खबर

ढोका अगाडि सुशासनको शपथ, टेबलमुनिबाट घुसको बकस

असार १०, २०७७
काठमाडौँ, १० असार । दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै सरकारी कार्यालयका कर्मचारीलाई ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्न । म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु’ भन्ने शपथको प्रतिज्ञा गराए । तर, यो शपथ व्यवहारमा भने अझै लागु हुन सकेको देखिँदैन ।

प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी कार्यालयको ढोकैमा देखिने गरी लेखिएको ‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्न’ भन्ने नाराले अहिले तिनै सरकारी कार्यालयलाई गिजाइरहेको छ । पछिल्लो समय भ्रष्टाचार र घुसखोरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको तथ्यांकले घुस लिने र भ्रष्टाचार गर्ने प्रवृत्ति झनै बढेर गएको देखाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा ३ सय ५० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको थियो । गत वर्ष १९ वर्षको इतिहासकै धेरै भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारको दाबी थियो । तर, अहिले यो आर्थिक वर्षको १० महिनाको अवधिमा ३ सय ७० वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

गत आर्थिक वर्षमा घुस लेनदेनका १ सय ५० वटा मुद्दा दर्ता भएकामा यो आर्थिक वर्षको १० महिनाको अवधिमा १ सय ४२ वटा मुद्दा दर्ता भइसकेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

म भ्रष्टाचार गर्दिनँ भन्ने नारा कर्मचारीले शपथका रूपमा खाए पनि भ्रष्टाचारको संख्यामा भने विगतभन्दा झनै बढेको प्रवक्ता कोइरालाले बताए। ‘अख्तियारले अहिले सक्रियता धेरै बढाएको छ,’ उनले भने, ‘उजुरी दिनेको संख्या पनि विगतभन्दा धेरै रहेको छ ।’

त्यस्तै, अख्तियारले आर्थिक वर्ष २०७४-७५ मा १ सय ९४ मुद्दा चलाएको थियो । २०७३÷७४ मा १ सय ५४ वटा मुद्दा विशेष अदालतमा दर्ता भएका थिए । यो संख्या २०७२÷७३ मा १ सय ४४ थियो । त्यसअघि पनि अख्तियारले यो वर्षभन्दा बढी मुद्दा दर्ता गरेको देखिँदैन ।

गत आर्थिक वर्ष अख्तियारले दायर गरेका भ्रष्टाचार मुद्दामध्ये १ सय ४७ वटा रंगेहात घुससँग सम्बन्धित छन् । नक्कली प्रमाणपत्रका ८८, सार्वजनिक सम्पत्ति नोक्सानीका ३९, गैरकानुनी लाभहानिका ३३, राजस्व हिनामिनाका १०, गैरकानुनी सम्पत्तिका १२ अनि विविध विषयका २२ वटा मुद्दा दायर भएका छन् । निराजन पाैडेलले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button