर पाएका छैनन् ।
कोभासिस सिटीमा
इंग्लिश प्रिमियर लिग र यूईएफए च्याम्पियन्स लिगको विजेता म्यानचेस्टर सिटीले २९ वर्षीय क्रोएसियन फुटबलर माटियो कोभासिसलाई अनुबन्ध गरेको छ । सिटीले अर्को इंग्लिस क्लब चेल्सीबाट कोभासिसलाई चार वर्षको लागि आफ्नो टिममा अनुबन्धित गरेको हो । सिटीले प्रारम्भिक २५ मिलियन पाउण्डमा उनलाई अनुबन्ध गरेको हो । जसमध्ये एड अनमा ५ मिलियन पाउन्ड रहेको छ । यससँगै उनी सन् २०२७ सम्म इतिहाद स्टेडियममा रहनेछन् ।
गत सिजन ट्रेबल उपाधि च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको उपाधि जितेपछि कोभासिच यो समरमा सिटीको पहिलो अनुबन्धन हो । जर्मन मिडफिल्डर इल्काए गुन्डोगन फ्रि ट्रान्सफरमा स्पेनिस च्याम्पियन बार्सिलोना गएपछि सिटीले उनको स्थानमा कोभासिसलाई अनुबन्ध गरेको बताइएको छ । सिटीले मिडफिल्डर डेक्लान राइसको लागि ९० मिलियन पाउन्ड खर्चन तयार रहेपनि प्रस्ताव अस्वीकार भएपछि सिटीले कोभासिसलाई अनुबन्ध गरेको हो।
कोभासिस अगस्ट २०१८ मा स्पेनिस क्लब रियल मेड्रिडबाट लोनमा चेल्सीमा आएका थिए । त्यही सिजन नै उनले चेल्सीका पाँच वर्षको सम्झौता गरेका थिए। कोभासिसले गत सिजन चेल्सीका लागि ३७ म्याच खेलेका छन् । चेल्सीले २०२१ मा च्याम्पियन्स लिगको उपाधि जित्दा उनी टोलीका सदस्य थिए । जसबेला चेल्सीले सिटीलाई १–० ले पराजित गरेको थियो । कोभासिसले क्रोएसियाका लागि ९५ क्याप जितेका छन् । उनी फिफा विश्वकप कतार २०२२ मा क्रोएसियाको टोलीमा थिए । क्रोएसिया विश्वकपमा तेस्रो भएको थियो ।न्यूज अफ नेपाल



