
श्रावण ३, २०७७
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल लगातार नवौं सिजन लिग उपाधि जित्नबाट बन्चित भएका छन् । बिहीबार रियल म्याड्रिडले स्पेनिस ला लिगा उपाधि जितेपछि भिडालको लगातार लिग जितको सिलसिला ८ उपाधिमा रोकिएको छ ।
भिडालले सन् २०११/१२ सिजनमा युभेन्टसबाट लिग जितेयता लागत ८ सिजन विभिन्न क्लबबाट खेल्दै लिग उपाधि जितेका छन् । पछिल्लो सिजन बार्सिलोना आएका उनले पहिलो सिजनमा नै च्याम्पियन बनेका थिए । यसपटक भने लिगको अन्तिमतिर बार्सिलोनाले लय गुमाउँदा उनी उपाधिविहिन नै रहने सम्भावना रहेको छ ।
सन् २०११ मा जर्मन क्लब बायर लेभरकुसनबाट भिडाल इटालियन क्लब युभेन्टस पुगेका थिए । इटालीमा उनले लगातार ४ सिजन लिग उपाधि जिते । इटालीमा ४ वर्षको बसाईंपछि भिडाल जर्मनी पुगेका थिए । सन् २०१५/१६ सिजनमा जर्मनी पुगेका उनले लगातार तीन सिजन लिग उपाधि जिते ।
भिडालले यसबीचमा चिलीको राष्ट्रीय टोलीबाट खेल्दै सन् २०१५ र २०१६ मा कोपा अमेरिका पनि जितेका छन् । दुवै पटक फाइनलमा चिलीले अर्जेन्टिनालाई पराजित गरेको थियो । यसबाहेक उनले क्लब फुटबलमा घरेलु कप प्रतियोगिता पनि जितेका छन् ।hamrokhelkud/from



