एजेन्सी – ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड फरवार्ड रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । नक्कली पासपोर्ट बोकेर अर्काे देशमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा रोनाल्डिन्होसँगै उनका दाई रोबर्टाेलाई एक महिनाअघि पाराग्वेको एक होटलबाट पक्राउ गरिएको थियो ।

त्यसपछि उनीहरुलाई ६ महिनाको जेल सजाय सुनाइएको थियो । तर, उनीहरुलाई ३२ दिनपछि नै रिहा गरिएको हो । न्यायधिस गुस्ताभो अमरिल्लाले मुद्धाको फैसला नभएसम्म उनीहरुलाई एक होटेलमा बस्न सक्ने गरी जेलबाट रिहा गरिएको बताएका छन् । तारेखमा छुट्नको लागि १.६ मिलियन डलर तिर्न नसकेपछि उनीहरु जेलमा रहन बाध्य रहेका थिए ।

उनका वकिल एडोल्फो मारिनले पुर्व खेलाडी रोनाल्डिन्होलाई झुटा कागजातको विषयमा केही थाहा नभएको र उनको सोझोपनलाई अदालतले बुझ्न नसकेको बताएका थिए । उनका वकिलहरुले एक पुर्व फुटबलरको रुपमा आफ्नो उच्च प्रोफाइलका कारण उनीहरुलाई जेलबाट जोगाउनु पर्छ भन्ने तर्क गरेको थियो ।
कानुन टोलीले उनको नजरबन्द मनोमानी, अपमानजनक र गैरकानुनी रहेको भन्दै बहस गरेका थिए । जेलमा रहँदा उनले त्यहाँ साथीहरुसँग खेल्दै आफ्नो टोलीलाई जिताएका थिए । उनले आफ्नो जन्मदिन पनि जेलमै बिताउनु परेको थियो ।

४० वर्षीय रोनाल्डिन्होले २०१५ मा फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनले पछिल्लो पटक घरेलु क्लब फ्लुमिनेन्सबाट खेलेका थिए । फ्रेन्च क्लब पीएसजी र इटालियन क्लब एसी मिलानका पुर्व फरवार्ड समेत रहेका आफ्नो समयको उम्दा खेलाडी रोनाल्डिन्हो ब्राजिलले २००२ मा विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए ।
उनकै दुई असिस्टमा सन् २००२ विश्वकप फाइनलमा रोनाल्डो नाजोरियोले दुई गोल गर्दै जर्मनीलाई २–० ले पराजित गर्दै ब्राजिल च्याम्पियन बनेको थियो । उनले क्याटलान क्लब बार्सिलोनाबाट दुई ला लिगा र च्याम्पियन्स लिग जितेका थिए । उनले एक बालोन डि ओर र दुईपटक फिफा वल्ड प्लेयर अफ दि इयरको अवार्ड जितेका थिए ।hamrokhelkud/from




