मूल खबर

आपत्तिजनक प्रसारणबारे प्रेस काउन्सिल नेपालले भारतको समकक्षी संस्थालाई लेख्यो यस्तो पत्र

काठमाडौं, असार २६
प्रेस काउन्सिल नेपालले भारतीय सञ्चारमाध्यमले नेपालबारे तथ्यहिन र आपत्तिजनक सामग्रीहरु प्रसारण गरिरहेका सम्बन्धमा प्रेस काउन्सिल भारतलाई पत्र लेखी त्यस्ता मिडियालाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।

नेपाल सरकारले लिम्पियाधुरा आफ्नो नक्सामा समेट्ने निर्णय गरेदेखि नै भारतीय सञ्चारमाध्यमहरुले निरन्तररुपमा नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आपत्तिजनक र घृणा फैलाउने सामग्री प्रकासन तथा प्रसारण गरिरहेको भनी प्रेस काउन्सिल नेपालले भारतको समकक्षी संस्थासँग त्यस्ता गतिबिधि रोकाउन आग्रह गरेको हो।

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले प्रेस काउन्सिल भारतका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई पत्र लेखी भारतको जी न्यूजले नेपालका प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच सम्बन्ध रहेको भनी काल्पनिक सामग्री प्रसारण गरेकोमा आपत्ति जनाएको छ।

त्यसका कारण नेपाल र भारत सरकार तथा दुवैतर्फका जनताबीच द्विपक्षीय तनाव बढाएको सो पत्रमा उल्लेख छ।

‘भारतीय टेलिभिजन च्यानलहरुले नेपालको अक्षुण्यतामाथि प्रहार गर्ने यस्ता थुप्रै आधारहिन समाचारहरु उत्पादन तथा प्रसारण गरिरहेका छन्,’ सो पत्रमा उल्लेख छ।

यस्ता घट्नाहरुले उनलाई पनि दुखित बनाएको हुनुपर्ने भन्दै ती सम्बन्धित संस्थाहरु तथा निकायहरुसँग कुराकानी गरी पत्रकारिताका पेशागत धर्मको प्रवर्द्धनमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।

‘सम्बन्धित मिडिया संस्थालाई कारवाहीको पहल गर्न वा उनीहरुलाई मिडियाको पेशागत धर्म पालना गर्ने जिम्मेवारी स्मरण गराउन संवाद गर्नका लागि यहाँको भूमिका महत्वपूर्ण हुनेछ,’ पत्रमा भनिएको छ।नेपाल खबर अनलाइनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button