स्वास्थ्य

कोरोना संक्रमित बिरामीको उपचार गर्दैनन् चितवनका ठूला अस्पताल

२४ असार २०७७
नेपाल समाचारपत्र, चितवन

चितवन भरतपुरस्थित चौबीसकोठीमा रहेको नारायणी सामुदायिक अस्पतालमा उपचाररत भरतपुर–११ निवासी ६८ वर्षीया एक वृद्धलाई कोरोना संक्रमण पुष्टि भयो । मुट र निमोनियाको समस्या रहेका ती वृद्धको कोरोना संक्रमण हुनु अघिसम्म सोही अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको थियो ।

जब जेठ २६ गते ती वृद्धलाई कोरोना संक्रमण पुष्टि भयो, नारायणी सामुदायिक अस्पतालले उनको थप उपचार गर्न मानेन । अस्पताल प्रशासनले बिरामी रहेका वृद्धलाई भरतपुर अस्पतालमा रेफर गर्न खोज्यो । तर, चितवन प्रशासनले नारायणी सामुदायिक अस्पताललाई बिरामी भरतपुर अस्पतालमा रेफर नगर्न पटकपटक अनुरोध ग¥यो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई स्वयम् आफैंले पनि नारायणी सामुदायिक अस्पतालका डा. भक्तमान श्रेष्ठलाई फोन गरी बिरामीलाई अन्यत्र नसार्न भन्नुभएको थियो । तर, पनि जिल्ला प्रशासनको निर्देशन एवम् अनुरोधसमेतलाई नटेरी अस्पताल प्रशासनले ती वृद्वलाई जबरजस्ती त्यहाँबाट हटाउँदा उनको जेठ २७ गते बिहान भरतपुर अस्पतालमा मृत्यु भयो ।

नारायणी सामुदायिक अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठ सरकारको नीतिअनुसार नै बिरामीलाई स्थानान्तरण गरेको बताउँदै आउनुभएको छ । उहाँले कोरोना संक्रमण देखिएपछि आफूहरुले उपचार नगर्ने र सरकारले हेर्न भएकाले अस्पतालले भरतपुर अस्पतालमा रिफर गरेको बताउनुभयो ।

यसै गरी चितवन मेडिकल कलेजमा पनि त्यस्तै प्रकारको घटना घट्यो । गत असार ११ गते कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएसंँगै चितवन मेडिकल कलेजले ती पुरुषलाई भरतपुर अस्पतालमा जबरजस्ती रिफर गर्न खोज्यो ।

तर, सो अस्पतालले पनि कसैलाई थाहै नदिई ती पुरुषलाई त्यहाँबाट हटाउँदा उनको पनि गत असार १३ गते भरतपुर अस्पतालमै मृत्यु हुन पुग्यो ।

जबकि चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपानेले फेसबुकमार्फत कोरोनाका बिरामीका लागि सातवटा बेड तयार गरेको र आवश्यक परेको खण्डमा मेडिकल कलेज नै प्रयोग गर्न सकिने बताउनुभएको थियो ।

जिल्ला प्रशासनले कम्तिमा २० बेडसहितको आइसोलेसन वार्ड बनाउन चितवन मेडिकल कलेजलाई अनुरोध गरेको थियो । तर, मेडिकल कलेजका सञ्चालक न्यौपानेले न त प्रशासनले गरेको समान्य अनुरोधलाई नै टेर्नुभयो, न त कोरोना संक्रमितको उपचार नै गर्नुभयो ।

कोरोनाको महामारीमा निजी अस्पतालहरुले बिरामीको उपचार नै नगरी अन्यत्र रिफर गर्ने गरेको यी त एक प्रतिनिधि उदाहरण मात्रै हुन् । कोरोनाका बिरामीको उपचार गर्नकै निमित्त आइसोलेसन कक्ष तयार पारेको बताउने निजी मेडिकल कलेज सञ्चालकले बिरामीमा कारोनाको संक्रमण पुष्टि भएसंँगै आफ्नो जिम्मेवार बोधबाट समेत हट्ने गरेका छन् ।

प्रशासनको निर्देशन रद्दीको टोकरीमा
कोरोना संक्रमितको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले नारायणी सामुदायिक अस्पताललाई पत्र काटे पनि तीन सात बितिसक्दा समेत अझै जवाफ पठाएको छैन । प्रशासनले पठाएको पत्रमा कोभिड–१९ संक्रमित सघन उपचार कक्षमा उपचाररत बिरामीले के–कति कारण र कसको निर्णयले त्यहाँको अस्पतालबाट भरतपुर अस्पतालमा बिरामी सारिएको हो त्यसको जवाफ दिन भनिएको छ ।

पत्रमा त्यहाँका अस्पतालमा उपचारार्थ आउने बिरामी तथा सेवा प्रवाहमा खट्ने चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि के–कस्तो पूर्वसावधानीका उपाय अवलम्बन गराउने गरिएको छ, जवाफसमेत मागिएको थियो ।

तर, नियम पालना गराउने स्वयम् जिल्ला प्रशासन कार्यालयको पत्रलाई नै मेडिकल सञ्चालकले रद्दीको टोकरीमा राख्नुले पनि घटनालाई अन्यत्र मोड्न लागिएको आफैैंमा प्रस्ट हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button