मूल खबरहेड लाइन

वर्षा गराउँदै बिदा भयो हिउँद

चाँदनी हमाल

काठमाडौँ, फागुन १७ गते । यस वर्षको हिउँद हल्का वर्षामै सीमित हुँदै सकिएको छ । हिउँदको अन्तिम दिन शुक्रबार हिउँदभरकै राम्रो वर्षा गराउँदै यो वर्षको हिउँदले बिदा लिएको हो । लामो समय देशको मध्यदेखि पूर्वी भूभागमा वर्षा हुन सकेको थिएन । सुदूरपश्चिम र कर्णाली भेगमा थोरै वर्षा भए पनि देशव्यापी हिउँदे वर्षाको छनक यो वर्ष राम्ररी पाउन नसकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अन्तिम समयमा बल्ल देशका अधिकांश स्थानमा वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । मङ्सिर १५ देखि फागुन मध्यसम्मको अवस्थालाई हिउँदयाम मानिन्छ । हल्काफुल्का वर्षासँगै यो वर्षको हिउँदले बिदा लिएको कँडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिहेमा बेहुलीले बिदाइमा आँसु झारे जस्तै बरर पानी झार्दै हिउँदले बिदा लियो, माइती घरबाट बेहुलीको बिदाइ जस्तै भयो यो हिउँद ।” हिउँदको सुरुवाती समयदेखि नै देशव्यापी रूपमा वर्षा नहुँदा सुक्खा चिसोसँगैको खडेरीको अवस्था सिर्जना भएको थियो । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा र हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिउँदको वर्षा यस पटक सन्तोषजनक नरहेको उहाँले प्रस्ट्याउनुभयो ।

कँडेलका अनुसार शुव्रmबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका अधिकांश भूभागमा मेघगर्जन र चट्याङसहितको वर्षा भएको छ । त्यसयताका भूभागमा हल्कादेखि मध्यम वर्षा भएको उहाँले जानकारी दिनुभयो । कोशी, गण्डकी, बागमती र मधेश प्रदेशका अधिकांश भूभागमा पनि बदलीसहित वर्षा भएको छ ।

अधिकांश हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात भएको छ । लामो समयपछिको वर्षा र हिमपातका कारण पहाडी तथा हिमाली भेगका स्थानीयमा खुसी छाएको छ । हिउँदे बालीलाई अहिलेको वर्षाले राहत पु-याएको कृषि मौसमविद् रामेश्वर रिमालले जानकारी दिनुभयो ।

बिहीबार रातिदेखि राम्रो बदलीसहित वर्षा हुन थालेको हो । जस अनुसार मध्यनेपालको काठमाडौँ उपत्यकामा पनि लामो समयपछि हल्का वर्षा भएको छ । वर्षा नहुँदा धुवाँ, धुलो र प्रदूषणसहितको बाक्लो तुवाँलो लाग्दा उपत्यका खाल्डोको वायु मानव स्वास्थ्यका लागि हानिकारक बन्दै गएको थियो । हल्का वर्षाका कारण प्रदूषणको मात्रा कम भई स्वच्छ हावा आवतजावतका लागि वातावरण बनेको मौसमविद् बताउनुहुन्छ । राम्ररी वायुमण्डल सफा हुन अझ केही वर्षा हुनुपर्ने छ । शुव्रmबार दिनभरजसो हल्का वर्षा हुने र रोकिने अवस्था कायम रह्यो ।

गत २४ घण्टामा सबैभन्दा बढी बैतडीको डिलासैनीमा वर्षा भएको छ । त्यस्तै डडेलधुरा, बाजुरा, कालीकोट, जुम्ला, कास्की, चितवनलगायतका भेगमा पनि राम्रो वर्षा र हिमपात भएको छ । शनिबार पनि विभिन्न भेगमा सामान्य वर्षा र हिमपातको अवस्था कायम रहने महाशाखाले जनाएको छ । मधेश प्रदेशमा भने सामान्य बदली कायम रहने छ । हिमपात र वर्षासँगै चिसो बढेकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ । कतै कतै वर्षा र हिमपातका कारण जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न सतर्कता अपनाउन पनि भनिएको छ । रुकुम, हुम्ला, जुम्लालगायतका स्थानमा भीषण हिमपात भएको छ । आइतबारदेखि मौसममा राम्ररी सुधार आउने महाशाखाले जनाएको छ ।

