झापा
केहीदिन यताबाट झापाको दक्षिणी क्षेत्रमा अवस्थित कचनकवल गाउँपालिकामा देखिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण अहिले सम्म भारतबाट आएका नागरिकमा मात्र देखापरेको बुझिएको छ। नेपाल भारतको सीमा क्षेत्र कचनकवलको विभिन्न नाकाबाट प्रहरीको प्रत्यक्ष निगरानीमा सोझै कवारेन्टाइनमा ल्याइएका मात्रको यो अवस्था देखापरेको हो ।
तर, खुला सीमानाका कारण उक्त क्षेत्र लगायत अन्य स्थानबाट लुकिछिपी आएका मानिसले समुदायमा सार्ने भने प्रवल सम्भावना रहेकोले झापा यतिबेला सङ्क्रमणको उच्च जोखिममा रहेको देखिन्छ ।
यो समाचार तयारपार्दा सम्म कचनकवल गाउँपालिकामा मात्र ३३ जना सङ्क्रमित पुगेको छ । तीन साताअघि दुईजना सङ्क्रमित रहेको झापामा ४ दिनअघि नयाँ सङ्क्रमित पुष्टि भइसकेका छन् । कूल सङ्क्रमितको सङ्ख्या ३५ पुगेको छ भने दुईजना निको भएर घर फर्केको बताईएको छ । कचलनकवल मात्रै होइन, झापाका सीमावर्ती क्षेत्रमा भारतबाट आउने क्रम बढेपछि झापामा कोरोनाको जोखिम बढेको हो । भारतबाट फर्कनेहरु कम्रश बढेपछि अहिले कचनकवलसहित झापाका अधिकाँस स्थानीय तह सिल गर्न थालिएको छ ।
नेपाल भारत सीमामा रहेका एक हजारभन्दा बढीलाई उद्धार गरेर झापाका स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनमा राख्न थालिएको छ । सीमाबाट उद्धार गरिएका झापा जिल्लाभित्रका भए जुन नगरपालिका वा गाउँपालिकाका हुन् त्यहाँ निर्माण गरिएको क्वारेन्टाइनमा पठाउने बताइएको छ ।बाहिर जिल्लाका भए जाँचपछि रिर्पोट नेगेटिभ आएमा सोही जिल्लामा पुर्याउने निर्णय भए अनुसार कार्य थालनी भएको पनि जनाइएको छ ।



