खबरहेड लाइन

भारतको निर्णयले खानेतेलको निर्यात घट्ने चिन्ता

विराटनगर, असोज ९ गते । भारतमा तयारी र कच्चा दुवै प्रकारको खानेतेलको आयात महसुलमा परिवर्तन गरिएको छ । तेस्रो मुलुकबाट कच्चा आयात गरेर प्रशोधनपछि तयारी खानेतेल भारत निर्यात गर्दै आएका नेपाली उद्योगीलाई भारतको यस्तो परिवर्तनले ठुलो असर पार्ने भन्दै चिन्ता गरिएको छ । उद्योगीले नेपालको निर्यातदेखि रोजगारीसम्ममा असर पार्ने चिन्ता गरेका हुन् ।

कच्चा पदार्थ वा कच्चा तेल आयात गर्दा नेपाल उद्योगीले भन्सार महसुल बुझाउँछन् । त्यो कच्चा प्रशोधन गरेर निर्यात गर्दा पहिले बुझाएको महसुल फिर्ता पाउँदै आएका छन् ।

साफ्टा अन्तर्गत भारतमा तेलको निर्यात शून्य प्रतिशत भन्सार महसुलमा भइरहेको छ । यो सहुलियत पाइरहेका उद्योगीका लागि भारतले कच्चा तेलको महसुल १६.५ बाट ११.५ मा झारेपछि भने प्रतिस्पर्धा गर्न नसक्ने स्थितिमा पुगेको पशुपति खाद्य तेल उद्योग प्रालिका निर्देशक अमित शारडाले बताउनुभयो । उहाँका अनुसार प्रतिस्पर्धा गर्न नसक्ने स्थिति हुँदा उत्पादन नै ३० प्रतिशतमा झर्न सक्ने छ, जसको असर रोजगारीमा समेत पर्ने छ ।

“भारतमा यसअघि कच्चा तेलको आयात महसुल १६.५ प्रतिशत रहेको थियो । त्यही दर हुँदासमेत नेपालबाट निर्यातमा असर थियो,” उद्योगी शारडाले भन्नुभयो, “उनीहरूले क्रुड आयल धेरै खरिद गर्ने क्षमता राख्छन् । कम मूल्यमा पाउँछन् । ढुवानीमा उनीहरूका लागि बहुविकल्प र सस्तो छ । नेपालमा ढुवानी खर्च बढी पर्छ ।”

भारतमा महँगी बढेपछि नागरिकलाई राहत दिनका लागि पाँच प्रकारका तेलको महसुल घटाइएको हो । उद्योगी शारडाका अनुसार बुधबार यसको जानकारी सरकारले दिइसकेको छ ।

क्वालिटी रिफाइनरीका तेल उद्योगका सञ्चालक विपिन काबराका अनुसार भारतमा आएको आयात महसुलको फेरबदलले नेपालको निर्यात प्रणालीसहित अन्य बहुक्षेत्रमा असर पर्ने छ । भारतले पाँच प्रकारको तेलको महसुल घटाउँदा भटमास र पामको कच्चा तेलको पाँच प्रतिशत कमी हुँदै ११.५ मा झारेको छ ।

त्यस्तै सूर्यमुखीको कच्चा तेलको महसुल १० प्रतिशत कम गर्दै ५.५ मा झारिएको छ । काबराका अनुसार नेपालमा भटमास, पाम र सूर्यमुखीको कच्चा तेलको महसुल १० प्रतिशत छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button