कृषि र किसान

नवलपरासीमा केरा उत्पादन घट्ने चिन्ता

नवलपरासी । कोभिड–१९ को जोखिम नभएको भए यतिबेला केरा कृषक खेतमा व्यस्त हुने समय हो ।

केराको राम्रो उत्पादन गर्दै आएका पश्चिम नवलपरासीका कृषक यतिबेला समयमा केरा लगाएको खेतमा सिँचाइ गरी आवश्यक युरिया, डिएपी, पोटास, सल्फर, जिङ्क तथा जैविक मल राख्न व्यस्त हुन्थे ।

कोरोना सङ्क्रमणको त्रास र लकडाउनलाई पालना गर्दै कृषक घरमै बसिरहेका छन् । केरामा सिँचाइ र मल राख्न नपाएपछि उत्पादन घट्ने भन्दै कृषक चिन्तित बनेका छन् । लकडाउनको असर कराखेतीमा पनि देखिएको छ ।

यतिबेला केराका लागि आवश्यक रासायनिक र जैविक मल उपलब्ध हुन नसके उत्पादनमा भारी गिरावट आउने केरा उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादवले बताए ।

लकडाउनका कारण सदरमुकामस्थित कृषि सामग्री संस्थानमा रहेको मल सहकारी संस्थासम्म पुग्न सकेको छैन । केरा उत्पादनमा कमी हुन नदिन कृषकका लागि मल उपलब्ध हुने व्यवस्था मिलाउनुपर्ने कृषकको माग छ ।

परासीस्थित कृषि सामग्री संस्थानमा प्रशस्तमात्रामा रासायनिक मल रहेको बताउँदै कार्यालय प्रमुख प्रकाश ज्ञवालीले कोरोना भाइरस सङ्क्रमणको त्रासले सहकारी संस्थासम्म ढुवानी गर्न आवश्यक सुरक्षा अपनाउन जटिलता देखिएपछि मल वितरण गर्न नसकिएको बताए ।

कोरोना सङ्क्रमणको जोखिम नहुने गरी आवश्यक सुरक्षाको प्रबन्ध हुन सके दुईरतीन दिनमै मल सहजरूपमा उपलब्ध गराउन सकिने प्रमुख ज्ञवालीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले कृषकको समस्यालाई आफूले गम्भीररूपमा लिएको बताए । जिल्लामा करिब १ हजार ७ सय बिघा क्षेत्रफलमा केराखेती हुँदै आएको केरा उत्पादक कृषक सङ्घले जनाएको छ ।

कृषकले १ कठ्ठामा लगाएको केराबाट ६० हजार रुपैयाँ सम्म आम्दानी गर्ने गरेको बताउँछन् ।

केराको उत्पादनमा कमी नआए एक बिघामा लगाइएको केराखेतीबाट कृषकले अधिकतम १२ लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने सङ्घले जनाएको छ ।

सङ्घका अनुसार जिल्लामा वार्षिकरूपमा २ अर्ब ४० करोड बराबरको केरा उत्पादन हुने गरेको छ । त्यहाँ उत्पादन भएको केरा बुटवल, पोखरा, नारायणगढ र काठमाडौँसम्म जाने गरेको छ ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button