मूल खबर

झापाली कम्युनिष्ट आन्दोलनका योद्धा तथा सभाषद् धर्मप्रसाद घिमिरेको भारतमा दुर्घटनामा परि निधन

मेचीनगर । झापाली कम्युनिष्ट आन्दोलनका योद्धाका रुपमा परिचित पुराना कम्युनिष्ट नेता तथा संविधानसभा सदस्य धर्मप्रसाद घिमिरे भारतको पश्चिम बङ्गाल राज्यको बागडोग्रामा मृत भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मंगलवार बिहानी पख बागडोग्राको प्रहरी कार्यालयभन्दा ३ किलोमिटर पश्चिम एसियन हाइवेमा उनलाई मृत अवस्थामा भारतीय प्रहरीले फेला पारेको हो ।

झापा मेचीनगर नगरपालिका वडा न १३ दुहागढी घर भएका उनी विगत केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको घिमिरेको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजिकैको चारआली बजार जान्छु भनी घरबाट बाहिरिएका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए । परिवारले उनको खोजी गरिरहेको थियो ।

उनको शब बागडोग्रा मेडिकल कलेजमा राखिएको र नेपालबाट गएर मृतकका भाइ नरेन्द्र घिमिरेले शब पहिचान गरेको थाहा भएको छ । भारतको शिलिगुढीबाट संचालित शिलगुढी टाइम्स अनलाइनमा समेत यो खबर प्रकाशित भएको थियो तर शबको पुष्टि हुन नसकेको बताईएको थियो । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार उक्त शब घिमिरेको भएको बताईएको छ ।

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेका ७५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा माओबादीका तर्फबाट सभासद्मा निर्वाचित भएका थिए । उनले झापा विद्रोहपछि पक्राउ परी ९ वर्ष चरम यातनासहित जेलको सजाय भोगेका थिए भने उनी चर्चित नख्खु जेलब्रेक गर्नेहरुमा एक थिए ।

मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् । नेकपा मेचीनगरका अध्यक्ष माधव अर्यालले संविधानसभा सदस्य घिमिरेको असामयिक निधन भएको पुष्टि भएको र शबलाई नेपाल ल्याउन परिवारका सदस्यहरु भारत गइसकेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button