मूल खबर

जटिल बन्दै नेकपा विवाद, बहुमतले निर्णय गर्न ओलीको चुनौती

काठमाडौँ – नेकपाका दुई केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच फेरि पनि भनाभन भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच पार्टीभित्र बढेको विवाद समाधानको उपाय सुल्झनुको साटो फेरि भनाभन भएको हो।

बुधबार साँझ दुई नेताबीच एक्लाएक्लै भएको छलफलको सुरुमै दाहालले सडकमा ओलीको पक्षमा निस्केको प्रदर्शन बन्द गर्न आग्रह गरेको स्रोतले बतायो। जवाफमा ओलीले ‘प्रदर्शन बन्द हुँदैन’ भन्ने जवाफ फर्काएका छन्।

बुधबार दिउँसो देशभर ओलीले आफू पक्षीय कार्यकर्तालाई प्रदर्शनमा उतारेका थिए। बिहानै महासचिव विष्णु पौडेललाई प्रदर्शन रोक्न भनेका दाहालले साँझ ओलीलाई भेट्नेबित्तिकै त्यही कुरा दोहोर्‍याएका थिए।

छलफलमा ओलीले आफूलाई पार्टीको बहुमतबाट कारबाही गरेर देखाउन चुनौती दिएको बालुवाटार स्रोतले जानकारी दियो। ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हट्न दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षले दबाब दिँदै आएका छन्।

बुधबारको बैठकमा ओलीले दाहाललाई आफू दुवै पदबाट नहट्ने दोहोर्‍याउँदै पार्टीको बहुमतले कारबाही गरेर देखाउन चुनौती दिएका हुन्। चार दिनदेखि ओली-दाहाल छलफलमा रहे पनि विवाद जहाँको त्यहीँ रहेको नेताहरु बताउँछन्। यसले गर्दा नेकपाभित्रको विवाद थप जटिल अवस्थामा पुगेको छ।

बुधबार डेढ घण्टा कुराकानी भए पनि ठोस उपलब्धि नभएको स्रोतले बतायो। स्रोतले देश सञ्चारसँग भन्यो, ‘आज पनि छलफल भयो। डेभलपमेण्ट केही छैन। आज पनि निष्कर्ष निस्केन।’ अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले पनि छलफल बैठकमा उपलब्धि नभएको जानकारी दिए।

आजको छलफल सौहार्द्र हुन नसकेपछि दुई अध्यक्षबीच पुनः बिहीबार कुराकानी हुने नहुनेबारे टुंगो छैन। प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन खोजेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।

असार १० गते सुरु भएको स्थायी समिति बैठकमा एकाएक ओलीको राजीनामाको विषय प्रवेश गरेपछि दाहाल नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने भन्दै दबाब बढाएका छन्। सहमतिबाट अघि बढ्ने प्रयास चौथोपटक शुक्रबारसम्मका लागि स्थायी समिति बैठक स्थगित गरिएको छ।

ओली गत मंसिर ४ गते भएको सहमतिबाट अघि बढ्ने पक्षमा छन् भने दाहालबीच २०७२ जेठ २ गते भएको सहमित कार्यान्वनय गर्नु पर्ने अडानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button