मूल खबरहेड लाइन

भोटेकोशी हिमबाढी : सुरुङभित्र चामत्कारिक सफलता

रसुवाको भोटेकोशी नदीको बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र थुनिएका सप्तरीका सञ्जय साहलाई नौ दिनपछि शुक्रबार बिहान जीवितै उद्धार गर्दै सुरक्षाकर्मी । सोही सुरुङबाट उद्धार गरिएका काठमाडौं, कीर्तिपुरका कविर महर्जन । तस्बिर : नेपाली सेना

मित्र भण्डारी

काठमाडौँ, भदौ २० गते । भोटेकोशी बाढीले विभिन्न जलविद्युत् आयोजनामा अकल्पनीय क्षति पुर्‍याउँदा १० औँ दिनसम्म सुरुङभित्र फसेकाको उद्धारमा नेपाली सेनासहितको टोलीले चामत्कारिक सफलता प्राप्त गरेको छ ।

खोज तथा उद्धारलाई तीव्रता दिने क्रममा शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सप्तरी तिलाठी कोइलाडी–४ का ३१ वर्षीय सञ्जयकुमार साह र काठमाडौँ, कीर्तिपुरका ४४ वर्षीय कविर महर्जनको जीवितै उद्धार गरिएको हो । दुवै जनालाई हेलिकोप्टरमार्फत काठमाडौँस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याएर उपचार भइरहेको छ । उक्त सुरुङभित्र अझै मानिस जीवितै रहेको हुन सक्ने आशा बढेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङभित्र थप व्यक्ति फसेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै खोज तथा उद्धार थप तीव्र पारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुङभित्रको जीवन उद्धारका लागि हाम्रो प्रयास निरन्तर जारी छ । सबैलाई फेला नपारुन्जेल खोज तथा उद्धार कार्य जारी रहने छ ।” उहाँका अनुसार त्रिशूली–३ ‘ए’ को सुरुङमा नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल नेपालका १८ तथा नेपाल प्रहरी र प्राविधिक विज्ञसहितको संयुक्त टोली परिचालित छ ।

बाढी तथा पहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धारका लागि सेनाका सात तथा निजीक्षेत्रका छ गरी १३ वटा हवाई साधन निरन्तर परिचालन गरिएको छ । उद्धार टोलीले त्रिशूली–३

‘बी’ को सुरुङभित्रका संरचनासम्म पुग्ने प्रयासलाई तीव्र बनाएको छ । त्यहाँ सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोली परिचालन गरिएको छ । आयोजनाको कार्यालय तथा कर्मचारी आवास क्षेत्र पहिचान भइसकेको र त्यहाँ पुग्न एक्साभेटरबाट बाटो बनाउने र बबक्याटको प्रयोग गरी माटो तथा अन्य अवरोध हटाउने कामलाई तीव्रता दिइएको सेनाले जनाएको छ । अडिट–१ बाट सुरुङभित्र ४२६ मिटर प्रवेश गरिएको र एक्स्काभेटर प्रवेश गराई त्रिशूली–३ ‘ए’ सँग ‘लिङ्कअप’ गरी सुरुङभित्र उद्धारका लागि आवश्यक उपकरण पुर्‍याउने प्रयास जारी छ ।

सुरुङभित्र तीन शव फेला

खोज तथा उद्धार टोलीले त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक र लाङटाङ हाइड्रोपावरको सुरुङभित्र दुई जना गरी तीन जनाको शव फेला पारेको जनाइएको छ । निर्माणाधीन लाङटाङ हाइड्रोपावरको सुरुङभित्र पनि खोज तथा उद्धार कार्य जारी रहेको र चिलिमे हाइड्रोपावरको सुरुङमा जमेको लेदो हटाउन विदेशी प्राविधिकसहितको संयुक्त टोलीले जेनेरेटर र ‘मड पम्प’ सुरु गरेका छन् ।

त्यसै गरी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको हाकुस्थित सुरुङमा नेपाली सेनाका १७ जना तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गरिरहेका छन् ।

प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनस्र्थापित गर्न देवीघाटस्थित तादी नदीमा पुल जडानको कामसमेत अघि बढाउन नेपाली सेनाको इन्जिनियरिङ फौजका ५५ जना खटाइएको र पुल जडानका लागि आवश्यक आधार तयार गरिरहेका छन् । देवीघाटस्थित त्रिशूली नदीमा ‘एक्रो ब्रिज’ जडान गरी आवागमन सुचारु गर्ने प्रयास जारी छ ।

उद्धारमा ठुलो जनशक्ति

बाढीबाट प्रभावित क्षेत्रको खोज तथा उद्धार, स्वास्थ्य सेवा, शव व्यवस्थापन तथा सडक सञ्चालनका लागि नेपाली सेनाले ठुलो सङ्ख्यामा जनशक्ति परिचालन गरेको जनाएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वसम्मका प्रभावित क्षेत्रमा नेपाली सेनाका नौ हजार तीन सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालित छन् ।

ती सैनिकले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सुचारु तथा आपत्कालीन उपचारको काम गरिरहेका छन् । प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला तथा बस्तीमा स्थानीयवासीलाई सुरक्षा प्रत्याभूति दिलाउन पैदल गस्तीसमेत सञ्चालन गरिएको छ ।

चिकित्सक अधिकृतसहितका टोलीले प्रभावित तथा उद्धार गरिएका व्यक्तिलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । त्यसै गरी सेनाले बाढीबाट उत्पन्न सङ्कटसँग जुध्न हवाई उद्धारदेखि सुरुङभित्रको जोखिमपूर्ण खोजी, सडक तथा पुल पुनस्र्थापना, शव व्यवस्थापन र स्वास्थ्य उपचारसम्मका काम एकीकृत रूपमा अगाडि बढाइएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button