स्वास्थ्य

कोरोना भाइरस : ध्यान नदिइएका ११ महत्वपूर्ण विषय

कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वका १ सय ४९ राष्ट्रमा फैलिइसकेको छ। कोरोनाको संक्रमणबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा संसारभर धेरै बहस र छलफल भइरहेका छन्।

सार्सको तुलनामा कोरोना भाइरसबाट हुने मृत्युदर निकै कम छ। तर यो भाइरस निकै छिटो गतिमा फैलिने हुनाले जोखिम पनि धेरै छ। अहिलेसम्म कोरोनाको उपचारका लागि कुनै विशेष औषधि निर्माण भइसकेको छैन। तर सही उपाय अपनाउन सकियो भने यसको संक्रमणबाट बच्न सकिन्छ ।

अहिले सामाजिक सञ्जालमा कोरोनाबाट बच्ने उपाय र जानकारी प्रत्येक घन्टा आइरहेको हुन्छ। जसमा मेडिकल र गैरमेडिकल, सही र भ्रामक दुवैथरीका जानकारी मिसिएको पाइन्छ। जस्तैः
– साबुन–पानीले हात कति समयसम्म धुने र कुन साबुन प्रयोग गर्ने?
– अल्कोहलमा आधारित ह्यान्ड स्यानिटाइजर कति पटक प्रयोग गर्ने?
– सार्वजनिक भीडभाडलाई बेवास्ता गरौं तर नजिक या खुला भीडभाड?
– हाच्छ्यिुँ गर्दा नाक र मुख छोपेर गर्नुपर्छ तर त्यो भाइरस या किटाणु कपडाको अन्य भागमा सक्रिय हुन्छ?
– लक्षण देखिए तत्काल चिकित्सकलाई देखाउनुपर्छ तर विशेषगरी कुन?
– मास्कको प्रयोगः कस्तो प्रकारको मास्क र कसरी नष्ट गर्ने?
– हात नमिलाऔं

यी सब उपायहरु व्यक्तिगत आधारमा दिइएका छन्। तर स्पष्ट रुपमा भने कतै पनि सन्देश या जानकारी दिइएको छैन। साबुन–पानीले हात धुने भन्छौं तर कति समयसम्म धुने, मास्कको प्रयोग सही तरिकाले कसरी गर्ने लगायत विषयमा सामाजिक सञ्जालमा आएका जानकारीहरु स्पष्ट रुपमा प्रस्तुत गरिएको हुँदैन। जसले गर्दा मानिस झन् अन्योलमा पर्छन्। तर पनि यी विषयहरु सामाजिक सञ्जालमा आइरहेका छन्।

मानिस केही हदसम्म सचेत पनि भइरहेका छन्। तर केही यस्ता विषयहरु छन्, जुन बाहिर आएका छैनन्। कसैले ध्यान दिएका पनि छैनन् तर निकै महत्वपूर्ण छन्।

१. एटिएम मेसिनको किप्याडः दैनिक सयौं मानिसले एटिएम मेसिनको प्रयोग गर्छन्। प्रयोग गर्ने सबै मानिस स्वस्थ हुन्छन् भन्ने छैन। जसले गर्दा विभिन्न संक्रमणको जोखिम रहन्छ। तर पनि हामीले यो विषयमा खासै ध्यान दिएका छैनौं।

२. लिफ्टको प्रयोगः होटल, बैंक, अस्पताल, मल्स लगायत व्यावसायिक क्षेत्रमा दैनिक सयौं मानिसले लिफ्टको प्रयोग गर्छन्। जसबाट पनि विभिन्न संक्रमण फैलने खतरा हुन्छ। त्यसैले लिफ्टको सरसफाइमा ध्यान दिनुपर्छ।

३. सार्वजनिक किबोर्ड र माउसः सिफ्टमा काम गर्ने कार्यालयमा मात्र सार्वजनिक किबोर्ड र माउसको प्रयोग गर्नुपर्छ। सबैले एउटै किबोर्ड र माउस प्रयोग गर्नबाट जोगिनुपर्छ।

४. मास्कको प्रयोगः मास्कको प्रयोगले विभिन्न संक्रमणबाट बचाउँछ। मास्कको सही प्रयोग र नष्ट गर्ने तरिकाबारे सचेत रहन आवश्यक छ। किनभने भाइरस १० देखि १२ घन्टासम्म सक्रिय रहन्छ। यसको लागि कुनै उचित जानकारी तथा शिक्षा दिइएको पाइँदैन।

५. सिनेमा हलः सिनेमा हल भित्रको हावा ताजा हुँदैन। त्यो कहिले धुलो र संक्रमणयुक्त हुन्छ। एउटै हलभित्र स्वस्थ र अस्वस्थ व्यक्ति दुवै प्रवेश गर्छन्। जुन श्वासप्रश्वासको माध्यमबाट संक्रमण हुने सम्भावना बढेर जान्छ। हलभित्र राखिएका कुर्सी पनि संक्रमणको कारण बन्न सक्छन्।

६. ढोकाको ह्यान्डलः ढोकाको ह्यान्डलबाट पनि संक्रमणको जोखिम सधैं रहन्छ। विशेषगरी सार्वजिक स्थान जस्तो होटल, बैंक, अस्पताल, मल्स, विद्यालय, मन्त्रालय, व्यावसायिक क्षेत्रमा प्रयोग हुने ढोकाको ह्यान्डल सधैं सफा राख्नुपर्छ।

७. आवश्यक मेडिकल छुट्टीः रुघाखोकीको जस्तो लक्षण देखिएका व्यक्ति बिदामा रहनुपर्छ। किनभने उसले कार्यालयमा भएका अन्य कर्मचारीलाई संक्रमण फैलाउन सक्छ। चिकित्सकले स्वीकृति नदिएसम्म संक्रमित व्यक्ति कार्यालयमा जानु हुँदैन।

८. पिउने पानीः सार्वजनिक स्थानमा राखिएका पिउने पानीको जग, गिलास, बोतल प्रयोग गर्नु पनि संक्रमणको कारण बन्न सक्छ। यसले विभिन्न संक्रमणदेखि सरुवा रोग सार्ने ठूलो जोखिम हुन्छ। त्यसैले सकेसम्म हरेकले व्यक्तिगत रुपमा पानीको गिलास र बोतल प्रयोग गर्नुपर्छ।

९. सार्वजनिक सवारी साधनः सार्वजनिक सवारी साधनमा स्वस्थ र अस्वस्थ दुवै व्यक्तिले यात्रा गर्छन्। जसले गर्दा संक्रमण फैलने जोखिम बढ्छ। सरकारले संक्रमित व्यक्तिलाई छुट्टै यात्रा गर्ने व्यवस्था मिलाउन सके जोखिम घटेर जान्छ।

१०. नोट/पैसाको प्रयोगः सकेसम्म नोटबाट कारोबार गर्नु हुँदैन। एटिएम कार्ड, चेक जस्ता नोटको प्रयोग नहुने काम गरे संक्रमणबाट बच्न सकिन्छ।

११. सार्वजनिक शौचालयः अधिकांश सार्वजनिक शौचालयमा साबुन र पानीको व्यवस्था गरिएको हुँदैन। यदि संक्रमित व्यक्तिले शौचालय प्रयोग गरेपछि सफा गरिएन भने त्यसबाट अन्य व्यक्तिमा संक्रमण फैलिने सम्भावना हुन्छ।

(चौधरी बयोधा अस्पतालका कार्यकारी निर्देशक हुन्)swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button