स्वास्थ्य

कति छ कलेजोको महत्व? के काम गर्छ?

२०७७ श्रावण २१ बुधबार

कलेजो मानव शरीरको पाचन प्रणाली अन्तर्गतको एक अंग हो। यो पेटको माथिल्लो भागमा दाहिनेपट्टि रहेको हुन्छ। आकार तथा तौलका हिसाबले यो मानव शरीरको सबैभन्दा ठूलो ठोस अंग हो। वयस्क मानिसमा कलेजोको तौल अन्दाजी १.५ केजी हुन्छ।

कलेजोका कोषिकाहरुलाई हेपाटोसाइट्स भनिन्छ। कलेजोलाई पाचन प्रणाली अन्तर्गतको अंग भनिए तापनि यसले शरीरका अन्य प्रणालीसँग सम्बन्धित अरु थुप्रै कार्यहरु पनि गरिरहेको हुन्छ।

कलेजोले मानव शरीरमा गर्ने कार्यहरु यस प्रकार छन्ः
१. पित्त रसको उत्पादन तथा स्रावः कलेजोले पित्त रस बनाउँछ। पित्त रसले गर्ने कार्यहरु यस प्रकार रहेका छन्ः
– चिल्लोको पाचन।
– चिल्लोको अवशोषण।
– भिटामिन ए, डी, ई र केको अवशोषण।
– आन्द्राको गति कायम राख्ने, गतिशील बनाउने।
– आन्द्रामा किटाणुहरुको विकास हुनबाट रोक्ने।

२. खानामा रहेका पोषक तत्वहरुको मेटाबोलिजमः
– कार्बोहाइड्रेटः रगतमा ग्लुकोज बढी भएको समयमा (जस्तैः खाना खाएपछि) ग्लाइकोजेनमा परिवर्तन गरेर भण्डार गर्छ। रगतमा ग्लुकोज कम भएको समयमा भण्डार गरेको ग्लाइकोजेनलाई फेरि ग्लुकोजमा परिवर्तन गरेर रगतमा ग्लुकोजको मात्रा बढाइदिन्छ।
– प्रोटिनः प्रोटिनलाई तोडेर सानासाना एमिनो एसिडहरु बनाउँछ। एमिनो एसिडहरु जोडेर नयाँ प्रोटिन बनाउँछ। प्लाज्मा प्रोटिन बनाउँछ। आवश्यक परेमा प्रोटिनबाट कार्बोहाइड्रेट बनाउँछ।
– लिपिडः टाइग्लिसेराइड, कोलेस्टेरोल, फ्याटी एसिड आदि बनाउँछ।

३. रक्सीजन्य पदार्थको मेटाबोलिजमः कलेजोमा रहेको अल्कोहल डिहाइड्रोजिनेज इन्जाइमले रक्सीलाई मेटाबोलाइज गर्छ।
४. औषधिहरुको मेटाबोलिजमः हामीले खाने धेरैजसो औषधि कलेजोमा गएर मेटाबोलिजम हुन्छन्।

५. प्रतिरक्षात्मक कार्य
– कलेजोमा रहने कप्फर कोषिकाले रगतमा भएका किटाणुहरुलाई मार्छ।
– खाना अथवा अन्य माध्यमबाट शरीरमा प्रवेश गर्ने विभिन्न किसिमका रासायनिक पदार्थ, विषाक्त पदार्थ आदिलाई मेटाबोलाइज गरेर निष्क्रिय बनाउँछ।

६. भण्डारण कार्यः कलेजोले ग्लुकोज, भिटामिन ए, भिटामिन बी१२, आइरन आदि भण्डार गरेर राख्छ र शरीरलाई आवश्यक परेको बेला स्रावित गर्छ।

७. विभिन्न पदार्थहरु उत्पादन गर्ने कार्य ः
– प्लाज्मा प्रोटिनः प्लाज्मा प्रोटिनहरु रगतमा हुने निकै नै महत्वपूर्ण पदार्थ हुन्। तीमध्ये अल्बुमिनले रगतको दबाब कायम राख्ने, ग्लोबुलिनले एन्टिबडी बनाउने र फिब्रिनोजेनले रगत बग्न रोक्ने काम गर्छन्।
– रगत बग्न रोक्ने तत्वहरुः कलेजोले बनाउने क्लटिङ फ्याक्टर्सले शरीरभित्र वा बाहिर कुनै पनि कारणले रक्तश्राव भएमा रगतलाई जमाएर रगत बग्नबाट रोक्छ।
– विभिन्न इन्जाइमहरु बनाउँछ।
– युरियाः अमोनियाबाट युरिया बनाउँछ।

