स्वास्थ्य

यसरी छुट्याइन्छ कोरोना भाइरस संक्रमणका चार चरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २२ फागुनमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ ।’ दुबईबाट आएका कैलालीका कोरोना संक्रमित व्यक्तिबाट उनकी भाउजूमा कोरोना संक्रमण भएसँगै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको भनाइ थियो, प्रवक्ता डा. देवकोटाको ।

नयाँ वर्ष ०७७ को पूर्वसन्ध्या (३० चैत)सम्म आइपुग्दा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ । भारतबाट नेपाल आएका तीन भारतीयमा संक्रमण रहेको पुष्टि भएसँगै यो संख्या नौबाट बढेर १२ पुगेको हो ।

दुबईबाट आएका व्यक्तिबाट उनकै परिवारका एक सदस्यको रूपमा रहेकी भाउजूमा कोरोना संक्रमण विस्तार हुँदा नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताइएको थियो । अहिले नेपाल आएका भारतीयहरूमा संक्रमण देखिएपछि नेपाल संक्रमणको कुन चरणमा प्रवेश ग-यो होला त ?

यो प्रश्नको उत्तरअघि कुन मुलुकमा कोरोना संक्रमण कुन चरणमा छ भनेर केका आधारमा निर्क्याेल गरिन्छ र त्यसका चरण कतिवटा हुन्छन् भन्ने कुरा बुझ्न आवश्यक छ ।

भाइरसको संक्रमण विस्तारका चार चरण हुन्छन् । ती निम्नबमोजिम छन् :

पहिलो चरण : रोगको पहिलो उपस्थिति
कोरोना भाइरस संक्रमणको पहिलो चरण भनेको पहिलोपटक रोग देखिनु हो । यो चरणमा कुन मानिसमा, कहाँबाट, कसरी संक्रमण भयो भन्ने जानकारी हुन्छ । जस्तो कि नेपालमा पहिलो चरणमा चीनको वुहानबाट आएका नेपाली विद्यार्थीमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको थियो । ती युवालाई कहाँ र कसरी संक्रमण भयो भनेर थाहा भएको थियो ।

दोस्रो चरण : स्थानीय संक्रमण
रोगको संक्रमण स्थानीय रूपमै देखिएको अवस्थालाई दोस्रो चरण मानिन्छ । जस्तो, दुबईबाट आएका कैलालीका युवाबाट उनकी भाउजूलाई कोरोना संक्रमण हुनु स्थानीय संक्रमण हो । यो चरणसँगै संक्रमण विस्तार हुन सुरु गरेको हुन्छ । यो अवस्थालाई तेस्रो र चौथो चरणभन्दा कम भयानक मानिन्छ । किनकि सरकारले राम्रोसँग काम गर्ने हो भने ती संक्रमितहरूबाट सम्भावित संक्रमित व्यक्तिहरू पत्ता लगाउन सकिन्छ ।

यो अवस्थामा संक्रमणको आशंका रहेका व्यक्तिहरूलाई ‘आइसोलेसन’मा राखेर परीक्षण गर्न सकिन्छ ।

तेस्रो चरण : सामुदायिक संक्रमण
‘कम्युनिटी ट्रान्समिसन’ अर्थात् सामुदायिक संक्रमणको फैलावट भने जटिल अवस्था हो । यसलाई संक्रमणको तेस्रो चरण भनिन्छ । यस चरणमा संक्रमित व्यक्ति कुन मानिसबाट संक्रमित भयो भन्ने नै अनुमान लगाउन सकिँदैन । त्यसैले यो चरणमा ती व्यक्ति रहेको क्षेत्र र त्यहाँका मानिसलाई ‘लकडाउन’मा राखेर तीव्र रूपमा परीक्षण गरिनुपर्छ । यो अवस्थामा मानिसलाई संक्रमणबाट बचाउन निश्चित क्षेत्र, जस्तै देश, राज्य अथवा जिल्ला पूर्ण रूपमा ‘लकडाउन’ नै गरिनुपर्छ ।

चौथो चरण : व्यापक प्रकोप
संक्रमणको चौथो अर्थात् अन्तिम चरणमा भाइरसको संक्रमणले महामारीको रूप लिन्छ, र संक्रमित एवं मृत्यु हुनेको संख्या दोब्बर–तेब्बर हुँदै जान्छ । र, यो देशव्यापी रूपमा नै विस्तार हुन्छ । यस्तो व्यापक प्रकोप गत फेब्रुअरीमा चीनमा भएको थियो । अमेरिका, इटाली, स्पेनलगायतका देश अहिले यो चरणमा रहेका छन् । यो चरणको अवस्थामा कोरोना भाइरसको नियन्त्रण गर्न निकै नै कठिन हुन्छ ।

यतिवेला नेपाल संक्रमणको दोस्रो चरणमा छ । यो चरणको अवस्था भनेको संक्रमण नियन्त्रणनिकटको अवस्था हो । अर्थात् यो चरणमा संक्रमितहरू कहाँ–कहाँ छन् भनेर थाहा पाउन सकिन्छ । र, तिनीहरूलाई आइसोलेसनमा राखेर र परीक्षण गरेर संक्रमण फैलिनबाट जोगाउन सकिन्छ ।

संक्रमणको दोस्रो चरण मात्र रहेको नेपाल तेस्रो चरणमा प्रवेश ग¥यो भने त्यो निकै जटिल विषय हुनेछ । माथि नै भनिसकियो, यो चरणमा संक्रमण कहाँबाट कुन मानिसमा विस्तार भयो भन्ने जानकारी हुँदैन । र, यही कारण संक्रमण विस्तार हुनबाट रोक्न सकिँदैन ।nayapatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button