विचार

“यमलोकबाट यमराजले नै फोन गरेपछि “

नारायण खनाल, मालारानी-३, अर्घाखाँची ।

रातको बाह्र बजे टिनिन टिनिन मोबाइलमा घण्टी बज्यो कसलाई समस्या परेछ भनेर मोबाइल हेरेको सेभ गरेको नम्बर रहेनछ ,तैपनि देशमा कोरोना आतंक मच्चिएको बेला भएकोले फोन उठाएको त यमलोकबाट यमराजले रहेछ। झसङ्ग भएँ,के भनौं सातोपुत्लो गयो । आत्तिएर के भनौं के भनौ भन्ने भए र होला शायद नजानेर नै दर्शन भनेछु।

आशिर्वाद चाहिएर होला मुर्ख, मेरो शर्त पूर्ण पालना गरे, आशिष दिउँला नत्र ?भन्दै हप्काए मजाले। यता मेरो ज्यान थरथर भएको थियो , कस्तो भने आफू चढेको रुख ढल्न लागेको थाहा पाएपछि , उहीँ रुखका हाँगा बेस्सरी समातेमा बाँचिएला जस्तो भान भइरहेको थियोे।

जेनतेन साहस बटुलेर हजुरले किन फोन गरिबक्सेको भनेर सोधेको त हप्काउँदै उनले भने ” संसारभर कोरोना भाइरस COVID-19को आतंक मच्चिएको छ तेरो गति देख्दा टिठलाग्छ , छुसछुस अरुका घर जाने,लखरलखर बाटोमा हिड्ने अनि स्वास्थ्यका नियम नमान्ने ” डरले जिब्रो लटपटाए पनि म त घरमै बसेको छु भन्ने उत्तर दिएछु अनायास ।

उनी लगातार बोलिरहे, मैले जेनतेन सुन्ने साहस बटुलेर सुन्दै गएँ। यमराजले थप्दै थिए, तिमीहरू (नेपालीहरु) कति हुस्सु , लापरबाह रहेछौ भन्ने कुरा तिमीहरुका क्रियाकलापबाटै थाहापाइरहेको छु । सरकारले देशमा रहेका नागरिकलाई सचेतना छर्न सकेन , विदेशबाट आउने आफ्ना नागरिकलाई बिना चेकजाँच घर घर पठायो ।

विदेशबाट आउने पनि उस्तै , परिवार , छरछिमेक पनि उस्तै कसैलाई जीवन बाँचे मात्रै जीउन सकिन्छ भन्ने हेक्का नै रहेन छ।तिमीहरूको माया पनि कस्तो हो , यस्तो महामारीको बेला संक्रमित देशहरूबाट आउने सँग अङ्कमाल गर्ने , हात मिलाउने , सँगै बस्ने , तास खेल्ने , खाजा खाने , रुँदै परिवारको मिलन भयो , आइयो भन्दै गाउँ चाहार्ने, अलिकति पनि दिमाग नभएका पटमूर्खहरु । म त कसैसँग भेट हुन गएको छैन ,लकडाउन उलंघन गरेको छैन भनेको झण्डै फोन बाट नै दाउराले हिर्काए।

बोल्न पनि कति सकेको हो उनी थप्दै गए:

सत्तामा बस्ने पनि बुख्याचा (बालिनालि नोक्सान गर्नेलाई तर्साउन राखेका लौरामा कपडा बेरेर बनाएका मान्छे जो आफैले केही गर्न सक्दैनन् )जस्तै रहेछन् ।यस्तो सबै कुरा थाहा भएको रहेछ यमराजलाई भनेर झन मुटुले थात छोड्यो । मैले त हजुर हजुर बाहेक केही बोलिन।

उनले थप्दै गए “भेंडा जनता , कोरोना संक्रमणबाट बच्न संक्रमित देशबाट आएकाहरु आफू र आफ्नै परिवार जोगाउन लागेनन्, अझ उल्टै गाउँ चाहारेर गाउँ डुबाए, यहीँ बस्ने खानाका कालहरुको गति उस्तै , मोबाइलबाट साबुनपानीले हातधुन भन्ने , भिडभाड नगर्न र भिडभाडमा नजान भन्ने , मास्कको प्रयोग गरौँ सबैले भनेर स्टाटस राख्ने तर मोबाइलबाट हात छुटिनासाथ चोकमा जाने र गफ चुट्ने, विषयको गाम्भिर्यता नबुझ्ने, अब यति सुने पछि त मेरो सास नै रोकिएला जस्तै भैसकेको थियोे ।

किनकि हाम्रा सबै क्रियाकलाप यमराजलाई थाहा रहेछ। अन्तमा अनि तैंले बुझिस नि भन्दै हकार्दै उनलेे थपे: “अब तिमीहरूलाई कोरोना भाइरसबाट बच्ने एउटै उपाय छ, राज्यले लगाएका नियम मान्ने, सेल्फ क्वारेन्टाइनमा बस्ने, लकडाउनको पूर्ण पालना गर्ने, आत्मविश्वास बढाउने , दुखमा परेकालाई सहयोग गर्ने, साबुनपानीले पटकपटक हात धुने, मास्कको प्रयोग गर्ने , सेनिटाइजरको प्रयोग गर्ने, अफवाहका पछि नलाग्ने, रोग प्रतिरोधात्मक खानेकुरा खाने, कोरोनालाई भ्रष्टाचार गर्ने शीर्षक नबनाउने,कालोबजारी नगर्ने “यति सुनेपछि साहस बटुलेर हुन्छ सबै कुरा मान्छु ,पूर्ण अनुशासित बन्छु , हजुरले जे भन्नुहुन्छ त्यही मान्छु भनेर भनेँ ।

बल्ल उनले ल त्यसो भए आशिर्वाद छ,सबै नेपाली कोरोनाबाट जोगिने छन् तर मैले भनेको मानेमा मात्रै “भनेर भने पछि मैले हस भन्दै अब फोन राखौं कि भनेको त, अन्तिम चेतावनी भन्दै उनलेे फेरि भने -‘संसारभरका मान्छे कोरोनाको कारणले मरेर मेरा मान्छेलाई तहलगाउन धौधौ भएको छ। तिमीहरूले त घुस खाने कुरा, खुवाउने कुरा कुनै नोलो होइन ।’

त्यसैले उल्टै कोरोनाबाटै घुस खाएर मर्ने र मलाई दुखदिने दुस्साहस ग-यौ भने,घुसखोरिको आरोपमा नर्कलोकमा पनि तिमीहरूलाई बढी सजाय हुनेछ ।त्यसकारण आजैदेखि सुरक्षाका सम्पूर्ण अस्त्र प्रयोग गरि आफू बाँच्ने र अरुलाई बचाउने प्रयास गर्नु र सबै बाँच्नु । नत्र ? भन्दै उनलेे फोन काटे। झसङ्ग बन्दै सपनाबाट ब्युझिँदा, म बिस्तारामा पसिनाले निथ्रुक्क थिएँ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button