कृषि र किसान

बारीमै कुहियो टमाटर, किसानको हरायो भोक निद्रा

भद्रपुर। लगानीको दोब्बर मुनाफा हुने आशाले १५ कठ्ठा जमीनमा टमाटरको व्यावसायिक खेती गरेका मेचीनगर–२ का रमेश दङ्गाल अहिले नबिकेर कुहिन लागेका टमाटर हेर्दै पुर्पुरोमा हात राख्दै छन् । कोरोना भाइरसको संक्रमण रोक्न लगाइएको लकडाउनका कारण व्यापारीहरु आउन छाडेपछि टमाटर बारीमै खेर गएको छ ।

‘बारीभरि टमाटर पाकेर राताम्य छन्, विक्री छैन’, बन्दाबन्दीको मार खेपिरहेका दङ्गाल भन्छन्, ‘सबै लगानी डुब्यो, भोक न निद्राको स्थिति सिर्जना भयो ।’ उनले रू. चार लाख खर्चेर हुर्काएका ११ हजार बोटमा यतिबेला लटरम्म टमाटर पाकेका छन् ।

कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउको प्रत्यक्ष मार किसानमा परेको छ । लाखौँ खर्च गरेर लगाएको बाली पाके पनि बजारसम्म लगेर विक्री वितरण गर्न नसक्दा उनीहरु ऋणमा डुबेका हुन् । ‘यस्तो अवस्था आउँछ भन्ने सोचिएको थिएन’, उनी भन्छन्, ‘टमाटर राम्रो फलेको थियो दोब्बर आम्दानी हुने भयो भनेको त लगानी नै पो डुब्यो ।’ उनको बारीमा यतिबेला एक हजार क्विन्टलभन्दा बढी टमाटर पाकेका छन् ।

मेचीनगर–१४ का राजु राईको अवस्था पनि उस्तै दर्दनाक छ । उनीले दुई वर्षअघिदेखि दुई बिघा जग्गा लिजमा लिएर टमाटर, बन्दाकोभी र मकैलगायतको खेती गरिरहेका छन् ।

लकडाउनका कारण उनले उत्पादन गरेका सबै टमाटर बारीमै कुहिएको छ । अरु बेला व्यापारी तथा बिचौलिया बारीमा नै तरकारी लिन आउने गरेका भए पनि यसपालि कोही नआएको उनको भनाइ छ । ‘वार्षिक रू. दुई लाखभन्दा बढी आम्दानी हुन्थ्यो’, उनले भने, ‘यसपटक ५० केजी बिक्यो होला, अरु सबै बारीमै कुहिएर गयो ।’

उत्पादन गर्न हौसला दिने सरकारले उत्पादित वस्तुलाई बजारीकरण गर्न भने कुनै चासो नदिएको किसानहरुको आरोप छ । ‘हामी दुःख गरेर उत्पादन गछौँ’, राईले भने, ‘गाउँ डुलाएर बेच्ने आफूसँग कुनै साधन थिएन, यत्रो उत्पादन खेर जाँदा स्थानीय सरकारले चासो नदिएकामा दुःख लागेको छ ।’

मेचीनगर नगरपालिकाको १, २ र ३ नं वडाका किसानले २० बिघाभन्दा बढी जमीनमा व्यावसायिकरूपमा टमाटर खेती गर्दै आएको मेची मूल कृषक समूह मेचीनगरका अध्यक्ष पूर्णबहादुर कटुवाल बताउछन् ।

उनका अनुसार अधिकांश किसानले जग्गा लिजमा लिएर टमाटर खेती गर्दै आएका छन् । प्रत्येक किसानले पाँच कठ्ठादेखि दुई बिघासम्ममा टमाटर लगाएका छन् । उनीहरु सबैको लगानी यसपालि लकडाउले गर्दा डुबेको छ ।

‘वर्षौँदेखि व्यावसायिक खेती गर्दै आएका किसान बन्दाबन्दीको मारमा परे’, उनले भने, ‘शुरुमा भारततिरबाट खुला र लुकीछिपी भित्रिने टमाटरले स्थानीय उत्पादनलाई बजार पुग्नै दिएन, नाका बन्द भएपछि बोलाउँदा बजार सबै बन्द छ भन्दै खरिदेहरु आउन मानेनन् ।’ उनले टमाटर विक्री नहुँदा किसानलाई ऋणको चिन्तामाथि बिहान बेलुकाको छाक टार्नसमेत समस्या हुन थालेको बताए ।

हिउँदमा पाकेको टमाटर लामो समयसम्म बोटमा टिक्दैन । गर्मीमा दुई–तीन दिनपछि बोटमै कुहिने उनले बताए । गत वर्ष प्रतिकेजी रू। ४० मा विक्री हुँदै आएको टमाटर यस वर्ष भने प्रतिकिलो रू। सात दिँदासमेत विक्री नभएको किसान बताउँछन् ।

बजारमा यतिबेला व्यापारीले मूल्य रू. ३५ देखि ४० सम्ममा टमाटर विक्री गर्दैै आएका छन् । दुःख गरेर किसानले गरेको खेतीको फाइदा बिचौलियाले लिने गरेको उनीहरुको आरोप छ । स्थानीय सरकार र कृषि ज्ञान केन्द्र झापालाई समेत किसानहरुले टमाटर विक्रीका लागि पहल गरिदिन आग्रह गरेका छन् ।krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button