काठमाण्डौ
यतिबेला विश्व नै कोरोना भाइरसको भय र त्रासमा छ । विकसित र सुविधा एवं प्रविधिसम्पन्न देशहरूमा समेत यो भयावह अवस्था सजिलै नियन्त्रण हुन सकिरहेको छैन । नेपालमा पनि यो भाइरसको संक्रमण देखापरिसकेको छ । यसको संक्रमण फैलिन नदिन सरकारले एक हप्ताका लागि ‘लकडाउन’ को घोषणा गरेको छ । ‘लकडाउन’ अवधि लम्बिन सक्ने प्रवल सम्भावना देखिएको छ ।
कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले ‘लकडाउन’ गरेपछि अहिले कोही घरभन्दा बाहिर निस्कन पाएका छैनन् । घरमा सुरक्षित रुपमा बसे पनि कोरोनाको त्रास भने उस्तै छ । यसले मानिसमा मनोवैज्ञानिक असर नै परेको छ । आम सर्वसाधारण मात्र होइन, नेपाली सेलिब्रेटीहरु पनि कोरोनाको त्रासमा बाँचिरहेका छन् । ‘लकडाउन’ पछि उनीहरु घरमै बसेर दिन काटिरहेका छन् ।
कोरोनाको संक्रमणबाट जोगिन अभिनेत्री अदिती बुढाथोकी पनि केही दिनदेखि घरबाट बाहिर निस्किएकी छैनन् । उनी निकै कम नेपालमा बस्ने गर्छिन् । मुम्बईमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी उनी अहिले भने काठमाडौंमा छिन् । खासमा उनी फिल्म गर्नका लागि नेपाल आएकी हुन् । तर, उनी नेपाल आएसँगै कोरोनाको त्रासले फिल्मको छायांकन पोस्टपोन्ड भयो ।
सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको फिल्ममा उनले गायक नितेशजंग कुवँरसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । फिल्मको चैत पहिलो साता घोषणा गरेर बैशाख पहिलो साताबाट फ्लोरमा जाने तयारी गरिएको थियो । तर, कोरोनाको त्रासले फिल्मको छायांकन पछाडि धकेलिएको छ । अहिले अदिती भारत फर्किने अवस्था पनि छैन । त्यहाँ पनि कोरोनाका कारण ‘लकडाउन’ गरिएको छ ।
फिल्म ‘कृ’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अभिनेत्री अदिती बुढाथोकीले लामो समयपछि नेपाली फिल्म गर्न लागेकी हुन् । तर, फिल्ममा अभिनय गर्नका लागि मुम्बईबाट नेपाल आएकी उनी अहिले कोरोना भाइरसका कारण घरको चार कुनामा खुम्चिएर बस्न बाध्य हुनु परेको छ । फिल्ममा काम गर्न आउँदा कैदीझैँ घरमै सीमित हुनुको पीडा अदितीले जीवनमा कहिल्यै भुल्ने छैनन् !फिल्मीखबर,




