
१३ असार २०७७
ललितपुर ।
नेपालका तीन जिल्लामा विनासकारी किरा सलह प्रवेश गरेको छ । सर्लाही, बारा र पर्साका केही ठाउँमा शनिबार बिहान सलह कीरा देखिएको हो।
कृषि ज्ञान केन्द्र बाराको टोली छानबीनका लागि सलह लागेको ठाउँमा पुगिसकेको बताईएको छ । प्राप्त जानकारी अनुसार त्यहाँ सलह कीराको समूह देखिएपछि कृषि मन्त्रालयलाई जानकारी गराइएको स्रोतले जनाएको छ ।
सलहले पार्ने समस्या र नियन्त्रणबारे छलफल गर्न शनिबार दिउँसो मन्त्रालयले जुम मिटिङ आयोजना समेत गरेको छ। मन्त्रालय स्रोतले खबर प्राप्त भएको तर पुष्टि भने नभएको जनाएको छ ।
अफ्रिकी मुलुकबाट सुरु भएको यो सलह जातको फट्याङ्रा अरबियन देशहुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको थियो ।
करोडौंको संख्यामा हुने यस किराको झुण्ड एकै दिनमा १ सय ५० किलोमिटर भन्दा बढी टाढासम्म पुग्न सक्ने सम्बन्धि विज्ञले बताउँदै आएकाछन् ।