साम्दोमै रोकिनुप-यो पर्यटक

सुलीकोट समाचारदाता गुणबहादुर रोकाका अनुसार उत्तरी गोरखामा तीन दिनदेखि परेको भीषण हिमपातका कारण साम्दो पुगेका पर्यटकलाई लार्केपासतर्फ अघि बढ्न सकस भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ साम्दो, सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा फागुन १४ गते बुधबारदेखि शुव्रmबारसम्म निरन्तर रूपमा बाक्लो हिउँ परिरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक साम्दोमा रोकिएको अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार २२ जना पर्यटक तीन दिनदेखि गन्तव्यतर्फ जान नसकेपछि होटेल र धर्मशालामा आश्रय लिएका छन् । “जमिनदेखि १० इन्च माथिसम्म बाक्लो हिमपात छ, होटेल व्यवसायी निमा लामा दोर्जेले भन्नुभयो, “एक टोली पर्यटक लार्केपास जान नसक्नु र अर्को टोली बिचबाटैमा रोकिनुपर्ने अवस्था आएको छ ।”

हिमपातले स्थानीयवासीको दैनिक जनजीवनसमेत कष्टकर बनेको छ । खानेपानीका मुहानमा पानी जमेको छ । वृद्धवृद्धा र बालबच्चालाई चिसोका कारण घरबाहिर निस्कनसमेत समस्या भएको अध्यक्ष लामाले बताउनुभयो । हिमपातले चरिचरनमा समेत प्रभाव पारेकाले घरपालुवा गाईवस्तुमा घाँसको अभाव भएको उहाँको भनाइ छ । हिमपात तत्कालै रोकिने कुनै छाँटकाँट नदेखिएकाले पनि पर्यटक अझै केही दिन साम्दोमा नै बस्नुपर्ने अवस्था रहेको स्थानीय वीरबहादुर लामाले बताउनुभयो ।

किसान खुसी

बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि हिमपातसँगै पानी परिरहेको छ । लामो समयपछि हिमपात र पानी परेपछि बैतडीका कृषक खुसी भएका छन् ।

गत असोजदेखि बैतडीमा छिटफुट वर्षा भए पनि पर्याप्त पानी नपरेको डिलासैनी गाउँपालिकाका कृषक तिलकबहादुर मालले बताउनुभयो । यस्तै हिउँसँगै लगातार पानी परिरहेकाले चिसो बढेर दैनिक जनजीवनसमेत प्रभावित भएको छ । चिसोका कारण स्थानीय घरबाहिर विरलै निस्किएका छन् । सडक तथा बाटोमा पनि यात्रुको आवागमन कमै छ । बैतडीका कृषकको मुख्य हिउँदे बाली गहुँ पानी नपरेका कारण हुर्कन सकेको थिएन । पानी परेपछि अन्न, फलफूल, जडीबुटी, पशुपालन फस्टाउने मेलौली नगरपालिका–२ का कृषक देवदत्त भट्टले बताउनुभयो ।

हिमपातसँगैको पानीले कृषकलाई ठुलो फाइदा पु-याउने र माटोलाई आवश्यक चिस्यान कायम राख्दै उर्वराशक्ति बढाउने दशरथचन्द नगरपालिका कार्यालयका कृषि प्राविधिक दीपक कार्कीले बताउनुभयो ।

हिउँ पग्लिएपछि माटोमा नाइट्रोजन मिसिने भएकाले बालीलाई आवश्यक पोषण दिन मद्दत पुग्ने र यसले रोग, किरा नियन्त्रणमा पनि सहयोग पु¥याई भूसंरक्षणमा पनि योगदान पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

