
लुतो फाल्ने कथा
जिजुबा भन्थे रे
हामीले एकसय चार बर्षको
लुतो फाल्यौं
तर
लुतो फालिएन ।
हजुरबा भन्थे
हाम्रा बाहरुले फालेको लुतो
फेरि सल्क्यो
हामीले तीसौं बर्ष लगाएर
बल्लतल्ल फाल्यौं
तर पनि लुतो फालिएन
बा भन्थे
जिजुबा र हजुरबाले
सामान्य लुतो चैं फाले
लुतोको माउ चैं फाल्न सकेनन्
हामीले दुईसय चालिस बर्षसम्म
शरीरमा गडेर बसेको
लुतोको माउ नै फाल्यौं
तर
लुतो जस्ताको त्यस्तै छ ।
जिजुबाले लुतो फाले
हजुरबाले लुतो फाले
बाले लुतोमात्र होइन
लुतोको माउ नै फालेको पनि
अठार बीस बर्ष भयो
लुतो उस्तै छ ।
जति फाल्यो लुतो अझ
संक्रामक भएर फैंलदो छ
जिजुबा पिठ्युँ कन्याउँथे
हजुरबा पेट पिडौंला कन्याउँथे
बा औंलाका काप कन्याउँथे
अहिले हाम्रो पालामा
हात पुग्ने ठाउँमा पनि पुग्छ
नपुग्ने ठाउँमा पनि पुग्छ
कन्याउन…. लाजमर्दो
तर फेरिपनि
लुतै फाल्नेकुरा गर्छन् मान्छेहरु
अब आउने लुतो झन खतर्नाक
झन डरलाग्दो
जीन नै परिवर्तन गरेर पो आउने हो की ?

