मूल खबरहेड लाइन

देशलाई छाडातन्त्रमा चलाउन प्रतिनिधि सभा विघटन गरियोः अध्यक्ष ओली

'सिफारिस गर्ने हैसियतनै नभएकाहरुले सिफारिस गरे'

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

बिहीवार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर समेत गर्नुभयो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको बताउनु भयो । संविधान विपरित प्रतिनिधि सभा विघटन गरेकाले आफूहरुले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको अध्यक्ष ओलीको तर्क थियो ।
उहाँले भन्नुभयो,‘यो असंवैधानिक सरकारले प्रतिनिधि सभा किन भंग गरेको हो ? भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो । यो असंवैधानिक ढंगले भंग गरेको छ । सिफारिस गर्ने हैसियतनै नभएकाहरुले सिफारिस गरेको छ । र संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भंग गर्नु भएको छ । गर्नु हुँदैन्थ्यो थियो । त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनस्थापनाको माग गर्दछौ । त्यसका लागि आन्दोलन गर्दछौँ । र अगाडि बढछौँ ।’

अध्यक्ष ओलीले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभुति गराउन पनि आफ्नो पार्टी युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरेको समेत बताउनु भयो ।हिमालय टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button