हिमपात र पानीले नदी, इनार, पोखरी र खेतीयोग्य जग्गामा पानीको मात्रा बढाउँछ । यसले सिँचाइका लागि पर्याप्त पानी उपलब्ध गराउँछ । ढिलो गरेर पानी र हिउँ परे पनि स्याउ, ओखर, गहुँ, जौ, तोरीलगायतका बाली र फलफूल खेतीको उत्पादन राम्रो हुने भएकाले कृषक खुसी भएको सिगास गाउँपालिका–३ का रामचन्द्र ऐरीले बताउनुभयो ।

पानी र हिमपातले माटोको उर्वराशक्ति बढाउने, हानिकारक किरा नियन्त्रण गर्नुका साथै बालीको उत्पादनमा समेत सुधार हुने कृषि ज्ञानकेन्द्र बैतडीका कृषि प्राविधिक महेश पाण्डेले बताउनुभयो । बाजुरा समाचारदाताका अनुसार बाजुरामा वर्षासँगै उच्च स्थानमा हिमपात भएको छ । बिहीबार रातिदेखि पानी पर्दा हिउँदे बाली गहुँ, जौ तथा तरकारीलाई राहत मिलेको छ ।

हिउँमा मरिमेटी लगाएको खेती खडेरीले सुक्न लागेका बेला यसरी पानी परेपछि अहिले यहाँका किसान निकै खुसी भएका छन् ।

गत कात्तिक मङ्सिरमा लगाएको गहुँ बाली सुक्न लागेकै बेला अहिले यसरी पानी परेपछि खेतीमा निकै राहत भएको बुढीनन्दा नगरपालिकाका महिला गोविना सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका खोला किनार नजिकको जमिनलाई त सिँचाइ हुन्छ । त्यो ठाउँको खेतीका लागि त पानी नपरे पनि केही समस्या हुँदैन । पाखो तथा भिरालो ठाउँको जमिनमा भने सधैँ सिँचाइ अभाव हुन्छ ।”

हिउँदमा पानी परेपछि पाखो जमिनमा खेती राम्रो हुन्छ । पानी नपरेपछि भने त्यो खेती खडेरीले त्यत्तिकै सुकिहाल्थ्यो । यतिबेला भने समयमै पानी परेकाले यो वर्ष खेती राम्रो हुन्छ । त्यसैले यो पटक परेको पानीले गहुँ बालीसँगै तरकारी खेतीलाई समेत निकै राहत भएको सार्कीले बताउनुभयो । यहाँका नौ वटै पालिकाका अधिकांश ठाउँमा आकाशको पानीको भरमा हिउँदे खेती लगाउने गरिन्छ । हिउँदको महिनामा पानी प-यो भने त्यो खेती राम्रो हुने गर्छ । खोला किनारका जमिनमा सिँचाइ हुने गरे पनि यहाँको पाखो तथा भिरालो जमिनको खेतीलाई सिँचाइ अभाव हुने गरेको छ ।

गाउँबस्तीमा अनावश्यक रूपमा खनेका सडकले पनि यहाँका अधिकांश पानीका मुहान सुक्दै गएका छन् । केही मुहान भूकम्पका कारण पनि सुकेका छन् भने केही मुहान एक्साभेटरले सडक खन्दा सुकेको यहाँका स्थानीय बताउँछन् ।

अहिले पहिलेको तुलनामा उन्नत गहुँको बिउको प्रयोग बढेकाले गहुँ उत्पादन वृद्वि हुँदै गएको कृषि ज्ञानकेन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख जसिराम साहनीले बताउनुभयो । उहाँले भन्नुभयो, “कुल खेती गरिएको क्षेत्रफलको २० प्रतिशत मात्रै जमिनमा सिँचाइ सुविधा छ भने ८० प्रतिशत जमिनमा अहिले पनि आकासेपानीको भरमा खेती हुने गरेको छ ।”

बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य जमिन छ । यसमध्ये १० हजार ४६० हेक्टर जमिनमा गहुँ खेती गरिन्छ । यसमा १७ हजार ७८२ हेक्टर जमिनमा गहुँ उत्पादन हुन्छ । बाजुरामा पाँच हजार २३५ हेक्टर जमिन मात्र वर्षभरिमा सिँचाइ हुने गरेको निमित्त कार्यालय प्रमुख साहनीले बताउनुभयो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button