कृषि र किसानहेड लाइन

किसानलाई आफन्तसँगै पशुधनको पीडा

व्यवस्थापन नभए रोगको जोखिम

बाढीले क्षति पुर्‍याएको नुवाकोटको ढुङ्गे र देघाट ।

केशवराज पौडेल

काठमाडौँ, भदौ २० गते । भोटेकोशी नदीको उग्र भेलले नुवाकोटमा छाडेको घाउ केवल बगेका घर, पुल र सडकमा सीमित छैन । यो विपत्तिले हजारौँ किसानको जीविकोपार्जनको आधार बनेका पशुपन्छीलाई समेत निर्ममतापूर्वक बगाएको छ । बाढी गएको एक सातापछि पनि प्रभावित क्षेत्रका किसान पशुधन गुमाएको पीडा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा छन् ।

नेपाल भेटेरिनरी एसोसिएसनको छ सदस्यीय टोली एक सातासम्म प्रभावित क्षेत्रमा पुगेको थियो । एसोसिएसनका महासचिव डा. शङ्कर न्यौपानेका अनुसार नुवाकोटमा पशु चिकित्सकको टोली पुग्दा खाली गोठ, सुँगुरपालन फार्मका भग्नावशेष मात्र बाँकी थिए । हजारौँ कुखुरा हुर्काइएका व्यावसायिक फार्म माटो र ढुङ्गाको थुप्रोमा परिणत भएको उहाँले बताउनुभयो ।

प्रारम्भिक विवरण अनुसार नुवाकोटमा पाँच सयभन्दा धेरै भैँसी, एक हजार पाँच सय सुँगुर तथा बङ्गुर र एक लाख ५० हजार कुखुरा बाढीले बगाएको छ । तीमध्ये अधिकांश पशुपन्छी बाढीको तीव्र वेगले बगाएकाले जीवित उद्धारको सम्भावना नै नरहेको टोलीको निष्कर्ष रहेको न्यौपानेले बताउनुभयो ।

बर्सौंको लगानी एकै पटकमा समाप्त

विदुर नगरपालिका र त्रिशूलीआसपासका क्षेत्रमा धेरै किसानले ऋण लिएर व्यावसायिक पशुपालन थालेका थिए । उनीहरूका लागि पशुधन केवल सम्पत्ति होइन, परिवारको जीवन धान्ने मुख्य आधार थियो तर केही घण्टाको बाढीले बर्सौंको मेहनत र लगानी समाप्त गरिदिएको हो ।

धेरै किसान अहिले राहत शिविर वा आफन्तको घरमा आश्रित छन् । गोठ छैन, पशु छैन, आम्दानीको स्रोत छैन । यस अवस्थामा उनीहरूलाई तत्काल राहतभन्दा पनि पुनः व्यवसाय सुरु गर्न सहयोगको आवश्यकता देखिएको टोलीले निष्कर्ष निकालेको छ ।

सम्पर्कविहीन बस्ती र उपचारको सङ्कट

बाढीले त्रिशूली नदीमाथिको पुल बगाएपछि नदीपारिका बस्ती पूर्ण रूपमा सम्पर्कविहीन बनेका छन् । त्यहाँ रहेका किसान पशु उपचार सेवाबाट समेत वञ्चित हुने अवस्था सिर्जना भएको छ ।

त्यही क्षेत्रमा कार्यरत भेटेरिनरी चिकित्सक डा. सुजाता अधिकारीसम्म किसानले पशु उपचारका लागि गुहार मागेका थिए । औषधी अभाव भएको सूचना पाएपछि नेपाल भेटेरिनरी एसोसिएसनले जोखिम मोलेर तुइनमार्फत अत्यावश्यक भेटेरिनरी औषधी नदीपारि पठाउने व्यवस्था मिलाएको थियो । यस घटनाले विपत्का बेला पशु स्वास्थ्यसेवा पनि मानव स्वास्थ्यसेवा जत्तिकै महत्वपूर्ण हुने तथ्य उजागर गरेको सो कार्यमा संलग्न पशु चिकित्सक अधिकारीले बताउनुभयो ।

पशुधनको क्षतिसँगै रोगको जोखिम

बाढीले पशुधन नष्ट गरेपछि अर्को ठुलो चुनौती मृत पशुको व्यवस्थापन हो । अधिकारीका अनुसार खुला स्थानमा रहेका पशुका मृत शरीरबाट विभिन्न सङ्क्रामक रोग फैलिने जोखिम रहन्छ । दूषित पानी, दुर्गन्ध र रोगजन्य जीवाणुका कारण मानव स्वास्थ्यसमेत प्रभावित हुन सक्छ ।

राहतभन्दा ठुलो चुनौती पुनर्स्थापना

नेपाल भेटेरिनरी एसोसिएसनले पशुसेवा कार्यालय नुवाकोटलाई औषधी तथा फिड सप्लिमेन्ट हस्तान्तरण गरेको छ भने विदुर नगरपालिकामार्फत बाढीपीडितका लागि खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराएको छ तर राहतले मात्र समस्या समाधान हुने अवस्था छैन । नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले पशुधन गुमाएका किसानलाई सहुलियत ऋण, अनुदानमा पशु वितरण, पशु बिमा दाबीको सहजीकरण, निःशुल्क स्वास्थ्यसेवा तथा व्यवसाय पुनस्र्थापना कार्यक्रम आवश्यक रहेको औँल्याउनुयो । त्यसो गर्न सकिएन भने हजारौँ परिवार गरिबीको चक्रमा फस्न सक्ने खतरा बढाएको उहाँले स्पष्ट पार्नुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button