८. रगत सञ्चयः कलेजोमा करिब ५०० मिलि रगत सञ्चित भएर बसेको हुन्छ।

९. रातो रक्तकोषिकाको उत्पादनः भ्रुणावस्थामा रातो रक्तकोषिकाको उत्पादन कलेजोमा हुने गर्छ।

१०. पुराना रातो रक्तकोषिका नाशः कलेजोले पुराना भइसकेका रातो रक्तकोषिकाहरुलाई नष्ट पनि गर्छ।

११. ताप उत्पन्न गर्नेः कलेजोमा उच्च मात्रामा मेटाबोलिजम हुने हुँदा धेरै ताप उत्पन्न हुने गर्छ। यस कारण कलेजो शरीरमा ताप उत्पन्न गर्ने प्रमुख अंग हो।

मानव कलेजोमा केही विशेष गुणहरु रहेका हुन्छन्। पहिलो गुण भनेको कलेजोका तन्तुहरु पुनर्उत्पन्न हुन सक्छन्। कलेजोको केही भाग शल्यक्रिया गरेर निकालिदिएमा शरीरमा बाँकी रहेको कलेजो बढेर फेरि पहिलेकै आकार प्राप्त गर्दछ। अर्को गुण भनेको प्रकृतिले मानिसलाई चाहिनेभन्दा ठूलो आकारको कलेजो दिएको छ। पूरा कलेजोको २० देखि ३० प्रतिशत भाग मात्रले नै पनि हाम्रो शरीरलाई आवश्यक हुने सम्पूर्ण कार्यहरु गर्न सक्छ। यी दुई गुणहरुले गर्दा नै एक जीवित व्यक्तिबाट अर्को व्यक्तिमा कलेजो प्रत्यारोपण गर्न सम्भव भएको हो। कलेजो प्रत्यारोपणमा एक स्वस्थ मानिसको करिब आधा कलेजो झिकेर अर्को व्यक्तिमा राखिन्छ। कलेजो दाता र कलेजो लिने व्यक्ति दुवैमा त्यो आधा कलेजोले नै शरीरलाई चाहिने सम्पूर्ण कार्य गर्न सक्छ भने केही हप्ताभित्र नै ती आधा कलेजोहरु फेरि बढेर आफ्नो पूरा आकारमा आइपुग्छन्।

कलेजोका लागि हानिकारक बानी व्यवहार
१. रक्सी सेवनः रक्सीको मेटाबोलिजमबाट निस्कने विभिन्न किसिमका रसायनहरुले कलेजोमा रियाक्टिभ अक्सिजन स्पिसिजहरुको उत्पादन बढाउँछन्। यी रियाक्टिभ अक्सिजन स्पिसिजहरुले हेपाटोसाइट्सहरुलाई नष्ट गर्छ। साथै रक्सीले विभिन्न रसायनिक क्रियामार्फत कलेजोमा बोसो जम्मा हुने प्रक्रियालाई पनि बढाइदिन्छ। यी कारणले कलेजोको कार्यक्षमता कम हुँदै जान्छ।

२. अनावश्यक औषधि सेवनः कतिपय औषधिहरु कलेजोका लागि हानिकारक हुन्छन्। यसको सामान्य उदाहरण प्यारासिटामोल हो। यदि प्यारासिटामोल औषधि अत्यधिक मात्रामा सेवन गरेमा यसले कलेजोमा हानि पु¥याउँछ। कलेजोलाई हानि गर्नसक्ने अन्य औषधिहरुमा डाइक्लोफेनाक, क्षयरोगको उपचारमा गरिने रिफ्याम्पिसिन, आइसोनियाजिड जस्ता औषधि पर्दछन। यस्ता औषधि अनावश्यक रुपमा र चाहिनेभन्दा बढी मात्रामा सेवन गरेमा कलेजोलाई हानि पु¥याउन सक्छन्।

३. अत्यधिक तौलः तौल बढे सँगसँगै कलेजोमा पनि विस्तारै बोसो जम्न थाल्छ। यसले गर्दा कलेजोले विस्तारै आफ्नो कार्यक्षमता गुमाउँछ।

यसरी कलेजोले शरीरका लागि अत्यावश्यक विभिन्न महत्वपूर्ण कार्यहरु गर्छ। कलेजोले काम गर्न छोडेमा मानिस बाँच्न सक्दैन किनकी यसले गर्ने धेरै कार्यहरु अरु कुनै अंगले गर्न सक्दैनन्। यस कारण कलेजो मानव शरीर तथा जीवनको लागि नभई नहुने अंग हो। हामी सबैले कलेजोको स्वास्थ्यको ध्यान राख्नुपर्छ र यसलाई हानि गर्न सक्ने बानी–व्यहोराबाट टाढा रहनुपर्छ।

(डा श्रेष्ठ महाराजगञ्ज चिकित्सा क्याम्पस, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका उपप्राध्यापक हुन्।)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button