
काठमाडौँ । आजका प्रमुख राष्ट्रिय दैनिकहरुमा प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थादेखि कोरोनाभाइरसको सन्त्राससम्मका समाचारले प्राथमिकता पाएका छन् ।
मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य अघि बढाइको कान्तिपुर दैनिकमा समाचार छ । विश्वको सर्वाधिक पुरानो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रुपमा हेरिने मिस वर्ल्डको पछिल्लो ६९ औँ संस्करण बेलायतमा भएको थियो । नेपालमा आयोजनाका लागि पहिलो चरणको छलफल गर्न बिहीबार मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेसहितको टोली काठमाडौँ आइपुगेको छ । अध्यक्ष जुलिया, मिस वर्ल्ड सिंहले बिहीबार नै पर्यटनमन्त्री योगेश भट्टराईसँग कार्यक्रम आयोजनाका लागि प्रारम्भिक छलफल अघि बढाएका छन् । ‘संसारकै सुन्दरीहरुको सुन्दर प्रतियोगिता संसारकै सुन्दर देशहरुमध्येको सुन्दर नेपालमा गर्न हाम्रो तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ छलफलमा मन्त्री भट्टराईले आश्वस्त पारेका थिए । नेपाली सारीमा उपस्थित भएकी अध्यक्ष मार्लेले मन्त्रीको आश्वासनपछि उत्साहित भएको बताएकी थिइन् । उनले प्रतियोगिता गर्न नेपालले उपलब्ध गारउने सक्ने स्रोतसाधन र सुरक्षाबारेमा चासो रोखेकी थिइन् । त्यसो त मिस वर्ल्डले यसअघि नै ७० औँ वार्षिकोत्सवसहितको प्रतियोगिता थाइल्याण्डमा हुन सक्ने घोषणा गरेको थियो ।

नेपालमा मिर्गौला दान गर्नेमा पुरुषभन्दा महिला अगाडि रहेको नागरिक दैनिकमा समाचार छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुवैपटक मिर्गौला दान गर्ने पनि महिला हुन्। ओलीलाई पहिलोपटक भाइबुहारी पर्ने अन्जन घिमिरे ओलीले मिर्गौला दिएकी थिइन्। प्रधानमन्त्री ओलीलाई दोस्रोपटक मिर्गौला दान गर्ने पनि समीक्षा संगौला ज्ञवाली हुन्। त्रिवि शिक्षण अस्पतालको तथ्यांक अनुसार मिर्गौला दिनेमा महिला बढी छन् भने लिनेमा पुरुष बढी। यो अस्पतालमा प्रधानमन्त्री ओलीसहित ६ सय १४ जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ। जसमध्ये ६५ प्रतिशत पुरुष छन्। मिर्गौला दान गर्नेमा ७० प्रतिशत महिला रहेको अस्पतालको तथ्यांकले देखाउँछ। मिर्गौ प्रत्यारोपण हुने वीर अस्पताल र धर्मभक्त मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि मिर्गौला दाता महिला नै बढी भएको पाइएको छ। अन्तर्राष्ट्रिय एक जर्नलका अनुसार भारत, पाकिस्तान तथा दक्षिण एसियाली राष्ट्रमा समेत महिला मिर्गौला दाता नै बढी छन्। ती राष्ट्रमा पनि ७० प्रतिशत मिर्गौला दाता महिला छन्। चिकित्सकका अनुसार दक्षिण एसियाली देशको तुलनामा विकसित तथा पश्चिमा राष्ट्रमा भने महिला मिर्गौला दाताको संख्या कम छ। नेपाल तथा दक्षिण एसियामा महिला मिर्गौला दाता बढी हुनुको पछि सामाजिक मनोविज्ञान तथा पितृसत्तात्मक समाज कारक रहेको त्रिवि शिक्षण अस्पतालका नेफोलोजी विभाग प्रमुख तथा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाह बताउँछिन्।

