कृषि र किसान

अनुमति बिना महङ्गोमा मल बिक्री गर्दै कृषि फार्म

दीपक श्रेष्ठ

गोरखा। अनुमति बिना नै यहाँका एक कृषि फार्मले महङ्गो मूल्यमा कृषकलाई रासायनिक मल बिक्री गर्दै आएको पाइएको छ ।

भीमसेन थापा गाउँपालिका–१ निवेलस्थित हिमालय एग्रो फार्मले विभिन्न सहकारीबाट रासायनिक मल खरिद गरेर कृषकलाई महङ्गो मूल्यमा बिक्री गर्दै आएको पाइएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल र्पुयाउनुपर्ने हुन्छ । तर अधिकांश सहकारी संस्थाले आवश्यकताभन्दा बढी रासायनिक मल लैजाने गरेपनि सो मल किसानसम्म नपुगी सहकारी संस्थालेबीच बाटोमै बिक्रेतालाई बढी रकम लिएर बेच्ने गरेको गुनासो किसानहरुको छ ।

विभिन्न सहकारी संस्थाबाट हिमालय एग्रो फार्मले तोकिएको मूल्यमा रासायनिक मल खरिद गरेर ल्याउने र किसानलाई बढी मूल्य राखेर महङ्गोमा बिक्री गर्ने गरेको कृषक बताउँछन् । उक्त फार्मले कृषकलाई प्रतिव्यक्ति रु. १५ किलोसम्म मल उपलब्ध गराउने गरेको कृषकको भनाइ छ ।

केराखेती र माछापालन गर्दै आउनुभएका भक्तकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त फार्मका लागि आवश्यक मल जिल्ला प्रशासन कार्यालयले समेत सिफारिस गरिदिएको भए पनि अन्य सहकारीबाट समेत मल ल्याएर बिक्री गर्ने गरेको पाइएको हो ।

“सञ्चालक श्रेष्ठले मल खोज्न आउने कृषकलाई मान्छे हेरेर मल बिक्री गर्दै आउनुभएको छ”, स्थानीवासी वासुदेव देवकोटाले भन्नुभयो, “उहाँले आफ्नै लागि भनेर ल्याउने र कृषकलाई महङ्गो मूल्यमा बिक्री गर्दै आउनुभएको पाइएको हो ।”

श्रेष्ठले बोरामा बेच्दा प्रतिबोरा रु एक हजार ७०० मा बिक्री गरेको उहाँले बताउनुभयो । तर जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाभर रासायनिक मल प्रतिबोरा रु एक हजारभन्दा बढीमा बिक्री गर्न नपाउने निर्णय गरेको छ ।

कृषकले आफूहरु ठगिएको थाहा पाएपछि आज एग्रो फार्ममा गएर घेराउसमेत गरेको भीमसेन थापा गाउँपालिका–१ का अर्र्का कृषक प्रेम रावलले जानकारी दिनुभयो ।

“मैले फार्मबाट १५ किलो मल खरिद गरेको हो, युरिया मल किन्न आउनेलाई अनिवार्य डिएपी मल लैजानैपर्ने भनी प्रतिकिलो रु ७० तिरेर नचाहिने मलसमेत उहाँले कृषकलाई किन्न बाध्य बनाउँदै आउनुभएको छ”, उहाँले भन्नुभयो ।

भीमसेन थापा गाउँपालिका–१ का अर्का कृषक मुकेश थापाले भन्नुभयो, “मैले २० दिनअघि १५ किलो मल खरिद गरेको हो, गाउँका सबैले प्रतिकिलो रु. ३५ मा किनेका छन ।”

कृषक मल किन्न जाँदा मल अभाव छ भन्दै सञ्चालक श्रेष्ठले कृषकलाई महङ्गो मूल्यमा मल बिक्री गर्ने गरेको कृषकको भनाइ छ । अहिले पनि श्रेष्ठको फार्ममा ४५ बोराभन्दा बढी मल मौज्दात रहेको थापाको दाबी छ ।

सञ्चालक श्रेष्ठले पनि आफूलाई मल बिक्रीका लागि अनुमति नभएको स्वीकार गर्नुभएको छ । “मसँग मल बिक्रीका लागि अनुमति छैन, मैले आफ्नै फार्मका लागि हारगुहार गरेर ल्याएको मल स्थानीयवासीले माग गरेपछि अलिअलि बिक्री गरेको हो”, उहाँले भन्नुभयो । उहाँले प्रतिकिलो रु. ३० का दरले मल बिक्री गरेको स्वीकार गर्नुभयो ।

भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण थापाले गाउँपालिकाले हिमालय एग्रो फार्मलाई मल बिक्रीका लागि कुनै अनुमति नदिएको बताउनुभयो ।

“हामीले कृषि सहकारी र आवश्यकताका आधारमा कृषक समूहलाई मात्र रकम जम्मा गरी मल बिक्रीका लागि अनुमति दिएका छौँ, तर कुनै पनि फार्मलाई त्यस्तो अनुमति दिएको छैन”, उहाँले भन्नुभयो । उहाँले गाउँपालिकाको कार्यालयले त्यसको छानबिनसमेत गर्ने बताउनुभयो ।krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button