काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी इस्टर्न रिजन टि२० प्रतियोगितामा आफ्नो अन्तिम खेलमा आज सिंगापुरसँग खेल्दै छ । खेल बिहान ८ः१५ मा थाईल्यान्डको बैंकक स्थित टेर्डथाई क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल सिंगापुरसँग खेल्नु अघि नै एसिया कप यात्राबाट बाहिरिएको छ । यता सिंगापुर भने तीनै खेल जित्दै शीर्ष स्थानमा रहेर आगमी अगष्टमा मलेसियामा हुने एसिया कप छनोटको लागि स्थान पक्का गरेको छ । सिंगापुर आज नेपाललाई हराउँदै उपाधि जित्ने रणनितीका साथ मैदान प्रवेश गर्ने छ । प्रतियोगिताबाट बाहिरिएको नेपाल सुखद अन्य गर्ने सोचमा छ ।
नेपाल मलेसियासँग २२, हङकङसँग ४३ रनले पराजित हुँदा थाईल्यान्डलाई ९ विकेटले हराएको थियो । यता सिंगापुरले मलेसियालाई १ सय २८ रन , थाईल्यान्डलाई ४३ रन र हङकङलाई १६ रनले पराजित गरेको थियो ।
थाईल्यान्डलाई हराउन युवा ब्याट्सम्यान कुशल मल्ल ३६ रनमा अविजित रहेका थिए । जुन नेपालको लागि ओपनिङको सकरात्मक पक्ष्य हो । पारस खड्का भने लगातार दोहोरो अंकमा रन बनाउन सकि रहेका छैनन् । सेप्टेम्बरमा त्रिकोणात्कम सिरिजमा पारसले सिंगापुरुविरुद्ध १ सय ५२ रनको विजयी लक्ष्य पक्ष्याउने क्रममा ५२ बलमा ९ छक्का र ७ चौका सहित १ सय ६ रनमा अविजित रहँदै विश्व कीर्तिमान कायम गरेका थिए । आज पारसबाट त्यस्तै प्रर्दशनको आशा गरिएको छ । पारस हङकङसँग ४, मलेसिया र थाईल्यान्डसँग ९-९ रनमा आउट भएका थिए ।
त्यस्तै सुुरुवाती दुई खेलमा खराब प्रर्दशन गरेका दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र विनोद भण्डारीलाई पनि राम्रो ब्याटिङ गर्नै पर्ने दबाब छ । थाईल्यान्डसँगको प्रर्दशन हेर्दा नेपालले आज टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा युवा तीब्र गतिका बलर किशोर महतो र ब्याट्सम्यान सन्दीप जोरालाई मौका दिन सक्छ ।
यता सिंगापुर नेपालसँग झिनो अन्तरले पराजित भएपनि नेट रन रेटको आधारमा च्याम्पियन बन्ने सम्भावना छ । त्यस्तै अर्को खेलमा हङकङ र मलेसिया भिड्दै छन् । जसको विजेता दोस्रो स्थानमा रहँदै एसिया कप छनोटमा पुग्ने छ ।
टिम डेविड, सिद्धान्त, अनन्त कृष्ण, जनकप्रकाश, सुरेन्द्रन चन्द्रमोहन र मनप्रित सिंह सिंगापुरका प्रमुख खेलाडी हुन् । टिम डेविडले मलेसियासँग ३२ बलमा ९ चौका र ७ छक्का सहित ९२ रनको विश्फोटक इनिङ खेल्दा हङकङसँग ५८ रन जोडेका थिए । टिम डेविडले नेपालविरुद्ध २ टि ट्वान्टी खेल खेल्दा दुबैमा उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले एसिया विश्पकप टि ट्वान्टी छनोटमा ७७ रन र त्रिकोणात्मक सिरिजमा ६४ रनको अविजित इनिङ खेलेका थिए ।
बिग ब्यास लिग पर्थ स्कोचर्सबाट खेल्ने टिम डेविड नेपाललाई सर्वाधिक घातक बन्न सक्ने खेलाडी हुन् । लेग स्पिनर अनन्त कृष्णले जारी इस्टर्न रिजनमा ३ खेलमा ८ विकेट लिएका छन् । ओपनर सिद्धान्तले ३ खेलमा १ सय ५३ रन जोड्दै शीर्ष स्थानमा छन् । नेपाल गत जुलाईमा सिंगापुरसँग आईसीसी एसिया रिजन छनोटमा ८२ रनले पराजित हुँदै बाहिरिएको थियो । त्यस्तै सेप्टेम्बरमा भने नेपालले सिंगापुरलाई त्रिकोणात्मक सिरिजमा ९ विकेटले हराएको थियो ।