स्वास्थ्य मन्त्रालयको व्यवस्थापन महाशाखाले मास्क खरिदका लागि आह्वान गरेको टेन्डरसमेत रद्द भएकोनयाँ पत्रिका दैनिकमा समाचार छ । एन ९५ मास्क खरिदका लागि महाशाखाले खुलाएको टेन्डरमा १० कम्पनीले प्रस्ताव हालेका थिए । विगतमै किनेको दरमा प्रतिगोटा तीन सय रुपैयाँ राखेर टेन्डर खोलिएको थियो । तर, कम्पनीहरूले प्रतिगोटा चार सय ५० रुपैयाँको दररेट प्रस्ताव गरेपछि टेन्डर रद्द भएको व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेलले बताए । ‘विगतका वर्षमा झैँ प्रतिगोटा तीन सयको दररेट राखेर टेन्डर आह्वान भएको थियो,’ डोटेलले भने, ‘तर, कम्पनीहरूले चार सय ५० को दरले प्रस्ताव हालेपछि टेन्डर रद्द भएको छ । अब स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दर बढाएर मास्कलगायत अन्य अत्यावश्यक उपकरणको पुनः टेन्डर खुलाउने तयारी छ ।’ स्वास्थ्यसचिव यादव कोइरालाले भने अहिल्यै कोरोनाबाट आत्तिनुपर्ने अवस्था नभएको बताए । ‘रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई मात्रै यसले बढी असर गरेको छ । व्यक्ति स्वयं सुरक्षित भए भाइरसबाट जोगिन सकिन्छ,’ उनले भने, ‘मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।’ कोइरालाले निजी अस्पतालहरू नर्भिक, नेपाल मेडिसिटी, ग्रान्डी, वयोधालगायतलाई पाँचदेखि सातवटासम्म भेन्टिलेटरसहितको आइसोलेसन वार्ड छुट्याउन निर्देशन दिएका छन् । यसैबीच, कोरोना भाइरस नियन्त्रणको पूर्वतयारीअन्तर्गत १५ सय फिजिकल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई)को व्यवस्था गर्न सरकारलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओले) भनेको छ । डब्लुएचओले शरीर ढाक्ने सुरक्षित लुगा, विशेष चस्मा, भाइरस फिल्टर गर्ने मास्क, पन्जालगायतको सूची नै बनाएर सरकारलाई बुझाएको छ ।

कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ धकेलिएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ। यही रफ्तारमा कोरोना प्रकोप बढ्दै जाने हो भने चाँडै मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी अधिकारीहरूको छ। बिहीबार बिहानसम्म संसारका ८४ मुलुकमा संक्रमण फेला परेको छ। झन्डै ९६ हजारमा संक्रमण देखिएकोमा ५३ हजार ७ सय जनालाई निको भएको समाचार एजेन्सीहरूले जनाएका छन्। मृत्यु हुनेको संख्या तीन हजार ३ सय हाराहारीमा पुगेको छ। अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वृद्धिको मार्गप्रशस्त हुनै लागेका बेला बाह्य चुनौती सामना गर्नुपरेको बताएका छन्। राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले कोरोनाका कारण मूल्यवृद्धिमा चाप पर्ने बताए। ‘हामीले कोरोनाको प्रभाव कम गर्न पर्यटनलगायत क्षेत्रमा बैंक ऋणको पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने सुविधा दिएका छौं,’ उनले भने। राष्ट्र बैंकले तीन दिनअघि सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा यस्तो सुविधा दिने उल्लेख छ। यस्ता सामान्य समाधानबाट चुनौती सामना गर्न ‘असम्भव’ रहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। औषधि, खाद्यान्न, ऊर्जा, लत्ताकपडाजस्ता अत्यावश्यक वस्तुमा परनिर्भर नेपाली अर्थतन्त्र नयाँ संकटबाट प्रभावित हुने अनुमान अर्थशास्त्रीको छ। अधिकांश ठूला होटेलको ‘अक्युपेन्सी’ दर १५ प्रतिशतभन्दा कम रहेको पर्यटन व्यवसायीले बताएका छन्। यसको मतलब सय जना क्षमताको होटेलमा १५ जना पनि छैनन्। यसको असर रोजगारी, उपभोग्य वस्तु र बैंकको ऋणमा पर्छ। ट्राभल कम्पनी र वायुसेवा कम्पनीले सेवा र कर्मचारी कटौती गर्नुपर्ने अवस्था आएको बताएका छन्।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि तंग्रिदै गरेका प्रधानमन्त्री केपी शर्मा ओली निकै भलाद्मी बिरामी रहेको निजी चिकित्सक दिव्या सिंह शाहले बताएको कान्तिपुर दैनिकमा समाचार छन् । मिर्गौला प्रत्यारोपण सफल भएकाले निकै हर्षित मुद्रामा देखिएकी डा. शाहले बिरामीका रुपमा प्रधानमन्त्री सहज र ज्ञानी स्वभाव पनि सफलताको कारण रहेको दाबी गरिन् । उनले प्रधानमन्त्री ओलीको कहिल्यै निराश नहुने स्वभावले पनि सम्पूर्ण उपचार प्रक्रियामा थप बल पुगेको बताइन् । ‘उहाँको १२ वर्षअघि पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो, त्यसैले अहिले दोस्रोपटक पनि गर्नु आफैमा चुनौतीपूर्ण कार्य थियो,’ उनले भनिन्, ‘हामीले उहाँलाई धेरै महिनाअघिदेखि प्रत्यारोपणका लागि तयार गर्न थालेका थियौँ किनकि दोस्रो पटक प्रत्यारोपण गर्दा शल्यक्रिया टेबुलमै पनि उहाँको शरीरले नयाँ मिर्गौलालाई रिजेक्ट गर्ने जोखिम थियो । तर, हामी सबैको सामूहिक मिहिनेतले सफलता मिलेको छ ।’
मन्त्रिपरिषद्को आइतबारको बैठकले चीनका लागि नेपालका राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ। कार्यकाल पूरा हुनुअगावै फिर्ता बोलाइएका पौडेलको ठाउँमा पूर्वपरराष्ट्रमन्त्री एवं नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई पठाउन लागेको सरकारी स्रोतले जनाएको छ। पूर्वमुख्य सचिव पौडेललाई पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन सरकारले २०७३ मा राजदूत बनाएर चीन पठाएको थियो। पौडेललाई एकाएक फिर्ता बोलाउनुको पछाडि कतिपयले नेकपाका दुई अध्यक्षबीचको राजनीतिक प्रतिशोध भनी अथ्र्याउने गरेका छन्। कतिपयले यो निर्णयलाई ललितानिवास जग्गा हिनामिना प्रकरणसँग जोडेर हेर्ने गरेका छन्। नागरिक दैनिकमा समाचार छ । उक्त प्रकरणसँग जोडिएको भन्दै पौडेलसहित अन्य केहीमाथि हाल अनुसन्धान भइरहेको नेपाल प्रहरीको सिआइबी स्रोतले जनाएको छ। चीनमा रहँदा दुई देशबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई फिर्ता बोलाउनुपर्ने खास कारण ललितानिवास जग्गा हिनामिना प्रकरण नै रहेको नेकपा स्रोतले बताएको छ। परराष्ट्र मन्त्रालय स्रोतले पनि ललितानिवास जग्गा हिनामिना प्रकरणमा जोडिएकैले पौडेललाई फिर्ता बोलाउनुपरेको दाबी गरेको छ। ‘उहाँले गरिरहेको कामबाट सरकार असन्तुष्ट हुनुपर्ने वा प्रतिशोध साध्नुपर्ने अवस्था देखिँदैन,’ मन्त्रालय स्रोतले भन्यो, ‘अन्य कारणले उहाँलाई फिर्ता बोलाइएको हो।’



