कृषि र किसान

पाँडीका किसानलाई सिमी भित्र्याउने चटारो

हिमाली गाउँपालिकाको पाँडीमा उत्पादन भएको अर्गानिक सिमी । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, कात्तिक १९ गते । बाजुराको हिमाली गाउँपालिकाको पाँडीका किसानलाई सिमी भित्र्याउने चटारो परेको छ । वैशाख, जेठमा पाखो जमिनमा लगाएको सिमी पाकेपछि पानीले भिजाउँछ कि भन्ने डरले उनीहरूलाई भित्र्याउने चटारो परेको हो ।

पछिल्लो समय पाँडीका किसान प्रायः सिमी नै लगाउँछन् । यसलाई दालका रूपमा प्रयोग गरिन्छ । स्वास्थ्यका लागि निकै उपयोगी यो सिमीको माग धेरै बढेकाले किसानले पनि धेरै लगाउन थालेको पाँडीका स्थानीय जुना रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोदोसँगै सिमी पनि पाकेको छ । कात्तिकमा धेरै पानी पर्दा त्यसले भिजाउँछ कि भन्ने डरले अहिले स्थानीयलाई सिमी भित्र्याउन भ्याइनभ्याइ छ ।”

यो अर्गानिक हुन्छ । उहाँका अनुसार भेडाबाख्राको पिसाब र जुतोमा सिमी उत्पादन हुन्छ । त्यसैले यसको माग धेरै बढेको छ । किन्नका लागि पनि अहिले गाउँमै व्यापारी आउने गरेको जुना रोकायाले बताउनुभयो । पाखो जमिनमा धेरै राम्रो फल्ने भएकाले किसानले कोदोसँगै सिमी लगाउने गरेका छन् ।

यहाँको सिमी पहिला फाट्टफुट्ट जिल्लाको मार्तडी बजारसम्म पुग्ने गथ्र्यो । यसलाई कर्मचारी तथा अन्यले किन्थे । अहिले गाउँमा गाडी पुगेपछि जिल्लाबाहिर समेत बिक्री हुने गरेको छ ।

पहिला सिमी कतै बिक्री नहुने भएकाले यहाँका स्थानीय आफूलाई खानका लागि मात्र लगाउँथे । दुर्गम गाउँबस्ती तथा पाँडीको गाउँमै सडक पुगेपछि यहाँका किसानले उत्पादन गरेको यो सिमी देशका विभिन्न ठाउँमा पुग्न थालेपछि पछिल्लो समय सिमी बढी लगाउन थालेका छन् । अहिले यहाँका एक घरपरिवारले झन्डै दुई क्विन्टलभन्दा बढी सिमी उत्पादन गर्ने गरेको स्थानीय रोकायाले बताउनु भयो ।

बाजुरामा सिमीलाई मुख्य दालका रूपमा लिइने गरिन्छ । यहाँ सिमी राम्रो उत्पादन पनि हुन्छ । यसले यहाँका स्थानीयको आर्थिक रूपमा टेवा पुग्ने सम्भावना देखिएकाले यसको राम्रोसँग खेती गर्न किसानलाई उत्प्रेरित गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो । यहाँका हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर र बुढीनन्दालगायतका विभिन्न ठाउँमा सिमी राम्रो उत्पादन हुने गरेको भए पनि कति हेक्टर जमिनमा कति सिमी उत्पादन हुन्छ भन्ने खासै यकिन नभएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button