स्वास्थ्य

बिपी प्रतिष्ठान धरान, वीर र धुलिखेल अस्पतालमा तीन दिनभित्र कोरोना परीक्षण सेवा सुरु हुने

जनस्वास्थ्य प्रयोगशालामा २० हजार जनाको परीक्षण तयारी

कल्पना पौडेल

काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड १९)को परीक्षण दायरालाई बढाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षणको व्यवस्थालाई उपत्यकाबाहिर पनि विस्तार गर्न लागेको हो।

मन्त्रालयमा शुक्रबार भएको छलफलपछि उपत्यकाबाहिर धुलिखेल अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र काठमाडौंमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित वीर अस्पतालमा पनि परीक्षण सेवा सुरु गर्ने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिपी प्रतिष्ठान, वीर र धुलिखेल अस्पतालले तीन दिनभित्र सेवा सुरु गरिसक्ने गरी तयारी अगाडि बढाइसकेको जानकारी दिए।

‘उहाँहरुले तीन दिनभित्र परीक्षण सेवा सुरु गर्ने जानकारी दिनुभएको छ,’ उनले भने, ‘यसका साथै जनस्वास्थ्य प्रयोगशालामा पनि आवश्यक किटको संख्या थप गर्ने निर्णय भएको छ।’

अहिलेसम्म कोरोना भाइरसको आशंका लागेका मानिसहरुको नमुना परीक्षण टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्र हुँदै आइरहेको छ। हालसम्म प्रयोगशालाले ५ सय ४६ जनाको नमुना परीक्षण गरेको छ।
अब उक्त प्रयोगशालालाई २० हजार जनाको नमुना परीक्षण गर्नसक्ने गरी तयारी आवस्थामा राख्ने निर्णय भएको छ।

यसका साथै, कोभिड १९ को शांस्पद व्यक्तिहरुको परीक्षणको लागि नमूना संकलन गर्ने, अन्य प्रयोगशालामा नमुना पठाउँदा पु¥याउनुपर्ने विधि लगायतका विषयमा समन्वय गर्ने प्रयोजनका लागि सबै अस्पतालहरुले प्रयोगशालासँग सम्बन्धित एकजना व्यक्तिहरुलाई फोकन पर्सनका रुपमा तोकी उनीहरुको नाम, फोन नम्बर लगायतका विवरण तीन दिनभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनु पर्ने निर्णय पनि मन्त्रालयले गरेको छ।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button