फिल्मीखबर, काठमाण्डौ
नेपाली फिल्मका ब्रान्ड अभिनेता विराज भट्ट ४ वर्षपछि नेपाली फिल्ममा पुनरागमन गर्दैछन् । भोजपुरी फिल्ममा झण्डै ७ वर्ष एकछत्र राज गरेका उनले ४ वर्ष अगाडि रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । तर, यो फिल्म असफल भएपछि उनी फेरि लामो समय हराए । कतिपयले उनी अब नफर्किने अड्कल नकाटेका होइनन् ।
विस्तारै भोजपुरी फिल्मबाट टाढिँदै गएका अभिनेता विराजले चार वर्षपछि आफ्नै निर्माण, अभिनय र निर्देशनमा फिल्म ‘साङ्लो’ बनाएका छन्। उनले पहिलो पटक निर्देशन गरेका कारण पनि यो फिल्म दर्शकमाझ प्रतिक्षीत छ । माघ २४ गते प्रदर्शन हुने फिल्ममा उनले पूर्व मिस नेपाल निकिता चाण्डकसँग रोमान्स गरेका छन् । शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।
फिल्ममा प्रकाश शाह, कामेश्वर चौरासिया, आरपी पन्त, जयनन्द लामा, शिशिर भण्डारीलगायतका कलाकारहरुको पनि अभिनय छ । किड्नी तस्करीको कथा उठाइएको फिल्मको ट्रेलरमा अभिनेता विराजको एक्सनलाई प्राथमिकता दिइएको छ । ट्रेलरमा उनको एक्सन हेर्दा फिल्मले सिंगल थिएटरमा धूम मच्चाउने देखिन्छ । फिल्ममा श्री श्रेष्ठले एक्सन कोरियोग्राफी गरेका छन् ।
फिल्मको ट्रेलर रिलिज कार्यक्रममा बरिष्ठ गायक तथा कलाकार जयनन्द लामाले अभिनेता विराज भट्टलाई ‘महान् कलाकार’ को रुपमा सम्बोधन गरे । उनले आफू केही समय अगाडि काम विशेषले बम्बईमा बस्दाको क्षण सम्झँदै भने- ‘म बम्बईमा घुम्न निस्कँदा अघिल्लो दिन हलहरुमा अमिताभ बच्चनको फिल्मको पोस्टरहरु झुण्डिरहेको थियो । अर्को दिन जाँदा विराज भट्टको पोस्टर झुण्डिएको थियो । त्यसबेला मेरो आँखाबाट आँशु झरेको थियो ।’
विदेशी भूमिमा पनि आफ्नो पहिचान बनाउन सफल भएकोमा विराजप्रति गर्व महशुस हुने उनी बताउँछन् । उनले अगाडि थपे- ‘विराज भट्ट जस्तो ‘महान् कलाकार’ सँग ‘साङ्लो’ मा काम गर्न पाउँदा म निकै खुसी छु ।’ यो फिल्ममा उनी अभिनेता विराजको मामाको भूमिकामा छन् । फिल्मका कलाकार द्वय कामेश्वर र प्रकाशले पनि आफू विराज भट्टको ठूलो फ्यान रहेको बताए ।



