खेलकुद

फेलिक्स चम्कँदा एटलेटिको म्याड्रिडको सानदार जित

अषाढ ४, २०७७

एजेन्सी – युवा फरवार्ड जोआओ फेलिक्सको उत्कृष्ट प्रदर्शनसँगै एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत बुधबारको खेलमा ओसासुनालाई ५-० ले पराजित गरेको छ ।

एटलेटिकोको जितमा फेलिक्सले दुई गोल गर्दा अल्भारो मोराटा, मार्कोस लोरेन्टे र फरेरा करास्कोले १-१ गोल गरेका थिए । फेलिक्सले दुवै हाफमा १-१ गोल गर्दै अवे मैदानमा महत्त्वपूर्ण जिततर्फ डोर्याए । यस जितसँगै एटलेटिकोले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

खेलको २७ औं मिनेटमा एटलेटिकोले अग्रता लिएको थियो । साउल निगुएजको प्रहार डिफेन्डरलाई लागेर फर्केपछि आएको रिबाउन्डमा फेलिक्सले गोल गरेका थिए । पेनाल्टी क्षेत्र भित्रबाट उनले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षकले बचाउने कुनै अवसर पाएनन् ।

दोस्रो हाफको ५६ औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गरे । डिएगो कोस्टाले पेनाल्टी क्षेत्रभित्र दिएको पासलाई उनले गोलमा परिणत गरेका थिए । कोस्टाले गोलरक्षकसँग वन भर्सेस वन स्थितिमा रहेपनि कुनै जोखिम नलिई खाली रहेका फेलिक्सलाई पास दिएका थिए ।

७९ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मार्कोस लोरेन्टेले गोल गर्दै एटलेटिकोको जित पक्का गरे । उनले छोटो फ्रिकिकमा आएको पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट बल नियन्त्रण गर्दै तीन डिफेन्डरलाई छक्क्याएर गोल गरेका थिए ।

८२ औं मिनेटमा अल्भारो मोराटाले लोरेन्टेको पासमा उत्कृष्ट फिनिस गर्दै ४-० को अग्रता दिलाए । ८८ औं मिनेटमा लोरेन्टेको पासमा फरेरा करास्कोले गोल गर्दै फराकिलो जित पक्का गरे ।

यस जितसँगै अंक तालिकामा एटलेटिको चौथो स्थानमा उक्लिएको छ । म्याड्रिड टोलीले २९ खेलमा ४९ अंक जोडेको छ । तेस्रो स्थानको सेभिल्लाको ५१ अंक छ भने एक खेल कम खेलेको सोसीडाड र गेटाफेको समान ४७ अंक रहेको छ । ओसासुना भने २९ खेलमा ३५ अंकसहित ११ औं स्थानमा सिमित रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button