मूल खबर

प्लास्टिकको विकल्प बायो झोला

चाँदनी हमाल

काठमाडौँ, असार ४ गते । सहर, बजार, घरखेत जताततै प्लास्टिक प्रदूषणले आक्रान्त बनाइरहेका बेला केही हात प्लास्टिकको विकल्प खोज्न र प्रयोग कम गराउन एकजुट भएका छन् । सरकारले नेपालमा ४० माइक्रोनभन्दा पातला प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । प्लास्टिक झोलाको विकल्प आमनागरिकले पाउन नसकेका बेला धीरज श्रेष्ठले प्लास्टिकको विकल्प दिने प्रयत्न थाल्नुभएको छ । उहाँले इको ¥याप नेपालमार्फत ‘म प्लास्टिक हैन’ नारासहित बायो झोला उत्पादन सुरु गर्नुभएको छ।

उहाँले भन्नुभयो, “झट्ट हेर्दा प्लास्टिकजस्तै देखिन्छ तर प्लास्टिक हैन, बजारका सामानसँगै ठुला फोहोर हाल्न सकिने आकारका बायो झोला हुन् ।” उहाँका अनुसार व्यापक प्रचलित प्लास्टिक झोला कहिल्यै कुहिँदैन । माटो, पानी र वातावरण दूषित बनाएर सयौँ वर्ष रहन्छ । बायो झोला जमिनमा परेको १८० दिनमा कुहिन्छ ।

श्रेष्ठका अनुसार बायो झोला मकै, उखु र आलुको ‘स्टार्च’ (मेसिनबाट बनाइएको धुलो) बाट बनाइएको हुन्छ । बजारमा पाइने प्लास्टिकका जति पनि आकारप्रकारका झोला छन्, तिनै आकारमा बायो झोला पाइन्छ । यी झोला किलोको चार सय रुपियाँमा पाउन सकिन्छ । बजारमा पाइने प्लास्टिक झोला करिब तीन सय ५० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेका छन्, जसले सोझै मानव स्वास्थ्य र प्रकृतिमा दुस्प्रभाव निम्त्याइरहेको छ ।

उहाँले थप्नुभयो, “त्यस्ता झोला विस्थापित गर्ने उद्देश्यसहित बनेको बायो झोला मानव स्वास्थ्य हितकर मात्र हैन, वातावरणमैत्री छ, कार्बन पनि उत्सर्जन गर्दैन ।” सुरुवातमा भाटभटेनी सुपर स्टोरमा प्रयोगका रूपमा बायो झोलाको बिक्री थालिएको छ । यसबाहेक नर्भिक अस्पताल, चिरायु अस्पताल, सोल्टी, म्यारियटलगायतका केही ठुला होटलले पनि बायो झोला लिन थालेका छन्।

बजारीकरण र नीतिगत कडाइ सरकारले गरिदिएमा बायो झोला देशव्यापी गराएर प्लास्टिक झोला विस्थापित गर्न सकिने दाबी उहाँको छ । सरकारले यस वर्षको बजेटमार्फत वातावरणमैत्री उद्योगलाई सहुलियत र अनुदानको घोषणा गरेको छ । सरकारले प्रतिबन्ध लगाए पनि बजारमा १५ देखि २० माइक्रोनका प्लास्टिक प्रयोग भइरहेकाले बायो झोलाले ठाउँ लिन सकेको छैन । अहिले थोरै उत्पादन गरिरहेकाले उत्पादन मूल्य थोरै महँगो परेको श्रेष्ठ बताउनुहुन्छ । जब बायो झोलाले बजार लिन्छ, तब उत्पादन बढेसँगै अहिलेको भन्दा धेरै कममा ग्राहकको हातमा पुग्ने उहाँको भनाइ छ । दैनिक चार टन बायो झोला उत्पादन गर्न सकिने क्षमता उहाँको उद्योगसँग छ ।

