मूल खबर

बसाइँसराइले खण्डहर बन्दै ढुङ्गेघर

ध्रुवसागर शर्मा

गलेश्वर (म्याग्दी) । ढकमक्क फूल फुल्ने आँगन र लटरम्म तरकारी फल्ने करेसाबारीमा घाँस झाँगिएको छ। घरनजिकैका पानीका धारामा कमिला डुल्छन्। पिँढीमा हरियो ढुसी र लेउ देखिन्छ। रातो माटो र सेतो कमेरोमा टल्कने भित्ता उप्किएका छन्। छानो भत्किएको छ, घरको धुरीबलो र झ्यालढोका मक्किएका छन्। बेनी–दरबाङ सडकसँगै म्याग्दी नदीको माथिल्लोपट्टि रहेको रातोढुङ्गा गाउँको यो दृश्य देख्ने जोकोहीको मन कटक्क खान्छ।

टल्कने स्लेट ढुङ्गाले छाएका घर र यातायातलगायत विकासका पूर्वाधारले छोएको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि तीन किलोमिटरको दूरीमा रहेको, कौसी र बार्दलीसहितका सुन्दर घर भएको यो गाउँ अहिले खण्डहरमा परिणत भएको छ। पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङ बजारदेखि नजिकै रहेको, मालिका गाउँपालिका–६ का घर अहिले सुनसान र डरलाग्दा खण्डहरमा परिणत भएका छन्। आजभन्दा एक दशकअघिसम्म हराभरा रहेको रातोढुङ्गा गाउँ अहिले पूरै उजाडिएको छ। बेनी–दरबाङ सडकको माथिल्लो र तल्लोपट्टि पक्की घर बनेर व्यापार व्यवसाय चलेको छ तर सडकदेखि तल म्याग्दी नदीको किनारामा रहेको रातोढुङ्गाका चिटिक्कका ढुङ्गेघर भने मानवविहीन छन्। भत्किनै लागेको अवस्थामा देखिने ती घर खण्डहरमा परिणत भएको स्थानीय विकल सेनले बताउनुभयो।

भौतिक सुख र सुविधा खोज्दै सर्वसाधारण सहर र मधेशतिर झरेपछि गाउँ रित्तिँदै गएको हो। बसाइँसराइ अहिले रातोढुङ्गाको मात्रै नभएर म्याग्दी जिल्लाकै मुख्य चुनौती बनेको छ। आर्थिक, सामाजिक तथा राजनीतिक रूपमा सबल र सचेत भएर पनि मानिस सुविधाभोगी भएकाले बसाइँसराइले गाउँ यस्तो स्थितिमा पुगेको सेनले भन्नुभयो।

“रातोढुङ्गा गाउँका नौ घरपरिवार गाउँ नै छाडेर सहर पसेका छन् भने कतिपय सडकको छेउमा पक्की घर बनाएर बसेका छन्,” रातोढुङ्गापारिको कुरसिम्ला गाउँकी मनकुमारी पुनले बताउनुभयो। गुणस्तरीय शिक्षा, स्वास्थ्य र भौतिक सुविधाको खोजीमा धेरैजसो सहरी क्षेत्रमा बसाइँसराइ गर्ने गरेको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाको भनाइ छ।

“थकालीको बस्ती रहेको रातोढुङ्गा गाउँका सबै घर रित्ता छन्, त्यहाँका थकाली घरपरिवार बसाइँसराइ गरेर काठमाडौँ , पोखरा गएपछि गाउँको अवस्था त्यस्तो भएको हो,” वडाध्यक्ष रोकाले भन्नुभयो। व्यक्तिको आर्थिक हैसियत अनुसार बसाइँसराइको प्रवृत्ति निर्धारण हुने गरेको उहाँको भनाइ थियो।

वडा कार्यालयमा बसाइँसराइको कागज बनाउन आउनेको सङ्ख्या बढ्दै गएको छ भने अधिकांशले घरजग्गा बेचेर औपचारिक बसाइँसराइ पनि नगरी अन्यत्र गइरहेका वडाध्यक्ष रोकाले जानकारी दिनुभयो।

रातोढुङ्गाको मात्रै होइन, पश्चिम म्याग्दीका अधिकांश गाउँ पनि रित्तिँदै जान थालेका छन्। जिल्लाको देवीस्थान, रुम, बिम, धवलागिरि गाउँपालिकाका मुना, मुदी, ताकम, मराङलगायत गाउँबाट बाहिरिनेको सङ्ख्या बर्सेनि बढ्दै जान थालेको स्थानीय जनप्रतिनिधि बताउँछन्। यहाँका प्रत्येक घरबाट छोराछोरी, अमेरिका, जापान, अस्टे«लिया, क्यानडालगायत मुलुकमा पुगेका छन्। अन्य तेस्रो मुलुक र भारतीय सेनामा कार्यरतको सङ्ख्या पनि उत्तिकै छ। पैसा कमाउने मोहले पनि युवालाई गाउँ बिर्सन बाध्य पारेको दरबाङका समाजसेवी हीराबहादुर पुनले बताउनुभयो। “पैसा कमाउने र राम्रो ठाउँमा सुविधा लिएर बस्ने सोच सबैमा छ,” उहाँले भन्नुभयो, “गाउँमा दुःख र परिश्रम गरेर कोही बस्न चाहन्न।” कतिपयले त घरजग्गा त्यत्तिकै छाडेर गएको उहाँको भनाइ छ।

“गाउँमा स्वरोजगारीको वातावण सिर्जना गरियो भने बसाइँसराइलाई तुलनात्मक रूपमा घटाउन सकिन्छ,” समाजसेवी पुनले भन्नुभयो। राज्य पुनर्संरचनासँगै बनेको स्थानीय तहले गाउँको विकास हुने अपेक्षा गरे पनि विश्वस्त भइहाल्ने वातावरण बन्न नसकेको अधिकांशको भनाइ छ। समाज विकसित अवस्थामा पुगे मात्र बसाइँसराइ जस्ता समस्या समाधान हुने दरबाङका बुद्धिजीवी सन्तोष सुवेदीले बताउनुभयो। “समाज उन्नत र विकसित भए मान्छेले आफ्नो थातथलो छाड्न चाहँदैन,” उहाँले भन्नुभयो, “बसाइँसराइ घटाउन राज्यले योजना र कार्यक्रम बनाउनु पर्छ।”

बसाइँसराइसँगै गाउँको उत्पादन पनि ह्वात्तै घटेको छ। खेतीयोग्य जमिन बाँझै छन्। दैनिक उपभोग्य सामानका लागि बजारमै निर्भर रहनुपर्ने अवस्था छ। बसाइँसराइ बढ्दै जाँदा त्यसले सामाजिक संरचनामा पनि असर पार्ने देखिन्छ।

जिल्लाको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवासुविधाका लागि ठुला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो। सङ्घीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहरबजारमा झर्नेको सङ्ख्या बढ्दो छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button