कला

पुष्पलाई मोटाइने चिन्ता

फिल्मीखबर, काठमाडौं
सरकारले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि गरेको ‘लकडाउन’ को आज छैठौं दिन । एक हप्ताका लागि गरिएको ‘लकडाउन’ को अवधि पुनः एक हप्ता लम्ब्याउने तयारीमा सरकार छ । कोरोनाको संक्रमण फैलिन नदिन सरकारले गरेको यो निर्णयका कारण राष्ट्रपतिदेखि सर्वसाधारणसम्म घरभित्रै नजरबन्द हुनुपरेको छ ।

अभिनेता पुष्प खड्का भने सरकारले ‘लकडाउन’ को घोषणा गर्नुभन्दा अगाडिदेखि नै कोरोनाको त्रासले घरबाट बाहिर निस्कन छाडेका थिए । एक हप्तादेखि घरभित्रै नजरबन्दको अवस्थामा रहेका उनी धेरैपछि घरमा आरामले बस्न पाएका हुन् । कहिले फिल्म त कहिले म्यूजिक भिडियो, वर्षभरी उनलाई भ्याइनभ्याइ हुन्थ्यो । अहिले उनी आनन्दले घरमै बसेर दिन काटिरहेका छन् ।

कोरोनाका कारण घरको चारकुनामा खुम्चन बाध्य भएका उनको अहिले फिल्म र किताब दिन काट्ने साथी बनेका छन् । ‘लकडाउन’ को समय उपयोग गर्दै उनले ‘नेटफ्लिक्स’ मा खोजी-खोजी फिल्म र सिरिजहरु हेरिरहेका छन् । शनिवार बलिउड फिल्म ‘स्ट्रिट डान्सर’ हेरिसकेका उनी किताब पनि पढ्न रुचाउँछन् । अहिले उनले महेश्वर पन्तको ‘फुर्लुङ’ पढिरहेका छन् ।

पुष्प भन्छन्, ‘घरबाट बाहिर निस्किएर पनि कहाँ जाने ? सबै सुनसान छ । त्यसैले म एक हप्तादेखि घरबाट बाहिर निस्किएको छैन । हामी एक जिम्मेवार नागरिक भएका कारण यो प्रकोपबाट सिंगो देशलाई बचाउन सरकारले गरेको निर्णयको पालन गर्नुपर्छ ।’ उनी फुर्सदको बेलामा सामाजिक सञ्जालको माध्यमबाट साथीहरु र भारतमा बस्ने आमा बुबासँग कुराकानी गरिरहेका हुन्छन् ।

काठमाडौंमा भाई र बहिनीसँग बस्ने पुष्पलाई घरमै सीमित हुनुपर्दा मोटाउने चिन्ताले सताउन थालेको छ । कोरोनाको त्रास नहुँदा जिममा केही समय विताउने उनलाई अहिले आफू मोटाउन थालेको महशुस हुन थालेको छ । घरमै पुसअप गर्ने गरेका उनी स्थिति सामान्य भएपछि शरीर सगठित बनाउने योजनामा छन् । उनले हालै ‘चालबाज’ नामक फिल्मको छायांकन भ्याएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button