प्लास्टिकका झोलाजस्तै गाउँघरमा हुने भोजभतेरमा प्रयोग भइरहेका प्लास्टिकका थाल, प्लेट, चम्चा–काँटा आदि पनि विस्थापित हुनुपर्ने धारणा प्रेरणा डङ्गोल राख्नुहुन्छ । हेल्थ इन्भायरोमेन्ट क्लाइमेट एक्सन फाउन्डेसन (हेक्याप) मार्फत उहाँले देशका विभिन्न स्थानमा प्लास्टिकको विकल्पमा बनेका सामग्री खोजी र प्रवर्धन थाल्नुभएको छ । उहाँले पूर्वी नेपालमा अत्यधिक उत्पादन हुने सुपारीका पातबाट स्थानीयले थालेको उत्पादन थाल, कचौरा, प्लेट, चम्चा आदि प्रवर्धन गर्न सरकारले सघाउनुपर्ने औँल्याउनुभयो। त्यति मात्र होइन, हरेक घरमा प्रयोग हुने प्लास्टिकका सामानको विकल्पमा बाँसको काइँयो, ब्रस, ऐनाको खापा, सौन्दर्य सामग्री राख्ने भाँडा आदिको पनि प्रवर्धन उहाँले थाल्नुभएको छ ।

प्लास्टिकलाई सोझै जमिनमा पुर्नुभन्दा यसको पुनप्र्रयोग पनि प्रवर्धन हुँदै छ । पानीका बोतलबाट बनेका झोला, सुटकेस आदिबारे सचेतना दिने र समुदायलाई यस्ता सामग्री निर्माणमा सघाइरहेको हेक्यापकै श्रम वस्तीले जानकारी दिनुभयो । प्लास्टिक प्रदूषण कम गर्ने उद्देश्यसहित नेपालमा भएका प्रयासको सङ्कलन र प्रवर्धन गर्न देशभरका नगरपालिका र गाउँपालिका गरेर आठ वटासँग सहकार्य गरिएको छ । उहाँले भन्नुभयो, “स्थानीय स्वयम्सेवी र विद्यार्थीलाई परिचालन गर्दै प्लास्टिक प्रदूषण कम गर्न र भएकालाई पुनप्र्रयोग गर्न सघाउँछौँ ।”

अहिले प्लास्टिक पुनर्प्रयोगमा काम गरिरहनुभएका लवराज रिमाल पहिले प्राङ्गारिक मल बनाउनुहुन्थ्यो । गत वर्षदेखि भने रिक्लेम नेपाल नामक कम्पनीबाट फोहोर प्लास्टिकबाट बोर्ड निर्माण गर्न थाल्नुभयो । बजारमा पाइने काठको प्लाइउडको विकल्पमा यसको प्रयोग गरेर विभिन्न प्रकारका फर्निचर बनाउन सकिन्छ ।

उहाँले भन्नुभयो, “मुढा, कुर्सी, टेबल, जुत्ता, पुस्तक राख्ने र्‍याक, अन्य सजावटका सामग्री राख्ने सोकेस बनाउन सकिन्छ ।” अहिले आठ बाई चारको ८० वटा प्लास्टिक प्लाई उत्पादन गरिरहेको उहाँले बताउनुभयो । हेर्दाखेरी मार्बल जस्तो देखिने भएकाले भुइँमा बिछ्याउन पनि सकिन्छ । काठभन्दा सस्तो, टिकाउ र सुन्दरसँगै वातावरण विनाश रोक्न सघाउने गरी प्रशोधन प्रविधि अपनाइएकाले सरकारले बजार प्रवर्धनमा सघाउन सक्ने ठाउँ उहाँ देख्नुहुन्छ ।

जेन्सन महर्जन पनि सहरीजन्य फोहोरमा आधारित काम गर्नुहुन्छ । कीर्तिपुर र शङ्खरापुरमा चाउचाउ, लेज, कुरकुरे आदिका खोल बटुलेर त्यसको पुनर्प्रयोगलाई ध्यान दिइएको छ । उहाँले भन्नुभयो, “एकैचोटि बजारबाट हटाउन सकिन्न, पुनर्प्रयोगका लागि सामग्री बनाउनैपर्छ ।” प्लास्टिकका खोलबाट लामो धागो बनाएपछि कपडा जस्तो बुनेर ढक्की, फूलदानी, भाँडा, चकटी आदि बनाएर बिक्री गरिने गरिएको छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार त्यस्ता प्लास्टिकका सामग्री मानिसको शिरदेखि पाउसम्म र घरदेखि कार्यालयसम्म प्रयोग भइरहेका छन् । तिनको प्रयोग ठप्पै रोक्न सकिने अवस्था एकै पटक हुँदैन तर तिनको विकल्प खोज्दै, प्रयोग कम गर्दै र पुनर्प्रयोग गर्र्र्दै जाँदा त्यसले पुर्‍याएको व्यापक प्रभावलाई न्यूनीकरण गर्न सकिन्छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button