
मेचीनगर ।अति आवश्यक वस्तु नेपाल आयातमा भारतको पश्चिम बंगाल सरकारले लगाएको प्रतिबन्ध आज (शनिबार) बाट हटाएको छ ।
कोरोना भाइरसकोसंक्रमण अवधिमा नेपाल–भारत सरकारबीच अति आवश्यक वस्तु नेपाल आयातमा रोक नलगाई निर्वाध रुपमा भित्रिन दिइने सहमति भए पनि पश्चिम बंगाल सरकारले गएको चैत २५ गतेबाट पूर्ण रुपमा पूर्वीनाकाबाट भित्रिने सबै वस्तु ठप्प पारेको थियो ।
रोक लगाएको १ महिनापछि आजबाट अति आवश्यक वस्तु नेपाल आउने भारतको भन्सार कार्यालयले जानकारी गराएको मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवबहादुर विश्वकर्माले बताए ।
नेपालको तेस्रो ठूलो भन्सारको रुपमा रहेको मेची भन्सार पछिल्लो समय कोइला लगायतका सामान आउन छोडेपछि लक्ष्य अनुसारको राजश्व संकल्न गर्न सकेको थिएन ।
दैनिक करोडौँ राजश्व उठाउँदै आएको भन्सारले कोरोना संक्रमणबाट लकडाउन भएपछि ठूलो राजश्व गुमाएको विश्वकर्माको भनाई छ । यो नाकाबाट कोइला, इन्धन, खाद्यान्न, कपडा लगायत कच्चा पदार्थ भित्रिने गरेका छन् । शनिबार बेलुकासम्ममा अति आवश्यक वस्तु नेपाल भित्रिने बुझिएको छ ।



